पारिवारिक बज्रपातपछि उठेकी ‘एक्ली भवानी’

पशुपालनबाटै कमाउँछिन् मासिक २ लाख

कति दिन रुने ? कति आँसु बगाउने ? जे नहुनु थियो, भई त सक्यो । अनि मन बलियो बनाइन्– अब आफ्नै बलबुतामा केही गर्छु र सुरु गरिन् पशुपालन व्यवसाय ।

बारा । दुई जना छोराछोरीमध्ये छोरीलाई २०७३ सालमै बिहे गरेर अन्माइन् । घरकी लक्ष्मी विवाह गरेर पराई घर पठाएको १ वर्षमै बुढेसकालको सहारा मानेका एक मात्र छोराले पनि आत्महत्या गरे । छोरी पराई घर पठाएकी आमाले छोरा गुमाउनुप¥यो भने सँगै बाँच्ने सँगै मर्ने बाचा गरेर विवाह गरेका पतिसँग पनि सम्बन्धविच्छेद भयो । हाँसीखुसी चलिरहेको जीवन उराँठलाग्दो भयो । न गुनासो गर्ने पति साथमा छन्, न कुनामा बसेर रुँदै गर्दा ‘के भयो आमा ?’ भनेर सोध्ने छोरा छन् । भएकी एउटी छोरी पनि आफ्नै घर गरिखान व्यस्त छिन् ।

कति दिन रुने ? कति आँसु बगाउने ? जे नहुनु थियो, भई त सक्यो । अनि मन बलियो बनाइन्– अब आफ्नै बलबुतामा केही गर्छु र सुरु गरिन् पशुपालन व्यवसाय ।

उनी, अर्थात बाराको निजगढ नगरपालिका–५, बागदेवकी भवानी सापकोटा । पारिवारिक पीडा भुलेर उनले २०७५ सालमा ५ वटा भैँसी किनिन् । र, तिनकै स्याहार चाकरमा लागिन् । व्यवसायलाई संस्थागत गर्नुपर्छ भन्ने लागेपछि उनले फार्म दर्ता गरिन् ।

नजिकै लालबकैया खोलालाई स्थानीयले साक्षात् भगवान मान्छन् । सोही खोलाको नामबाट उनले आफ्नो फार्मको नाम राखिन्– ‘बकैया ठाकुर पशु फार्म’ । उनको सो फार्म अहिले ६५ वटा भैँसी, २२ वटा पाडापाडी, बाख्रा र कुखुराले भरिभराउ छ ।

सोही फार्मबाट अहिले उनी महिनाको २ लाख हाराहारी कमाइरहेकी छिन् । यो फार्म उनको एकलौटी स्वामित्वमा छ । ४५ वर्षीया भवानीले अहिले भैँसीको दूध, पाडापाडी, बाख्रा र खुकुरा बेच्न बजार धाउनैपर्दैन । डेरी सञ्चालक र व्यापारीहरू सीधै फार्ममा आउँछन् र उत्पादित दूधदेखि पाडापाडी र बाख्रा–कुखुरा उठाउँछन् ।

उनको फार्ममा अहिले ६० वटा खसीबाख्रा र डेढ सयभन्दा बढी लोकल कुखुरा पनि छन् । दैनिक ३०० लिटर दूध बिक्री गर्ने भवानीले बताइन् । यहाँ भैँसीको दूध प्रतिलिटर ९० रुपैयाँमा बिक्री हुन्छ । खसी र खुकुराचाहिँ सिजनमा मात्रै बिक्री हुन्छ ।

उनले फार्म सञ्चालन गरेर आफूमात्र बाँचेकी छैनन्, अन्य परिवारलाई पनि बाँच्ने आधार दिएकी छिन् । भवानीले ५ जना युवालाई खाडी देश जानबाट रोकेकी छिन् । अर्थात्, आफ्नै पशु फार्ममा रोजगारी दिएकी छिन् । नेपालमा केही भएन भन्दै विदेश जाने लहडका बीच ५ जनालाई भए पनि आफूले देशमै रोकेको उनी बताउँछिन् । विदेशमा गएर काम गर्नुभन्दा राम्रो आफ्नै देशमा थोरै लगानीमा भए पनि केही गर्न पाउँदा आफूलाई गर्व लागेको उनी बताउँछिन् ।

भैँसी, बाख्रा र कुखुराका लागि दानापानी तथा उपचारमा महिनामा ५ लाख रुपैयाँ खर्च हुने गरेको उनी बताउँछिन् । सबै खर्च कटाएर महिनामा डेढदेखि २ लाख रुपैयाँ बचत हुने भवानीको भनाइ छ ।
‘खसी, कुखुरा ६ महिना वा वर्ष दिनमा मात्रै बेच्ने हो । वर्षमा ६/७ लाखको बेच्छु । एकमुष्ट आएको रकमलाई महिनावारीमा हिसाब गर्दा सबै गरी महिनामा २ लाख रुपैयाँजति आम्दानी हुन्छ,’ उनले भनिन् ।

२०७५ सालमा पहिलो पटक उनले मधेस प्रदेश सरकारबाट ४ लाख रुपैयाँ अनुदान पाएकी थिइन् । कडा परिश्रम गरे सकारात्मक परिणाम आउने बताउने उनी सरकारले किसानको नाम बेच्नेहरूलाई पत्याउने, तर वास्तविक किसानलाई नपत्याउने गरेको गुनासो गर्छिन् ।

अनुदानको पर्खाइ

भवानी सापकोटाले पशुपालन सुरु गर्ने बेला नै मधेस प्रदेशबाट ४ लाख रुपैयाँ अनुदानमा पाएकी थिइन् । त्यसयता उनले कुनै पनि निकायबाट अनुदान प्राप्त गर्न सकेकी छैनन् । सरकारी निकायमा भएकाहरूले आफ्ना आफन्त तथा कार्यकर्तालाई मात्र अनुदान दिने गरेकाले वास्तविक किसानले नपाउने गरेको उनको बुझाइ छ ।

आफूलाई अनुदान दिने भनेर प्रदेश सरकार र संघीय सरकारलेसमेत पटक–पटक आश्वासन दिए पनि अनुदान रकम भने नपाएको उनको गुनासो छ । उनले भनिन्, ‘सरकारले अनुदान दियो भने अरु भैँसी पनि थप्ने र अन्य जातका पशुपालनमा पनि हात हाल्ने योजना बनाएको थिएँ । तर, अनुदान पनि पाइएन, बजारमा आएको मन्दीका कारण फार्म विस्तार गर्न सकेको छैन ।’

पशुपालनबाट सन्तुष्टि

भैँसीबाट उत्पादित पाडापाडी, पालिएका खसी र कुखुराको बिक्रीबाट व्यवसायको आधा खर्च जोहो हुँदै आएको उनले बताइन् । बाँकी दूधको बिक्रीबाट बचेको पैसाले आफ्नो गुजारा चलेको उनी बताउँछिन् । पशुपालन व्यवसाय सुरु गरेको ५ वर्ष बितिसक्दा उनी यसबाट सन्तुष्ट रहेको बताउँछिन् । थोरै लगानीबाट सुरु गरिएको व्यवसायले प्रगति गरेकी उनी कृषि पेसामा लागेर के नै हुन्छ भन्दै विदेश पलायन हुने थुप्रैका लागि दरिलो उदाहरण बनेकी छिन् ।

प्रतिक्रिया