हिमाली जिल्ला डोल्पाका सबै सांसदले पाए मन्त्री हुने अवसर

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट संघ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका छन् । संघ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहेको डोल्पाबाट निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका हुन् ।

कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पा जिल्लाबाट दुई जना मन्त्री नियुक्त भएका छन् । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त भएका छन्् ।

डोल्पा जिल्ला प्रदेश (क) बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त भएका छन् ।

शाही दोस्रो पटक मन्त्री भएका हुन् । उनी यसअघि पनि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भइसकेका छन् । डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि संघीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री भइसकेका छन् ।

एउटै जिल्लाबाट संघीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधारलगायतका विकासले गति लिने अपेक्षा गरिएको छ ।– रासस

प्रतिक्रिया