प्रभाषले बिहे गर्दै

मुम्बई । बिहेका लागि आएका ६ हजार प्रस्ताव अस्वीकार गरेका दक्षिण भारतीय सुपरस्टार प्रभाषको विवाह अर्को वर्ष हुने चर्चा चलेको छ । बाहुबली अभिनेताका रूपमा परिचित प्रभाषको विवाहको प्रसंगले यतिबेला बलिउड तातेको छ ।

उनले ‘बाहुबली–२’ को रिलिजपछि विवाह गर्ने बताउँदै आएका थिए । अहिले उनी ‘साहो’ को सुटिङमा व्यस्त छन् । यसपटक पनि उनले साहोको रिलिजपछि बिहे गर्ने बताएपछि विवाहको चर्चा पुनः सुरु भएको हो ।

प्रभाषले सन् २०१९ मा विवाह गर्ने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । खबरका अनुसार उनी समय छोटो भएका कारण बाहुबली २ को रिलिजपछि विवाह नगरेका हुन् ।

‘बाहुबली २’ प्रदर्शनलगत्तै उनी ‘साहो’को काममा व्यस्त भए । त्यसकारण उनको विवाह हुन नसकेको पारिवारिक स्रोतलाई उल्लेख गर्दै भारतीय समाचार माध्यमले जनाएका छन् । उनले साहोका लागि मिहिनेत र धेरै समय दिनुपर्ने भएकाले बिहे तत्कालका लागि टरेको थियो । यस्तोमा प्रभाषले आफ्नो विवाहको योजनालाई पछाडि सारेका हुन् ।

बाहुबलीको सुटिङका समयमा उनको अभिनेत्री अनुष्का सेट्टीसँगको सम्बन्ध चर्चामा आएको थियो । पर्दामा यो जोडीलाई दर्शकले निकै रुचाए पनि रियल लाइफमा भने उनीहरुले आफूहरू असल साथी भएको बताउँदै आएका छन् । अहिले प्रभाषको बिहेको चर्चा चले पनि कोसँग बिहे हुँदै छ भन्नेबारे केही खुलाइएको छैन ।

प्रतिक्रिया