′प्रधानन्यायाधीशको राजीनामा वाहियात′

surya-bahadur-thapaकाठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिन नपर्ने बताएका छन् ।
आज पत्रकारहरुसंग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले दलहरुकै सहमतिमा मन्त्रिपरिषद् अध्यक्ष बनेकाले अहिले आएर प्रधानन्यायाधीशबाट राजिनामा दिनु नपर्ने बताएका हुन् । ‘पहिला प्रधानन्यायाधाशीलाई नै प्रधानमन्त्री बनाउन सहमति गर्ने अनि अहिले आएर राजिनामाको कुरा गर्नु वाहियात हो,’ उनले भने, ‘प्रधानन्यायाधीशका कारण निर्वाचनमा कुनै समस्या पर्दैन ।’
अध्यक्ष थापाले पुरानै ऐन अनुसार निर्वाचन गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘यतिबेला थ्रेस होल्ड जस्ता नयाँ नयाँ कुरा थपेर चुनाव हुन सक्दैन । जनताले नै नेताहरुको बोलीमा विश्वास नगरिरहेको बेला नयाँ नयाँ भ्रम फैलाउने कुरा गर्नु हुँदैन । त्यसैले अहिले पुरानै ऐनको ब्यवस्था अनुसार चुनाव हुनु पर्छ । ’
उनले वर्तमान सरकार निर्वाचन गराउन सक्षम रहेकाले सबै दलले निर्वाचनको वातावरण बनाउनुपर्ने उल्लेख गरे । मंसिर पहिलो साता निर्वाचन गराउनेमा सबै राजनीतिक दलहरुको सहमति भईसकेकाले सरकारलाई मिति घोषणाका लािग दवाव दिनुको अर्थ नभएको थापाको टिप्पणि थियो ।

प्रतिक्रिया