मोफसलमा ‘इन्टु मिन्टु लन्डनमा’

काठमाडौं । चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को कलाकार टोलीले शनिबारदेखि मोफसल यात्रा सुरु गरेको छ ।

रेनशा वान्तवा राईको डेब्यु निर्देशन रहेको यो चलचित्र असोज ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । मोफसल यात्रामा कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धीरज मगरसहित अन्य कलाकार सहभागी रहने निर्माण पक्षले जनाएको छ ।

शनिबार विर्तामोडबाट सुरु भएको मोफसल यात्रा १७ गते दमक, २२ गते इटहरी र विराटनगर, २३ गते धरान, २६ गते पोखरा, २७ गते चितवन, २८ गते बुटवल र २९ गते नेपालगञ्जमा गएर टुंगिने निर्देशक राईले जानकारी दिइन् ।

प्रज्ज्वल शम्शेर जबरा र प्रभु शम्शेर जबराले निर्माण गरेको यो चलचित्रमा सुष्मिता जिरेल, सुलेखा राई र वसन्त तामाङ सहनिर्माता रहेका छन् ।

चलचित्रमा साम्राज्ञी र धीरजसँगै विजय लामा, अर्जुन श्रेष्ठ, शारुक ताम्राकार, रुबी राणा शाह, दिलभूषण पाठक, विवेक लिम्बू, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगार्इं, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतका कलाकारको अभिनय छ ।

निर्देशक रेनशा र प्रज्ज्वल शमशेरको कथा, विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको यस चलचित्रको छायांकन शैलेन्द्र धोज कार्कीले गरेका छन् । त्यस्तै, वसन्त सापकोटा, सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमनको संगीत तथा राजेश पायल राई, मेलिना राई, सुजिल कर्माचार्य, केतन क्षेत्री, निकिता थापा, स्वप्न सुमन लगायतका कलाकारको आवाज रहेको छ ।

प्रतिक्रिया