कृष्णसार शुक्लाफाँटा आरक्षमा सारिँदै

काठमाडौं, २८ असोज । नेपालगन्ज र जावलाखेलका २८ कृष्णसारलाई शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सारिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नेपालगन्ज नगरपालिकाबाट २२ र सदर चिडियाखाना जावलाखेलबाट ६ गरी २८ कृष्णसार मृगलाई आरक्षको हीरापुरमा सारेको हो ।
कृष्णसार हीरापुर सारिएपछि नेपालगन्ज नगरपालिकामा ६ र सदर चिडियाखानामा १३ वटा बाँकी छन् । विभागले कृष्णसार स्थानान्तरण गर्ने उद्देश्यले शुक्लाफाँटाको हीरापुरको गत जेठ/असारमा स्थलगत अध्ययन गरेको थियो । अध्ययनबाट हीरापुर उपयुक्त देखिएपछि प्राकृतिक वासस्थानभन्दा बाहिर रहेका कृष्णसारलाई दुई साताअघि हीरापुर सारिएको विभागका वरिष्ठ इकोलोजिस्ट डा. महेश्वर ढकालले बताए ।
‘अध्ययनबाट उपयुक्त देखिएपछि नेपालगन्ज नगरपालिका र चिडियाखानाका गरी २८ कृष्णसारलाई हीरापुर सार्‍यौँ,’ उनले सौर्यसँग भने, ‘तिनीहरू हीरापुरमा राम्ररी घुलमिल भएपछि प्राकृतिक वासस्थानका कृष्णसार पनि सार्ने योजना छ ।’
डा. ढकालले अहिलेका २८ कृष्णसार हीरापुरमा घुलमिल भइसकेपछि बर्दियाको खैरापुरका कृष्णसार त्यतै सारिने बताए । ७.५ हेक्टर क्षेत्रफल रहेको हीरापुरमा चारैतिर तारेबार लगाइएको छ । गत जेठमा विभागले खैरापुरस्थित कृष्णसार संरक्षित क्षेत्रका कृष्णसार स्थानान्तरण गर्न शुक्लाफाँटाको हीरापुरमा सम्भाव्यता अध्ययन गरेको थियो । तर, प्राकृतिक वासस्थानभन्दा बाहिरका कृष्णसारलाई सबैभन्दा पहिले सार्न आवश्यक देखिएकाले हीरापुरमा कृष्णसारलाई केही समयपछि सारिने विभागले जनाएको छ ।
चउरमा चाहेजति क्षेत्र ओगटेर उफ्रँदै चर्ने कृष्णसारलाई उपयुक्त वासस्थान उपलब्ध गराउन सके तिनीहरूको संख्या बढ्ने मात्र होइन, जोगाउन पनि सकिने भएकाले विभागले हीरापुरमा कृष्णसार सार्ने प्रक्रिया थालेको थियो । खैरापुरका पनि कतिवटा हीरापुर सार्ने र कति खैरापुरमै राख्ने भन्ने टुंगो लागिसकेको विभागले जनाएको छ ।
हाल स्थानान्तरण गरिएका २८ र त्यसपछि जन्मिएका २ गरी हीरापुरमा ३०, नेपालगन्जमा ६, चिडियाखानामा १३, खैरापुरमा करिब दुई सय र काठमाडौंको मृगस्थलीमा करिब दुई दर्जन कृष्णसार छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मार्फत संरक्षित कृष्णसार नेपालको अति संकटापन्न वर्गमा परेको जनावर हो ।
त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका एसोसिएट प्रोफेसर एवं वन्यजन्तुविद् डा. मुकेशकुमार चालिसेका अनुसार एन्टिलोप परिवारमा पर्ने कृष्णसार घाँसमा चर्ने, खुला ठाउँमा रमाउने र चाहेजस्तो फाँट पायो भने २५ फिट माथिसम्म उफ्रन्छ । कालो रंगकै कारण कृष्णसार भनिएको यो जनावरको भाले कालो र पोथी खैरो रंगको हुन्छ । अरू मृगसरह ६/६ महिनामा बच्चा जन्माउने कृष्णसारको बच्चा वयस्क भएर भाले लाग्ने नभएसम्म भाले र पोथी बच्चा दुवैको रंग खैरो हुन्छ ।

प्रतिक्रिया