थ्रिडी भिजिलान्तेले तान्ला त दर्शक ?

priyanka-karkiकाठमाडौं : चलचित्र ‘भिजिलान्ते’ अहिले चर्चामा छ । नेपालमा बनेको यो पहिलो थ्रिडी चलचित्र भएकाले पनि यसले भिन्न चर्चा पाएको हो । विदेशी मुलुकका चलचित्रमा धेरै अगाडि प्रयोग भएका थ्रिडी प्रविधि यसै चलचित्रमार्फत पहिलोपटक नेपाल भित्रिन लागेको हो । यसकारणले पनि यसको चर्चा चुलिएको हो ।
‘फरक शैलीका चलचित्र खेजिरहेका नेपाली दर्शकका लागि ‘भिजिलान्ते’ एउटा नयाँ स्वाद हुनेछ’, निर्देशक दीपेन्द्र के खनालले भने । विदेशी मुलुकमा व्यवसाय ओरालो लागेको समयमा भित्रिएका यस्ता थ्रिडी चलचित्रले व्यवसायलाई
सुधारेका उदाहरणहरू प्रशस्त भेटिन्छन् । ‘भिजिलान्ते’ले पनि ओरालो लागेको चलचित्र व्यवसायलाई उकास्ने उनको कथन छ । चलचित्र क्षेत्रका लागि यो एउटा आºनो छुट्टै योगदान हुने उनले बताए ।
दि युगदेखि युगसम्मबाट निर्देशनमा पाइला बढाएका खनालले यस अगडि चलचित्र चपली हाइट निर्देशन गरेका थिए । चलचित्र व्यावसायिक रूपमा पनि सफल भएको थियो । समाजमा रहेका कुरीति र दण्डहीनताका विषयलाई मनोवैज्ञानक ढंगले खनालले यसमा प्रस्तुत गर्न खोजेका छन् । खनालले थ्रिडी प्रविधिको लामो अध्ययनपछि मात्र यो चलचित्र निर्माण गरेका हुन् ।
प्रियंका कार्की, राज घिमिरे, दीपशिखा शाही, मेनुका प्रधान, शंकर आचार्यलगायतका कलाकारको यस चलचित्रमा अभिनय छ । शान बस्नेतको कथा, पुरुषोत्तम प्रधानको छायांकन , सूर्य थोकरको द्वन्द्व, भुप्रन्द्र खड्काको गीत र सुरेश राईको संगीत यसमा समावेश छ । आगामी २३ गतेबाट क्युएफक्स र एफक्युबलगायतका हलमा थ्रिडी प्रविधिको यो चलचित्र प्रदर्शनमा आउने भएको छ । थ्रिडी प्रविधि नभएका हलमा चलचित्र टुडीमा लगाउने योजनामा निर्माणपक्ष लागेको छ ।
नेपालमै निर्मित पहिलो थ्रिडी चलचित्र भएकाले व्यापक प्रचारप्रसार भयो भने यसले राम्रो व्यवसाय गर्ने विश्वास निर्माण पक्षले लिएको छ । त्यसैले पनि अहिले चलचित्र युनिट प्रचार प्रसार व्यापक बनाउन देश दौडाहामा लागेको छन् । एक साताको समय निकालेर चलचित्र युनिट दौडाहामा निस्केको हो । दौडाहाको क्रममा दर्शकहरूसँग पनि चलचित्रका बारेमा प्रत्यक्ष कुरा गर्ने निर्माणपक्षले बताएको छ ।
देशमा रहेका विभिन्न चलचित्र भवनमा थ्रिडीको प्रोजेक्सन चेक गर्नु र फिल्मको बारेमा जानकारी गराउनु भ्रमणको मुख्य उदेश्य रहेको निर्देशक खनालले बताए । भ्रमणका समयमा थ्रिडी नबुझेका दर्शकलाई प्रविधि बुझाउने पनि युनिटको योजना छ ।
पोखरा, बुटवल, नारायणगढ, हेटौंडा, वीरगञ्ज, धरान, विराटनगर, दमक र बिर्तामोड हुँदै चलचित्र रिलिजको एकदिन अगाडि राजधानी फर्कने टोलीको योजना रहेको छ । समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ । (सौस)

प्रतिक्रिया