प्रधानमन्त्री नेतान्याहुसहित इजरायली र हमासका नेताहरूका लागि पक्राउ पुर्जी माग

मुख्य अभियोजक करिम खानले गाजा पट्टी र इजरायलमा युद्ध अपराध तथा मानवताविरुद्धको अपराधका लागि नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट तथा हमासका तीन नेता येहिया सिनवार, मोहम्मद दिफ र इस्माइल हानियेहलाई आफूले जिम्मेवार ठानेको बताए ।

जेरुसेलम । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित इजरायल र हमासका नेताहरूलाई इजरायल र हमासबीच सात महिनाको युद्धका क्रममा उनीहरूको कार्यका सम्बन्धमा पक्राउ पुर्जीको माग गरेका छन् ।

मुख्य अभियोजक करिम खानले गाजा पट्टी र इजरायलमा युद्ध अपराध तथा मानवताविरुद्धको अपराधका लागि नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट तथा हमासका तीन नेता येहिया सिनवार, मोहम्मद दिफ र इस्माइल हानियेहलाई आफूले जिम्मेवार ठानेको बताए ।

अभियोजकले तीन न्यायाधीशको पूर्वपरीक्षण प्यानलबाट पक्राउ पुर्जीका लागि अनुरोध गर्नुपर्छ । यसले प्रमाणहरूमाथि विचार गर्न र कार्यवाही अगाडि बढ्न सक्छ कि भनी निर्धारण गर्न औसत दुई महिना लाग्छ ।

इजरायल आइसिसीको सदस्य नभएकाले पक्राउ पुर्जी जारी गरिए पनि नेतान्याहु र ग्यालेन्टले अभियोजनको कुनै पनि तत्काल जोखिमको सामना गर्नुपर्ने छैन । यद्यपि इजराइलले आफ्नो युद्धलाई जारी राखेकाले खानको घोषणाबाट उक्त मुलुकको एक्लोपनलाई अझ गहिरो बनाएको छ । साथै पक्राउ पुर्जीको धम्कीले इजरायली नेताहरूका लागि विदेश यात्रा गर्न कठिन हुन सक्छ ।

इजरायलले सिनवार र दिफ दुवैलाई खोजिरहेकाले उनीहरू गाजामा लुकेका छन् भन्ने विश्वास गरिन्छ । तथापि इस्लामिक लडाकू समूह हमासका सर्वोच्च नेता हानियेह कतारमा बस्छन् भने प्रायः यस क्षेत्रको भ्रमण गर्छन् ।

नेतान्याहु र ग्यालेन्टसँग इजरायलको युद्ध मन्त्रिमण्डलका सदस्य एवं पूर्वसेना प्रमुख बेनी गान्ट्जले खानको घोषणाको कडा आलोचना गरेका छन् । उनले इजरायल सबैभन्दा कडा नैतिक संहिताहरूसँग लडिरहेको र आफूलाई अनुसन्धान गर्न सक्षम न्यायपालिका रहेको बताए ।

मुख्य अभियोजक करिम खानले गाजा पट्टी र इजरायलमा युद्ध अपराध तथा मानवताविरुद्धको अपराधका लागि नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट तथा हमासका तीन नेता येहिया सिनवार, मोहम्मद दिफ र इस्माइल हानियेहलाई आफूले जिम्मेवार ठानेको बताए ।

‘अक्टोबर ७ मा आतंकवादी हमासले गरेको निन्दनीय नरसंहारपछि इजरायलले आधुनिक इतिहासमा लडिएको न्यायपूर्ण युद्धहरूमध्ये एक हो, पक्राउ पुर्जीका लागि आवेदन गर्ने अभियोजकको अवस्था आफैँमा पुस्तासम्म सम्झिने ऐतिहासिक अपराध हो’, उनले भने ।

अक्टोबर ७ मा हमासले सीमा पारबाट गरेको आक्रमणको जवाफमा इजरायलले आफ्नो युद्ध सुरु गरेको हो । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय जनाको मृत्यु भएको थियो भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो । गाजा स्वास्थ्य अधिकारीहरूको पछिल्लो अनुमान अनुसार इजरायली आक्रमणमा करिब आधा सङ्ख्यामा महिला तथा बालबालिकासहित ३५ हजारको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूका अनुसार इजरायली आक्रमणले गाजामा मानवीय संकट उत्पन्न भएको छ । आक्रमणबाट करिब ८० प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ भने लाखौँ मानिस भोकमरीको संघारमा पुगेका छन् ।

‘युद्धको विधिका रूपमा भोकमरीको प्रयोगको प्रभाव गाजाका नागरिक जनसङ्ख्याविरुद्ध अन्य आक्रमण र सामूहिक दण्डका साथ तीव्र, दृश्यात्मक र व्यापकरूपमा ज्ञात छ’, इजरायली कारबाहीबारे खानले एक विज्ञप्तिमा भनेका छन्, ‘यसमा कुपोषण, निर्जलीकरण, गहिरो पीडा र शिशु, अन्य बालबालिका र महिलासहित प्यालेस्टिनी जनसङ्ख्यामा मृत्युको बढ्दो सङ्ख्या समावेश छ ।’

राष्ट्रसंघ र अन्य सहायता एजेन्सीहरूले पूरा युद्धका क्रममा इजरायलमाथि सहायता वितरणमा व्यवधान खडा गरेको बारम्बार आरोप लगाएका छन् । इजरायलले ती आरोपलाई अस्वीकार गर्दै गाजामा सहायता प्रवेशमा कुनै प्रतिबन्ध नभएको बताएको छ ।

उसले राष्ट्रसंघमाथि सहायता वितरण गर्न असफल भएको आरोप लगाएको छ । राष्ट्रसंघले भने सहायताकर्मीहरू बारम्बार इजरायली गोलाबारीको सिकार भएको र जारी युद्ध तथा सुरक्षा शून्यताले वितरणमा अवरोध गरेको बताएको छ ।

‘मैले आफैँ यी आक्रमणहरूको विनाशकारी दृश्य र आज दायर आवेदनमा लगाइएका अनुचित अपराधहरूको गहिरो प्रभाव देखेको छु’, अक्टोबर ७ मा हमासको कारबाहीका बारेमा डिसेम्बरमा यस क्षेत्रको भ्रमण गरेका खानले भने, ‘जीवित बचेका मानिसहरूसँग कुरा गर्दा मैले कसरी एउटा परिवारभित्र माया, बाबुआमा र बालबालिकाबीचको सबैभन्दा गहिरो बन्धनलाई नियोजित क्रुरता र अत्यधिक संवेदनहीनतामार्फत अथाह पीडा दिनका लागि विकृत गरिएको थियो भन्ने सुनेको छु, यो कार्यले जवाफदेहिताको माग गर्दछ ।’

युद्ध लामो हुँदै गएको र मर्नेहरूको सङ्ख्या बढ्न थालेपछि आफ्नो युद्धका लागि केही समयको अन्तर्राष्ट्रिय समर्थनपछि इजरायलले बढ्दो आलोचनाको सामना गर्नुपरेको छ । इजराइलले नरसंहारको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा दक्षिण अफ्रिकी मुद्दाको सामना गरिरहेको छ । इजरायलले ती आरोपलाई अस्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि पक्राउ पुर्जी जारी भएको १४ महिनापछि इजरायल–गाजा द्वन्द्वमा पक्राउका लागि खानको अनुरोध आएको छ । पुटिनमाथि युक्रेनबाट बालबालिकाको अपहरणका लागि व्यक्तिगत जिम्मेवारीको आरोप लगाइएको छ ।– रासस, एपी

प्रतिक्रिया