प्रियंकाको ‘पाहुना’ लाई दुईवटा पुरस्कार

सिक्किम । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुना’ ले जर्मनीमा दुईवटा अन्तर्राष्ट्रिय स्तरको पुरस्कार हात पार्न सफल भएको छ । १५ असोजदेखि २१ गतेसम्म भएको स्कलिंगजेल इन्टरनेसनल चिल्ड्रेन फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ फिल्म (जुरी छनोट) र अन्तर्राष्ट्रिय फिचर फिल्ममा विशेष पुरस्कार प्राप्त गर्न सफल भएको हो ।
सिक्किममा बनाइएको यो चलचित्रलाई प्रियंकाको पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो । संवाद विश्वास तिमल्सिनाले लेखेको यो चलचित्र पाखी ए टायरवालाले निर्देशन गरेका हुन् । आफ्ना अभिभावकबाट छुट्टिएका तीन जना बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्र द्वन्द्वसँग सम्बन्धित छ ।

नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको वेला ती बालबालिका भागेर सिक्किम पुगेको विषय चलचित्रमा छ ।  ‘पाहुना’ मा अनमोल लिम्बू, इशिका गुरुङ र सुजय राईको मुख्य भूमिका छ । औपचारिका रूपमा प्रदर्शनमा नआए पनि यो चलचित्र टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएको थियो ।

उक्त अवार्ड कार्यक्रममा प्रियंकाकी आमा आमा मधु शर्माले ‘पाहुना’ ले दुईटा पुरस्कार हात पारेपछि खुसी व्यक्त गरेकी छन् । यो चलचित्रको सहनिर्माता समेत रहेकी मधु पर्पल पेबल पिक्चर्सकी प्रबन्धक निर्देशक हुन् ।  उनले भनिन्, ‘हामी सबैका लागि पाहुना एउटा महत्वपूर्ण चलचित्र हो ।

हामीले पाहुनाको यात्रा सुरु गर्दा यति टाढासम्म जान्छ भन्ने सोचेका थिएनौँ । तर, भगवान् दयालु छन् । यो फिल्मले भारतमा मात्र होइन विश्वभरिका दर्शकको प्रशंसा पाइरहेको छ ।’

प्रतिक्रिया