पक्राउ पर्ने डरले बालविवाहको शैली फेरियो

सल्यान । जिल्लामा प्रहरीले बालविवाह न्यूनीकरण गर्नका लागि अभियान सुरु गरेपछि बालविवाह गर्नेहरूले विवाहको शैली नै परिवर्तन गर्न थालेका छन् । केटापक्षका परिवारले पक्राउ पर्ने डरले दुलाहादुलहीलाई विवाहको धार्मिक कार्यविना नै भित्र्याउन थालेका छन् ।

यही १२ साउनका दिन बालविवाह गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेपछि पक्राउ पर्ने डरले धार्मिक कार्यविना नै विवाह गरेको रहस्य खुलेको हो । गएको १ माघका दिन बनगाड कुपिण्डे नगरपालिका–१२ कि १९ वर्षीया पुष्पा खड्का र कपुरकोट गाउँपालिका–५ रिम निवासी १७ वर्षीय सोभाराम रोकाबीच फरक शैलीमा विवाह भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

बालविवाह नै हो भन्ने थाहा पाएका सोवाराम रोकाका आमाबुवाले धार्मिक कार्य नै नगरी घरमा बालिकालाई बुहारीको रूपमा भित्र्याएको बताएका छन् । गाउँघरमा सबैलाई खबर गरेपछि बालविवाह भएको थाहा हुने र प्रहरीले पक्राउ गर्ने डरले नै धार्मिक विधिअनुसार विवाह नगरेको हुनसक्ने प्रहरीको पनि दाबी छ । तैपनि विवाह गरेको चार महिनापछि गाडी रिजर्व गरेर माइती जाने क्रममा अस्थायी प्रहरी पोस्ट रिमले सोधपुछ गर्दा बालविवाह गरेको खुलेपछि दुलाहाका बाबु दयाराम रोका र आमा केवली रोकासहित चार जनालाई पक्राउ गरेर बालविवाहसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

जिल्लामा प्रहरीले बालविवाह न्यूनीकरणका लागि अभियान तीव्र पारेपछि बालविवाहका घटनाहरू बाहिर नआउनुमा विवाहको शैलीसमेत फरक हुन थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘हामीले स्थानीयतहसँग मिलेर बालविवाह न्यूनीकरणका लागि जिल्लाभरी अभियान नै सञ्चालन गरेका छाँै, तर अहिले प्रहरीले पक्राउ गर्ने डरले धार्मिक विधिअनुसार विवाह नगरेर फरक शैलीमा विवाह गर्ने गरेको सूचना प्राप्त हुन थालेको छ,’ खतिवडाले भने ।

प्रहरीले बालविवाहमा संलग्नलाई मात्र होइन जिल्लामा हुने सबै प्रकारका विवाह हुनुभन्दा अगावै छापिने निमन्त्रणा कार्ड छाप्नुभन्दा पहिले नै अनिवार्य रूपमा जन्मदर्ताको प्रतिलिपी राखेर मात्रै छाप्ने गरी जिल्लामा रहेका छापाखानाहरूलाई लिखित कागज गराइसकेको छ । यति मात्र होइन विवाह गराउन जाने पण्डित तथा ज्योतिषीहरूलाई समेत विवाह हुनुपूर्व नै केटाकेटीको जन्मदर्ता ल्याएपछि मात्रै विवाह गराउने गरी जिल्ला प्रहरी कार्यालयमै लिखित सहीछाप गराइसकेको प्रहरीले जनाएको छ ।

अहिल समुदायस्तरबाट नै बालविवाह गरेको सूचना प्राप्त हुने भएकोले पनि भोजभतेर गरेर विवाह गर्न छोडेको प्रहरी नायव उपरीक्षक खतिवडाको भनाइ छ । ‘हामीले जिल्लाका करिव ४७ हजार घरधुरीमा महत्वपूर्ण टेलीफोन सहितका स्टिकर टाँसेका छौ अहिले धेरैजसो अपराधका सूचनाहरू स्थानीय समुदायबाट नै आइरहेको छ बालविवाह हुन लागेको भए पनि हामीलाई तुरुन्तै सूचना आउँछ,’ खतिवडाले भने ।

जिल्लामा बालविवाह न्यूनीकरणका लागि स्थानीय तहसमेत एकजुट भएकोेले पनि न्यूनीकरण हँुदै गएको प्रहरीको भनाइ छ । बालविवाह गर्दा बालिकाको स्वास्थ्य अवस्था जोखिममा पर्ने मात्र होइन यसले जिल्लामा सम्बन्धविच्छेदका घटनाहरूमा समेत वृद्धी गर्ने कारक तत्वको रूपमा हेरिएको छ ।

जिल्लाका १० वटै स्थानीयतहहरूको दरिलो साथ पाएको प्रहरीले जिल्लामा हुने बालविवाह लगायतका अन्य अपराधिक घटनाहरूमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ । प्रहरीले एक हप्ताको अवधिमा जिल्ला अदालत सल्यानबाट कैद सजाय सुनाइएका र अदालतको सम्पर्कमा नआएका ५५ जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । जसमध्ये १६ जना कैद भुक्तानका लागि कारागार चलान भएका छन् भने ३७ जनालाई जरिवाना बुझाएर तारेखमा छोडिएको जिल्ला अदालत सल्यानले जनाएको छ ।

प्रतिक्रिया