गजराज जोशी फुटबलमा ७ टोली खेल्दै

काठमाडौं । एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिकाको अन्तर वडा स्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता सोमबार सुरु हुने भएको छ । टोखा नगरपालिकाका ११ मध्ये ७ वटा वडाको सहभागिता रहने प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक स्पोर्टस् कर्नरका अध्यक्ष सुशन दुलालले जानकारी दिए । प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

श्री भगवती क्लबको विशेष सहयोगमा सञ्चालन हुने प्रतियोगितालाई गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाउने अन्तर्राष्ट्रिय धावक स्वर्गिय गजराज जोशीको नाममा ट्रष्ट स्थापना गरिएका हो । जोशी नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने पहिलो अन्तर्राष्ट्रिय धावक हुन् ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारार्लाइ आत्मसात गर्दै भेगिय युवाहरुलाई जागरु बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । प्रतियोगिता माघ १३ गते सम्म चल्नेछ । गत वर्ष स्थापना भएको स्पोर्टस् कर्नरले खेलकुद प्रतियोगिताको सञ्चालन, सहभागिता, समाजिक तथा जनचेतनामुलक कार्यक्रम सञ्चालनको उद्देश्य राखेको छ ।

प्रतिक्रिया