रमेशको निर्देशनमा ‘मनमनमा’

Rameshकाठमाडौं । प्रेमका साइड इफेक्ट थुप्रै हुन्छन् । प्रेमवैराग्य कसैका लागि जीवनान्तको कारक बन्छ त कसैका लागि जीवन सपार्ने प्रेरक तत्त्व । सुनिश्चित भविष्यका खातिर शिक्षा हासिल गर्नुपर्ने समयमा प्रेममा अल्झिनु कतिको जायज हो ? अथवा किशोरावस्थामा उत्पन्न हुने प्रेमराग अनि हृदयमा बसेकी साथीले प्रस्ताव अस्वीकार गर्दा प्रेमीमा कस्ता भावना उत्पन्न होला ?
यी र यस्ता थुप्रै प्रश्नको उत्तर बोकेर आउँदै छ चलचित्र ‘मनमनमा’ । ‘भाग्य आ–आफ्नो’ लगायत सानो पर्दाका केही सफल टेलिशृंखला निर्देशन गरिसकेका रमेश कोइरालाले यो चलचित्र निर्देशन गरेका हुन् । यसअघि ‘तिमी नै बस्यौ मेरो मनमा’ लगायत ठूला चलचित्रमार्फत मुख्य सहायक निर्देशकका रूपमा उनले दशकौँदेखि आफ्नो निर्देशकीय क्षममा माझ्दै आइरहेका थिए । ‘हाल सम्पादन कक्षमा पुगेको ‘मनमनमा’ आगामी दसैँको छेका पारेर प्रदर्शनको लक्ष्य राखेका छौँ,’ निर्देशक रमेशले भने, ‘मनमनमा एकअर्कालाई सजाएर पनि करियर निर्माणका लागि प्रेमभावनालाई तत्काल मूर्तरूप दिन नसकेका युवावर्गको कथा हो यो । त्यसो त प्रेमले ढिलो–चाँडो एक न एक दिन गन्तव्य पाएरै छाड्ने सन्देश पनि हामीले उठाएका छौँ ।’ उनले थपे, ‘जीवनमा शिक्षाको आवश्यकता, बालमनोविज्ञान, रोमान्स, प्रेम, कमेडीजस्ता पक्षमा व्यावसायिक चलचित्रका लागि आवश्यक सम्पूर्ण मरमसला मिसाएर प्रस्तुत गरेका छौँ । चलचित्र प्रविधि मात्रैले भन्दा पनि कुशल प्राविधिकका कारण राम्रो बन्छ । हामीले यो सिद्धान्तलाई यसमा चरितार्थ गराएका छौँ ।’
ज्ञानज्योति सिने मेकर्सको ब्यानरमा केदार दवाडी र तारा सिलवालले निर्माण गरेको चलचित्रमा चितवन, नवलपरासी, मकवानपुर र काठमाडौंका विभिन्न लोकेसन कैद गरिएका छन् । छायांकन रामेश्वर हुमागाईंको छ भने नृत्यनिर्देशन कमल राई र लेखन केदार दवाडीको छ । कृष्णहरि बराल, रमेश कोइराला र केदार दवाडीले लेखेका गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । प्रदीप गिरी, रिजा सुगम, किशोर खड्का, ध्रुव कोइराला, रश्मि भट्ट, देवीराम पराजुली ‘भोक लाग्यो’, ऋद्धिचरण श्रेष्ठ, तारा सिलवाललगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया