रइसीको मृत्युपछि संसारको ध्यान मध्यपूर्वमा केन्द्रित

तेहरान । हेलिकोप्टर दुर्घटनामा परी इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएअनुसार बाक्लो कुहिरोका कारण उनीहरू सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । रइसीको मृत्युपछि इरानमा ५ दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।

दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा छ । पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली खटाइएको छ । इरानको एक टिभी च्यानलका अनुसार बाक्लो कुहिरो र वर्षाका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भएको थियो ।
यता, इरान इन्टरनेसनलका अनुसार हेलिकोप्टर पूर्ण रूपमा जलेको र कसैको बाँच्ने सम्भावना नरहेको जनाएको छ । इरानको प्रेस टिभीका अनुसार राहत तथा उद्धार कार्यमा संलग्न टोलीले सोमबार बिहान दुर्घटनास्थल पत्ता लगाएका थिए । दुर्घटनाअघि इरानी राष्ट्रपति रइसी र अजरबैजानका राष्ट्रपतिले २ देशको सीमामा रहेको बाँधको उद्घाटन गरेका थिए । विमानमा सवार अन्य ७ जनाको पनि मृत्यु भएको बताइएको छ ।

युरोपियन युनियन (इयू), रुस, चीन, भारत, पाकिस्तान, श्रीलंका, टर्की, सिरिया, मलेसिया, इन्डोनेसिया, इजिप्ट, युएई, कतार, दक्षिण अफ्रिकालगायत देश र संगठनका प्रमुखले इरानी राष्ट्रपति रइसीको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।
चीनका राष्ट्रपति सी जिनपिङले राष्ट्रपति रइसीको मृत्युले इरानी जनताका लागि ठुलो क्षति पुगेको बताएका छन् । ‘इरानी राष्ट्रपति रइसीको दुःखद् निधनले इरानी जनताका लागि ठुलो क्षति भएको छ र चिनियाँ जनताले एक असल मित्र गुमाएका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति रइसीको मृत्युप्रति दुःख व्यक्त गर्दै इरानले एक ‘उत्कृष्ट राजनीतिज्ञ’ गुमाएको र यसबाट इरानलाई ‘अपूरणीय क्षति’ भएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रइसीको मृत्युप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘उनको परिवार र इरानका जनताप्रति मेरो हार्दिक समवेदना छ । दुःखको यस घडीमा भारत इरानको साथमा रहनेछ ।’

भारत र इरानबीच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ । अमेरिकी प्रतिबन्धका बाबजुद पनि विश्वको प्रमुख अर्थ व्यवस्था भएको भारतले इरानबाट ठुलो मात्रामा तेल आयात गर्दै आएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि रइसीको मृत्युको समाचारले आफू स्तब्ध भएको बताए । उनको मृत्युमा पाकिस्तानले सोमबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

राष्ट्रपति इब्राहिम रइसीलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अली खोमेनीका उत्तराधिकारी मानिँदै आएको थियो । उनी सवार हेलिकोप्टर दुर्घटनामा परेपछि चौतर्फी रूपमा अनेकौँ प्रश्न उठिरहेका छन् । इरान सरकारबाट पनि यसबारे खासै धेरै जानकारी आएको छैन ।

रइसीको जन्म सन् १९६० मा उत्तरपूर्वी इरानको मसहद सहरमा भएको थियो । रइसीका बुबा मौलवी थिए । उनी ५ वर्षको हुँदा उनको बुबाको मृत्यु भयो । सुरुदेखि नै धर्म र राजनीतितर्फ झुकाव भएका रइसी विद्यार्थीकालमा मोहम्मद रेजा शाहविरुद्ध सडकमा उत्रिएका थिए । रेजा शाहलाई पश्चिमी देशको समर्थक मानिन्थ्यो ।

पूर्वी इरानको मशहद सहरमा सिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र मानिने मस्जिद पनि छ । उनी सानै उमेरमा उच्च पदमा पुगेका थिए । आफ्ना बुबाको पाइला पछ्याउँदै उनी १५ वर्षको उमेरमा कोम सहरमा अवस्थित सिया संस्थामा अध्ययन गर्न थाले । विद्यार्थीकालमा उनले मोहम्मद रेजा शाहविरुद्ध पश्चिमा देशहरूले समर्थन गरेको प्रदर्शनमा भाग लिए । पछि अयातुल्ला रुहोल्लाह खोमेनीले सन् १९७९ मा इस्लामिक क्रान्तिमार्फत् शाहलाई सत्ताबाट हटाए ।

केवल २० वर्षको उमेरमा उनी तेहरान नजिकै रहेको काराजको अभियोजक जनरल नियुक्त भए । रइसी सन् १९८९ देखि १९९४ सम्म तेहरानका अभियोजक जनरल र त्यसपछि सन् २००४ देखि अर्काे दशकसम्म न्यायिक प्राधिकरणका उपप्रमुख बने । सन् २०१४ मा उनी इरानको अभियोजक जनरल बने । इरानी न्यायपालिकाको प्रमुख रहेका रइसीको राजनीतिक विचारलाई ‘चरम कट्टरपन्थी’ मानिन्छ ।

उनी इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खोमेनीको नजिक मानिन्थे । रइसी सन् २०२१ को जुनमा उदारवादी हसन रुहानीको ठाउँमा इरानको राष्ट्रपति निर्वाचित भए । चुनावी अभियानका क्रममा रइसीले रुहानी शासनकालमा उत्पन्न भएको भ्रष्टाचार र आर्थिक संकटसँग जुध्न आफूलाई उत्तम विकल्पका रूपमा प्रचार गरेका थिए ।

सिया परम्पराअनुसार रइसी सधैँ कालो पगरी लगाउँथे । कालो पगरीको अर्थ उनी पैगम्बर मुहम्मदका वंशज हुन् भन्ने हो । उनलाई ‘हुज्जातुल इस्लाम’ अर्थात् ‘इस्लामको प्रमाण’को धार्मिक उपाधि पनि दिइएको थियो ।

इस्लामिक क्रान्तिपछि रइसी न्यायपालिकामा काम गर्न थाले । उनले कैयौँ सहरमा वकिलका रूपमा काम गरेका छन् । यस अवधिमा उनले इरानी गणतन्त्रका संस्थापक र सन् १९८१ मा इरानका राष्ट्रपति बनेका अयातुल्ला रुहोल्लाह खोमेनीबाट प्रशिक्षण पनि लिएका थिए । रइसी २५ वर्षका हुँदा उनी इरानको डेपुटी अभियोजक (सरकारको दोस्रो दर्जाका वकिल) बने । उनी पछि न्यायाधीश बने र सन् १९८८ मा गठन गरिएको गुप्तचर न्यायाधिकरणमा सामेल भए । यसलाई ‘मृत्यु समिति’ भनिथ्यो ।

यी न्यायाधिकरणले पहिलादेखि नै जेल सजाय भोगिरहेका हजारौँ राजनीतिक बन्दीहरू (वामपन्थी र विपक्षी समूहका सदस्यहरू)माथि पुनः मुद्दा चलाए । न्यायाधिकरणहरूले मृत्युदण्ड दिइएको राजनीतिक कैदीहरूको कुल संख्या थाहा छैन । मानवअधिकारवादी समूहहरू यसको संख्या महिला र पुरुष गरेर ५ हजार आसपास भएको बताउँछन् ।

रइसीको मृत्यु भएपछि हमासले आधिकारिक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा हमासले इरानी सर्वोच्च नेता अयातोल्लाह खोमेनी, इरान सरकार र इरानका जनताप्रति समवेदना व्यक्त गरेको छ । दुःख र अप्ठ्यारो परिस्थितिमा आफूहरू इरानको साथ रहेको विज्ञप्तिमा भनिएको छ । ‘दुर्घटनामा इरानका त्यस्ता नेताहरूको ज्यान गएको छ, जसले इरानको हितका लागि लामो लडाइँ लडे र हाम्रो लडाइँलाई पूर्ण समर्थन गरे ।’

यहुदीहरूको अत्याचारविरुद्ध प्यालेस्टाइन र प्यालेस्टिनीहरूका लागि लड्न उनले आफूहरूलाई सधैँ समर्थन गरेको बताइएको छ । रइसीको मृत्युले मध्यपूर्वको राजनीतिमा नै प्रभाव पार्ने अपेक्षा गरिएको छ । पछिल्लो समय मध्यपूर्वको राजनीति नै २ ध्रुवमा विभाजित छ । इजिप्ट र कतार समन्वयकर्ताको भूमिकामा रहँदै इजरायल र हमासबीच युद्धविरामका लागि प्रयास गरिरहेका छन् ।

रइसीको मृत्युपछि सशस्त्र विद्रोह गर्दै आएका हमास, हुथी र हजिबुल्लाहले पनि दुःख व्यक्त गरेका छन् । सन् २०२१ मा रइसी सत्तामा आएपछि इरानमा अनुदार शासन आएको तथा अतिवादी सत्ता प्रभावमा आएको बताइएको छ । महिलामाथि कठोर रहने सिया कानुनको कार्यान्वयनबारे पनि फेरि बहस सुरु हुने अपेक्षा गरिएको छ । धेरै अन्तर्राष्ट्रिय तहको वार्तामा इरानको प्रतिनिधित्व गर्ने अली बागेरी खानीलाई विदेशमन्त्री चयन गरिएको छ । यसले इरान अब मध्यपूर्वमा शान्तिको पक्षमा रहने सम्भावना देखिएको छ ।

इरानका राष्ट्रपतिको मृत्युपछि धेरैमा अब मध्यपूर्वको राजनीतिक अवस्था के हुन्छ भन्ने कौतूहल बढेको छ । राष्ट्रपतिको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह खोमेनीले इरानको प्रशासनिक कार्यमा कुनै असर नपर्ने बताएका छन् । इब्राहिम रइसीको मृत्युपछि अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति बनेका छन् । मोख्बर बढीमा ५० दिन मात्रै देशको राष्ट्रपति बन्न पाउनेछन् । इरानी संविधानअनुसार ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्ने व्यवस्था छ । तर, यसका लागि सर्वोच्च नेता खोमेनीको स्वीकृति आवश्यक पर्छ । खोमेनीको भूमिका अस्पष्ट रहेका कारण यहाँ ५० दिनभित्र चुनाव हुनेमा शंका उत्पन्न भएको छ ।

इरानका पुराना सहयात्री राष्ट्र तथा संगठनहरूले सम्बन्ध यथावत् रहने जनाएका छन् । इरानको राजनीति आयतोल्लाह खोमेनीमा निर्भर रहने भएकाले पनि अहिलेको सम्बन्धमा कुनै असर नगर्ने विश्वास हजिबुल्लाहको छ । अहिले संसारका सम्पूर्ण शक्तिको ध्यान इरानमा केन्द्रित भएको छ ।

प्रतिक्रिया