“बिरालोजसरी दूध चोरेर खान्थे”

मेरो जन्म विसं. २०२२ माघ ६ गते सोलुखुम्बुको तिङ्गला सल्लेरीमा भएको हो । मेरो खास नाम देवानसिंह कार्की हो । स्कुल पढ्दा देवानबाट देवानन्द भन्न थालेपछि कलेज पढ्दा मैले मेरो नाम आनन्द राखेँ । यसरी म देवानबाट आनन्द कार्की भएँ । तीन दाजुभाइ तथा तीन दिदीमध्ये म कान्छो सन्तान हुँ । हामीकहाँ कान्छो छोरो ज्यादै पुलपुलिएको हुन्छ भन्ने चलन छ, तर म पुलपुलिएको कान्छो छोराचाहिँ हैन नि † बुबा ब्रिटिस आर्मी हुनुहुन्थ्यो, अवकाशपछि रेल्वे सेवामा जागिरे हुनुभयो ।
मैले कखरा लेख्न र पढ्न कहिले र कोबाट सिकेँ खासै सम्झना छैन । सके गाउँतिरकै गुरुहरूबाट सिकेँ होला । गाउँकै तिङ्गला माविमा १ कक्षामा भर्ना भएर पढ्न थालेँ । हामी बेन्चमा बसेर पढ्थ्यौँ । सानोमा मलाई सर्पदेखि साह्रै डर लाग्थ्यो ।
म त्यति बेला ३ कक्षामा पढ्दै थिएँ । बुबा बिदामा घर आउनुभएको थियो । मेरा दाजुहरू बुबासँगै लखनउमा बसेर पढ्नुहुन्थ्यो । बुबाले एकदिन घरका सदस्यको अगाडि उर्दी सुनाउँदै भन्नुभयो, ‘ठूलो भएर देवानले मसँग बाबुले भेदभाव गर्‍यो र दाजुहरूलाई राम्रो ठाउँमा लगेर पढायो भन्न सक्ला । त्यसैले यसपालि यसलाई पनि आफैँसँग लान्छु ।’ मलाई उहाँले लखनउ पुर्‍याएर हिन्दी मिडियम स्कुलमा २ कक्षामा भर्ना गरिदिनुभयो ।
म सोलुखुम्बुबाट झरेको नेपाली मात्रै बोल्ने र बुझ्ने बच्चोलाई सुरुसुरुमा साह्रै गाह्रो भयो । रनभुल्लमा पर्थें, के भनेको हो बुझ्दैनथेँ । पछि रहँदाबस्दा हिन्दी बुझ्न र फरर्र बोल्न पनि थालेँ । अन्य विषयमा ठीकठाक भए पनि म गणितमा लद्दू थिएँ । भाइबहिनी हो, गणितले मलाई ढाडे बिरालो झैँ तर्साउँथ्यो, सातो नै खान्थ्यो । मलाई मोटोघाटो र ताजा देखेर स्कुलका साथीहरूले मेरो नाम ‘डाल्डा’ (वनस्पति घिउ) राखेका थिए ।
म सानैदेखि गीतसंगीत सुन्दा नाच्ने, गाउने र रमाउने गर्थें अरे † एकपटक स्कुलको कार्यक्रममा किशोरकुमारको गीत सिकेर गएको थिएँ । मैले गाएको सुनेर सर र मिसले माया गरेर किशोरकुमार भन्नुहुन्थ्यो । बिस्तारै संगीततिर मेरो झुकाब बढ्दै गयो ।
सानोमा मलाई दूध खान खुबै मनपथ्र्यो, यस मामिलामा म बिरालोभन्दा कम थिइनँ । बुबा र दाजुहरूले तताएर राखेको दूध जे त होला भनी चोरेर खाइदिन्थेँ । एकदिन बुबाले सोध्नुभयो, ‘अचेल दूध कम हुन्छ, किन ?’ मैले पनि तुरुन्तै जवाफ दिएँ, ‘बुबा, आजकल हाम्रो घरमा एउटा पुन्टे बिरालो आउँछ † त्यो सुटुक्क दूध खान पल्केको छ । त्यो बिरालो ड्रेस लाएर स्कुल पनि जान्छ ।’ मेरो जवाफ सुनेर बुबाले अँगालो हालेर माया गर्नुभयो ।
नौ–दस वर्षको थिएँ । टोलका केही साथी नहरमा पौडी खेल्न गयौँ । फटाफट लुगा खोलेर म पौडी खेल्न र नुहाउन थालेँ । साथीहरूले मेरो टाउको थिचेर मलाई पानीबाट बाहिर आउनै दिएनन्, धेरै पानी पिएपछि बल्ल छाडे । मेरो लुगा पनि लगिदिए । म नांगै पानीमा बसिराखेको थिएँ । त्यस्तैमा टोलका केटी साथीहरू पनि नुहाउन आए । सबै कुरा बुझेपछि उनीहरूले मलाई आºनो सल दिए, त्यही बेरेर म घर आएँ । साथीहरूले मसँग रेगिङ् गरेका रहेछन्, त्यहाँदेखि मलाई पानीसँग अलिक डर नै लाग्छ ।
स्कुलका कार्यक्रममा अघि सरेर भाग लिन्थेँ । क्रिकेट, ब्याडमिन्टन, फुटबल र हकी खेल्थेँ । हकी र फुटबलमा म साह्रै सिपालु थिएँ । फुच्चेहरूको प्रतियोगितामा त यी खेलबाट उत्कृष्ट खेलाडीको पदक पनि प्राप्त गरेको थिएँ । मैले बुबाको खल्तीबाट पैसा त चोर्ने काम गरिनँ तर घरायसी सामान किन्न पठाउँदा सामान अलि थोरै ल्याएर सो पैसाबाट आफूलाई खान मन लागेको कुराचाहिँ खाइदिन्थेँ । फिल्म हेर्ने भनेपछि म खालीखुट्टै हलतिर दौडिन्थेँ । बुबालाई म गीतसंगीतमा लागेको मन पर्दैनथ्यो । उहाँको भित्री चाहना छोरो पढेलेखेर आर्मीमा जाओस् भन्ने थियो । पढाइमा त्यति ध्यान नदिएको देखेर बुबाले एकदिन मेरा दुवै हात बाँधी आºना दुवै हातले मेरा दुवै कान समाएर उचाल्ने र पछार्ने गर्न थाल्नुभयो । त्यतिले पनि नपुगेर मेरा साथीहरूलाई बोलाएर देखाउनुभयो । मचाहिँ साथीहरूलाई ‘गैहाल, यहाँ नबस’ भन्दै थिएँ । उनीहरू चिडियाघरको कुनै बिचित्र प्राणीलाई हेरेजसरी ढोकाबाट हेहेहे, हाहाहा, हुहुहुहु गर्दै हाँसिरहेका थिए ।
म चौध वर्षको थिएँ । स्टेज कार्यक्रममा मैले पनि भाग लिएको थिएँ । मैले बुबालाई पास दिँदै हेर्न आउन अनुरोध गरेँ । उहाँले आउँदिन भन्नुभयो । कार्यक्रम सुरु भयो, मैले छुकर मेरे मनको भन्ने गीत गाएँ । गीत सकिएपछि सबैले ताली बजाए, ताली बजाउनेमा बुबालाई पनि देखेँ । घर आएर कार्यक्रम राम्रो भयो, मैले खुबै ताली पाएँ भनेर सुनाएँ । छोराले फुर्किएर पढाइमा बाधा नपुर्‍याओस् भनेर होला बुबाले आफूले कार्यक्रम हेरेको कुरा कहिल्यै बताउनुभएन । म चौध वर्षकै थिएँ, बुबा बित्नुभयो ।
बुबा बितेपछि दु:खका दिन सुरु भए । धन्य, दाजुको पढाइ पूरा भएकाले उहाँले रेल्वेमा बुबाको ठाउँमा जागिर पाउनुभयो । दाजुले मलाई खर्चबर्च जुटाइदिएर संगीत सिक्न पठाइदिनुभयो । म ४५ डिग्रीको गर्मीमा पैदल तीन घन्टा टाढाको कक्षामा संगीत सिक्न जान थालेँ । संगीतमा लाग्न प्रेरणा दिने व्यक्ति मेरै दाजु हुन् । किशोरकुमारको गीत गाउँथे, उनी पनि एक अर्थमा मेरा गुरु नै हुन् । नेपाल आएर मैले नरराज ढकाल र चन्दन श्रेष्ठबाट पनि सिक्ने मौका पाएँ । भाइबहिनी हो, मैले २०४२ सालमा पहिलो नेपाली गीत गाएँ । अहिलेसम्म करिब दुई हजारजति गाइसकेको छु ।
एकपटक आरडी बर्मनका अगाडि किशोरकुमारको गीत गाउँदा उहाँले भन्नुभयो, ‘तिमीजस्तो ठ्याक्कै र्‍याङठ्याङ मिलाएर हुबहु किशोरजस्तो गीत गाउने मैले अर्को मान्छे भेटेको छैन ।’ मलाई धाप मारेर उहाँले स्याबासी दिनुभएको क्षण म हर्षले सारै गद्गद् भएको थिएँ ।
भाइबहिनी हो, मैले विसं २०३९ सालमा प्राइभेट जाँच दिएर इन्टर मिडिएट परीक्षा पास गरेँ ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया