मतदातालाई शिरमा राखेर काम गर्छु : नवनिर्वाचित सांसद सुहाङ

इलाम क्षेत्र–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट विजयी भएका सुहाङ नेम्वाङ मंगलबार निर्वाचित प्रमाणपत्र ग्रहणपश्चात् विजयी र्यालीमा सरिक हुँदै ।– तस्विर रासस

इलाम । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सुहाङ नेम्वाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सांसद नेम्वाङले इलामेली मतदातालाई कुनै प्रकारको संकोच नुहुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।


इलाम, १८ वैशाखः इलाम क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङलाई निर्वाचित प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेलगायत । – तस्विर रासस

म मेरो बुबा (सुवासचन्द्र नेम्वाङ) को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै संकोच नहुने गरी काम गर्नेछु,’ उनले भने, ‘मलाई निर्वाचित गराउनुभएकोमा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु ।’

कार्यक्रममा सांसद नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा सांसद महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।– रासस

प्रतिक्रिया