लहडमा पूर्व राजाको सुविधा कटौति हुँदैनः अध्यक्ष थापा

विराटनगर, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले चाँहदैमा पूर्व राजा ज्ञानेन्द्रले पाएको सुरक्षा र अन्य सुविधा कटौती गर्न नसक्ने वताएका छन् ।

विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले राजालाई पाखा लगाउने क्रममा तात्कालिन सात दलहरुसँग सुविधा दिने सम्झौता भएको बताए । उनले सोही सहमति अनुसारनै पूर्व राजाले सुरक्षालगायतका अन्य सुविधा लिईरहेको दाबी गरे । उनले सरकारले मात्रै सविधा कटौती गर्न नसक्ने बताएका छन् । थापाले भने, ‘कसैको लहडका भरमा पूर्व राजाको सुविधा कटौती हुँदैन ।’

उनले  पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि दलहरुले भूमिका दिनुपर्ने माग गरे । पूर्व राजाको भूमिकालाई वेवास्ता गरे मुलुकमा जेठ १४ पछि संकट निम्तने चेतावनी दिएका छन् । उनले भने, ‘राजासँग पनि सरसल्लाह तथा सहकार्य हुनुपर्छ नत्र मुलुक नयाँ द्धन्द्धमा फस्छ ।’

अध्यक्ष थापाले फागुन १८ गते पूर्वाञ्चलको भ्रमण धार्मीक सदभाव भ्रमणमात्रै रहेको भन्दै पूर्व राजालाई दलहरुले पूर्वाग्रह राखेर गतल आरोप लगाएको दाबी गरे  । उनले भने ‘राजाले बोलेका कुराहरु जायज छन्, दलहरुले भ्रामक प्रचारगरि विवादमा ल्याउन खोजेका छन् ।’

सरकार र राजनीतिक दलहरुले आफनो असक्षमता लुकाउन पूर्व राजालाई शान्तिप्रकृया भाँडन खोजेको आरोप लगाउने गरेको थापाले बताए । उनले भने, ‘प्रधानमनत्रीले पूर्व राजावारे नानाभाँती कुरा गरेर आफनो समय खेर फालिरहेका छन् ।’

प्रतिक्रिया