शारीरिक अपांगता भएका पढाइमा अब्बल

छिमेकीका छोराछोरी झोलामा कापी किताव बोकेर विद्यालय जाँदा आफ्ना सन्तान भने अपांगता भएकै कारण घरमा नै बस्नु पर्दा कुन अभिभावकको मन खिन्न नहोला र ! कर्णाली प्रदेशका केही जिल्लामा यसअघि केहीकेहीका लागि यस्तै थियो, छोराछोरीका दौतरी विद्यालय जान्थे आफ्ना घरमा बसेर दिन काट्थे । अहिले भने त्यो समस्या सामाधान भएको छ । यहाँका अभिभावकलाई अपांगता भएकै कारण सन्तानले पढ्न पाएनन् भन्ने चिन्ता हटेको छ । हिँडेर विद्यालय जान नसकेकै कारण पढाइबाट वञ्चित तिलागुफा नगरपालिका कालिकोटका शंकर न्यौपाने अहिले घरमै बसेर नियमित पढिरहेका छन् । शारीरिक अपांगता भएका कारण पढ्न नपाएको छोराले ढिलै भए पनि घरमै पढ्ने अवसर पाउँदा धेरै खुसी लागेको शंकरकी आमा शान्ता न्यौपानेले बताइन् । उनले भनिन्, ‘घरायसी कामले गर्दा हामीले छोराको पढ्ने धोको पूरा गर्न सकेका थिएनौँ, अहिले छोरालाई पढाउने धोको मेटिएको छ ।’

पाँच वर्षको कलिलो उमेरमा आगोले पोलेपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा शंकर कहिल्यै पनि हिँड्डुल गर्न नसक्ने अवस्थामा पुगेका थिए । आफूसँगैका साथीहरू विद्यालय गएको देख्दा पढने रहर गरेपछि शंकरलाई बोकेरै केही दिन विद्यालय लाँदा सँगै पढ्ने साथीहरूले गिज्याएको भन्दै बीचमै पढाइ छाडेको गुनासो शान्ताले गरिन् । घरमै पढन पाएपछि हिँडेर विद्यालय जान नसक्ने अवस्थमा रहेका जाजरकोट कुशे गाउँपालिका पैंकका शिव गिरीको पनि अहिले पढने धोको पूरा भएको छ । ११ वर्षको उमेरमा अहिले दुई कक्षामा पढिरहेका उनको सानैदेखि पढ्ने चाहना भए पनि विद्यालय जान नसक्दा पढ्ने चाहना आकांक्षा अधुरो रहेको थियो ।

छोरासँगैका बालबालिका पढ्न जाँदा मन खिन्न भए पनि जिमदार (खेतीपाती) गर्नु पर्ने बाध्यताले गर्दा विद्यालय लैजान नसक्दा छोराले पढन पाएन, शिवका बुबा जयबहादुरले भने, ‘अब भने उसको भविष्य सप्रिन्छ कि भन्ने आशा पलाएको छ ।’ छोरोका भविष्यले चिन्तित भएका उनले भने । विद्यालय जान नसकेर पढाइबाट वञ्चित जाजरकोट, दैलेख र कालिकोट जिल्लाका शारीरिक रूपमा अपांगता भएका बालबालिकाले अहिले घरमै पढने अवसर पाएका छन् । सेभ द चिल्ड्रेन नामक संस्थासँगको सहकार्यमा कर्णालीका केही स्थानीय तहले अपांगता भएका बालबालिकालाई घरमै पढाउने व्यवस्था मिलाएका छन् ।

जाजरकोटको कुशे, दैलेखको गुँरास र कालिकोटको शुभकालिका गाउँपालिका, जाजरकोटको छेडागाड र कालिकोटको तिलागुफा नगरपालिकाले अपांगता भएका अहिले २३ जना बालबालिकाले त्यसरी पढ्न पाइरहेका छन् । ६ जना छोराछोरीमध्ये चार छोराहरू शारीरिक अपांगता भएका जाजरकोटका विशाखर जैसी भन्छन्, ‘पढाउने चाहना भए पनि उनीहरूलाई विद्यालय लिएर पढाउन सकेका थिएनौँ, अहिले घरमै पढन पाएको देख्दा सन्तुष्टि मिलेको छ ।’ सानैदेखि हिँड्डुल गर्न नसक्ने उनीहरूलाई स्याहार गर्न निकै मुस्किल पर्ने गरेको उनले बताइन् ।

सहजकर्ताहरूले अपांगता भएका बालबालिकालाई शनिबारबाहेक हरेक दिन बिहान १० देखि दिउँसो २ बजेसम्म घरमा नै गएर पढाउँछन् । अपांगता भएका बालबालिकालाई घरमै गएर पढाइरहेका सहजकर्ताहरू भने पढाइप्रति उनीहरूले निकै रुचि राख्ने गरेको बताए । अपांगता भएका बालक शिवलाई पढाइरहेकी विना गिरी भन्छिन्, पढाइप्रतिको रुचि र लगावकै कारण उसले अरू विद्यार्थीलाई पढाइमा उछिनेको छ । शारीरिक रूपमा अपांगता भए पनि उनीहरूको बौद्धिक क्षमता र सिक्न चाहने इच्छाशक्ति अन्य सपांगको भन्दा कम छैन भन्ने देखाउँछ ।

घरमै पढे पनि नजिकैको विद्यालयमा भर्ना भएका उनीहरूलाई विद्यालयले नै परीक्षा लिने गरेको छ । विद्यालय जान नसक्दा पढाइबाट वञ्चित बालबालिकाहरू पनि घरमै पढने अवसर पाउँदा अहिले निकै खुसी भएका छन् । स्थानीय सरकार र विभिन्न निकायबाट सहयोग पाइरहे उच्च शिक्षा पढेर आत्मनिर्भर बन्ने सपना छोराछोरीको रहेको उनीहरूका अभिभावकले बताए ।

कम्तीमा १२ कक्षासम्म घरमै पढने व्यवस्था भए आफ्ना छोराछोरीको भविष्य सप्रिने आशा अभिभावकहरूले बताएका छन् । पढाउन छोडे छोराछोरीको पढाइ बिग्रन्छ कि भन्ने चिन्ताले पनि उनीहरूलाई पिरोल्ने गरेको छ । त्यसैले आफ्ना छोराछोरीको पढाइ निरन्तर होस् भन्ने उनीहरूको चाहना छ । त्यसमा सरकारी निकायले सोची दिनुपर्ने देखिन्छ ।  कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत शारीरिक अपांगता भएका बालबालिकालाई उच्च शिक्षासम्म गाउँपालिकाले नै पढाउने बताएका छन् । उनले भने, ‘शारीरिक रूपमा अपांगताले विद्यालय जान नपाएर पनि शिक्षाको पहुँचबाट वञ्चित हुन नदिन उनीहरूले जति पढ्छन उति पढाउँछौँ ।’ यो यहाँको स्थानीय सरकारले गरेको शिक्षामा राम्रो काम हो ।

कुशे गाउँपालिकामा अपांगता भएका बालबालिकाको लागि घरमै विद्यालय कार्यक्रम सञ्चालन गरिरहेको पहाडी क्षेत्र विकास अभियान जाजरकोटले उनीहरूलाई आधारभूत शिक्षा दिन घरमै पढाउने व्यवस्था मिलाइएको बताएको छ ।
अभियानका कार्यकारी निर्देशक रणबहादुर कार्कीले भने, ‘विद्यालय जान नसके पनि उनीहरू अब भने पढाइबाट वञ्चित हुँदैनन् ।’ शारीरिक रूपमा अपांताकै कारण पढाइबाट वञ्चित अरू बालबालिकालाई पनि घरमै पढने अवसर दिनुपर्ने कर्णालीवासी बताउँछन् । त्यसो भएमा यहाँका अभिभाकवलाई सन्तानको भविष्यका बारेमा धेरै चिन्ता हुँदैन ।

कम्तीमा पनि उच्च शिक्षासम्म पढने अवसर पाए भने अपाङ्गता भएका बालबालिकाको अरूमाथिको निर्भरता घटने विश्वास उनीहरूको छ । विद्यालय आउन नसक्ने अपांगता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन घरमै पढाउने व्यवस्था गरिएको हो । तीन वर्षसम्म पढाइमा सघाउने र त्यसपछि स्थानीय तहले उनीहरूको पढाइको जिम्मा लिने सेभ द चिल्ड्रेनका बालमुकुन्द महतले बताए ।

नेपालमा विद्यालयको पहुँचबाट बाहिर रहेका चार प्रतिशतमध्ये दुई प्रतिशत अपांगता भएका बालबालिका रहेको उनले बताए । हिँडेर विद्यालय जान नसक्ने बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन संघीय र प्रदेश सरकारले भने कुनै पनि कार्यक्रम सञ्चालन नगरेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

अपांगता भएका बालबालिकालाई घरमा नै बसेर पढ्न अवसर दिलाएकोमा स्थानीय सरकार र त्यसलाई सहयोग गर्दै आएको संस्थाको कामले निकै खुसी छन् उनीहरूका अभिभावक । कर्णालीका केही जिल्लाका मानिसले पाएको यो सुविधाले यहाँ त केही समस्या समाधान भएको छ । अब देशका अन्य स्थानमा पनि यस्तै सुविधा भएमा अपांगता भएका कारण पढाइबाट वञ्चित भएकाले अवसर पाउने र अभिभावकले सन्तानको भविष्यका लागि चिन्ता लिनु नपर्ने देखिन्छ । यसका लागि संघीय सरकार र स्थानीय सरकारले बेलैमा सोच्नुपर्ने देखिन्छ । (बिबिसी)

प्रतिक्रिया