स्लोभाकिया र अमेरिका पठाइन्छिु भन्दै ठगेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर रु ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका–११ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मंगला गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनले भने, ‘सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै रु दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर रु ७८ लाख रकम लिएका उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।’

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिए ।– रासस

प्रतिक्रिया