दोलखामा औद्योगिक प्रर्दशनी

दोलखा, २१ फागुन । दोलखाको सदरमुकाम चरिकोटमा आइतबार देखि प्रथम मध्यमाञ्चल क्षेत्रीय औद्योगिक वस्तु, प्रविधि र कृषि उत्पादन प्रदर्शनी सुरु भएको छ ।
सदरमुकाम चरिकोटस्थित कृषि बजारमा सुरु भएको प्रदर्शनी फागुन–२३ गते सम्म जारी रहने छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयको आयोजनामा जारी प्रदर्शनीमा मध्यमाञ्चालका १९ जिल्लाका मौलिक उत्पादनका ५० भन्दा बढि स्टलहरु राखिएका छन् ।
दोलखाका प्रमुख उद्योग अधिकृत प्रदीपकुमार उपाध्यायले घरेलु उद्योगको प्रवद्र्धन र प्रविधि हस्तान्तरणका लागि प्रदर्शनीको आयोजना गरिएको जानकारी दिए ।
प्रदर्शनीमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत दोलखामा उत्पादित लोक्ता र लोक्ताका सामान, सिन्धुलीमा उत्पादित बाँसका मौलिक सामान र सिन्धुपाल्चोकका धातु तथा हस्तकलाका सामानहरु राखिएका छन् ।
प्रदर्शनीमा उत्कृष्ट दुई जना घरेलु उद्यमीले आगामी चैत्रमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीमा सहभागिता जनाउन पाउने छन् ।

प्रतिक्रिया