कलाकारहरू धमाधम बिरामी

kalpana-dahalकाठमाडौं, १ जेठ । पछिल्लो समयमा नेपाली लोक कलाकारहरू विरामी हुने क्रम बढ्दो रहेको छ । माया, प्रेम र बिरहका गीत गाएर स्रोतालाई मनोरञ्जन दिने केही कलाकार अहिले धमाधम बिरामी हुन थालेका हुन् ।

लोक गायन क्षेत्रमा सक्रिय केहि गायक गायिका अहिले अस्पतालको शैय्यामा जीवन विताइरहेका छन् । कोही सवारी दुर्घटना भएर अस्पतालको शैय्यामा पुगेका छन् भने मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा समेत केही कलाकार रहेका छन् ।

दुबै मृगौलाले काम नगरेपछि पशुपति म्युजिकका सञ्चालक शिबराज पौडेल उपचारका लागि अस्पतालमा छन् । आर्थिकस्थिति कमजोर रहेका पौडेल अहिले उपचारका लागि सहयोगको अपिल गर्दै छन् । केही शुभचिन्तकले केही रकम सहयोग गरे पनि उपचारका लागि चाहिने जति रकम उपलब्ध नभएको लोक गायक बद्री पंगेनीले बताए ।

स्कुटी दुर्घटनामा परेकी लोक गायिका सरिता कार्की अझै पूर्ण रूपमा निको भएकी छैनन् । अस्पतालवाट घर फर्किएकी सरिताले अनुहार र खुट्टामा दाग बाँकी रहेकाले केही दिन आराम गर्न डक्टरले सुझाब दिएको बनाइन् । अर्की लोक गायिका कल्पना दाहाल पनि सिकिस्त बिरामी भएर मनमोहन अस्पताल भर्ना भएकी छिन् । उनको स्वास्थ्यमा सुधार भए पनि केही दिन उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाब छ ।

संगीतकार विनोद वाजुराली बिरामी छोराको उपचारमा ब्यस्त छन् । सर्जक प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिब हमाल पनि घाइते भएका छन् । गायक बद्री पंगेनी भन्छन्, ‘अहिले बिरामी भएकामध्ये शिब पौडेल र कल्पना दाहाललाई सहयोगको खाँचो छ ।’

प्रतिक्रिया