चाडपर्वपछि बिदेसिनेको संख्या बढ्यो

जाजरकोट, ११ मंसिर । दसैँ–तिहारलगायत ठूला चाडपर्व सकिएपछि जाजरकोटमा बिदेसिनेको संख्या बढेको छ । रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जानका लागि सदरमुकाममा पासपोर्ट बनाउनेको भिड बढेको हो । जाजरकोटको पूर्वी गाविस रग्दा–५, का २२ वर्षीय जयलाल दमार्इं दुई दिन पैदल हिँडेर राहदानी बनाउन सदरमुकाम आइपुगेका छन् । देशमा रोजगारीको व्यवस्था नभएको भन्दै जयलालजस्ता सयौँ जाजरकोटे युवा पासपोर्टका लागि सदरमुकाम धाइरहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएपछि यहाँका हजारौँ युवा विदेश पलायन हुन बाध्य छन् । चाडपर्व सकिएसँगै बिदेसिनका लागि पासपोर्ट बनाउन आउने युवाको संख्यामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । युवाहरू विदेश पलायन भएपछि अधिकांश गाउँ सुनसान हुन थालेका छन् ।
पासपोर्ट बनाउन दैनिक सरदर ३०/३५ जना युवा आउने गरेको जिप्रकाले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी जिल्लाका भगवती, रग्दा, मजकोट, पजारू, साल्मा, दसेरा, सीमा, जुँगाथापाचौरलगायत गाविसबाट आउने युवाको संख्या धेरै छ ।
जिप्रका दर्ता फाँटका खरिदार मोहनकुमार खड्काले दसँैतिहारपछि सेवाग्राहीको भिड निकै बढेको बताए । खड्काका अनुसार कार्यालयमा अहिले पासपोर्टको लागि दैनिक ३०/३५ जना र नागरिकताको लागि दैनिक एक सयजना सेवाग्राही आउने गरेका छन् । ‘तिहार सकिएपछि सेवाग्राहीको भिड ह्वात्तै बढेको छ,’ खरिदार खड्काले भने, ‘काम गर्न पनि हम्मेहम्मे भइरहेको छ ।’
विदेश पलायन हुनखोज्ने युवामा पढेलेखेकाको संख्या पनि उल्लेख्य छ । प्रमाणपत्र र स्नातक तह उत्तीर्ण गरेका युवासमेत पासपोर्टका लागि आउने गरेको जिप्रका राहदानी फाँटका नायव सुब्बा वीरबहादुर नेपालीले बताए । उनका अनुसार अहिलेसम्म तीन हजार एक सय ४६ जनाले राहदानीको सिफारिस लिएका छन् । राहदानीको फाराम भरेको एक/डेढ महिना पछिमात्र जिल्लामा एमआरपी आइपुग्ने भएकाले कतिपय युवाले दसँैतिहारअगाडि नै फारम भरिसकेका थिए । हाल सिफारिस लिएकाहरू जिल्लामा एमआरपी ढिला आउने भएपछि राजधानी नै जाने गरेका छन् । भारतलगायत तेस्रो मुलुकका लागि दैनिक एक/डेढ सय युवा जिल्ला बाहिरिने गरेको जिल्ला प्रहरीले जनाएको  छ । मानव विकास सूचकांकमा जाजरकोट ७१ औँ स्थानमा छ ।

प्रतिक्रिया