तस्करलाई सघाएको आरोपमा असईसहित चार प्रहरी निलम्बित

लहान । लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि प्रदेशका २ का चार जना प्रहरीलाई निलम्बन गरिएको छ । आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्‍याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको २ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिए ।

ती चारै जना सर्लाही जिल्लाको विष्णु गाउँपालिकास्थित बाराउधोरण प्रहरी चौकीमा कार्यरत थिए । उनीहरुले आर्थिक लाभ लिएर तस्करलाई सघाएको खुलेको उनले जानकारी दिए । प्रदेश प्रहरी कार्यालय जानपुरधामले उनीहरुको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया