कलाको भर्चुअल प्रदर्शनी

काठमाडौं । वैश्विक महामारीको रुप लिएको कोभिड–१९ (कोरोना भाइरस) ले मानवजातिको दैनिकीलाई संकटमा पारेको छ । मानवीय गतिविधि नै ठप्प छन् । यसले कला, साहित्य तथा संस्कृतिका विविध गतिविधिसमेत ठप्प छन् । कलादीर्घा, संग्रहालय, सिनेमा हल, नाटकघर लगायतका संस्कृतिका प्रायः कार्यक्रम बन्द छन् । विश्वका अधिकांश देशले अहिले कोरोना भाइरस नियन्त्रणका विविध उपाय अप्नाइरहेका छन् जसमा बन्दाबन्दी प्रमुख रहेको छ ।

नेपालमा पनि दुई महिनाभन्दा लामो बन्दाबन्दीले मानिसका बाह्य गतिविधि ठप्पप्रायः छन् । कोरोना कहरका बीच कलाक्षेत्रमा आबद्ध कलाकारले भर्चुअल माध्यमबाटै आफ्ना कलाकृति प्रदर्शनी गर्न थालेका छन् । बन्दाबन्दीको समय लम्बिँदै गएपछि कला पारखीका माझ कलाको स्वाद पु¥याउने ध्येयले भर्चुअल ग्यालरीका रुपमा अनलाइनबाटै प्रदर्शनी थालिएको छ ।

‘भर्चुअल साउण्ड’ मार्फत पाँच दर्जन कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको यसको संयोजन गरिरहेका कलाकार एनबी गुरुङले बताए । उनले बन्दाबन्दीका कारण कलाका पारखी कलादीर्घामा पुग्न नसकिरहेकाको अवस्थालाई मध्येनजर गर्दै भर्चुअलमाध्यमबाट प्रदर्शनीमा जुटेको बताए । उनले भने, ‘विगत दुई महिनादेखि कला प्रदर्शनी तथा गतिविधि नहुँदा ललितकलाका पारखीले घरमै बसेर सिर्जनाको स्वाद लिन सकुन भनेरै भर्चुअल साउण्डमार्फत प्रदर्शनीको सुवात् गरिएको हो ।’

उनले ‘भर्चुअल साउण्ड’ ले बन्दाबन्दीमा रहेका कला पारखीलाई नयाँ विकल्पको रुपमा अगाडि ल्याउने आशा राखेको जिकिर गर्दै भने, ‘अनलाइनमार्फत घरमै बसेर विभिन्न कलाकारले तयार पारेका सिर्जना प्रत्यक्ष हेर्न सकिने छ ।’ हुनत यतिवेला चित्रकारहरु घरभित्रै बसेर कलाकृति रचना गरिरहेका छन् । उनीहरुले कोरोना कहरका विविध परिदृश्यलाई क्यानभासमा उधिन्दै समाजलाई सकारात्मक बन्न अभिप्रेरितसमेत गरिरहेका छन् ।

उनीहरुले प्राकृतिक सुन्दरता, सामाजिक जनजीवन, वैश्विक महामारीको रुपमा देखापरेको कोरोनाका कारण विस्थापित हुनुपरेका नागरिकका पीडालाई निकै कलात्मक रुपमा चित्रण गरेका छन् । कलाकारले तयार पारेका कलाकृतिलाई सकेसम्म पारखीमाझ पु¥याउने उद्देश्य राखेर आफूले प्रदर्शनीको चाँजोपाँजो मिलाएको अन्तर्राष्ट्रिय वाटरलर सोसाइटी नेपाल च्याप्टरका अध्यक्षसमेत रहेका गुरुले बताए ।

केही कलाकारले सामाजिक सञ्जालमा आफूले रचना गरेका कलाकृति पोस्ट गरे । यसले मात्रै कलाको स्वाद लिने पारखीको लतलाई पूर्ति गर्न नसकिने ठानी अनलाइनमार्फत प्रदर्शनी गर्ने सोच आफूले बनाएको गुरुङले जिकिर गरे । उनले यसमार्फत कला प्रदर्शनी तथा बिक्री हुने आशाका साथ कामलाई अगाडि बढाए । उनले भने, ‘लकडाउनमा नेपाली कलाकारले रचना गरेका कलाकृतिलाई भर्चुअल ग्यालरीमार्फत प्रदर्शनी गर्ने काम उत्तम विकल्प हुने ठानेर यो कार्य अगाडि बढाएका हौं ।’

‘भर्चुअल साउण्ड’ शीर्षकमा दुई दिनअघि सुरु गरिएको यस प्रदर्शनीमा पाँच दर्जन कलाकारले तयार पारेका कलाकृति राखिएको जानकारी गुरुङले दिए । उनले भने, ‘विश्वले भोगिरहेको विषम परिस्थितिमा नेपाली कलाकारले घरभित्रै बसेर सिर्जनात्मक काम गरिराख्नुभएकै छ । यसरी तयार पारिएका केही कलाकृतिमात्रै कलाकारले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको अवस्थामा आमदर्शकसम्म नपु¥याउने सोचका साथ अनलाइन कला प्रदर्शनी गरेका हौं ।’

उनले लकडाउनका कारण कलाकारका कलाकृतिले उचित मूल्य पाउन नसकेको परिस्थितिलाई ध्यान दिँदै ती सिर्जनालाई विश्वभरिका कलापारखीसामु पुर्याउने ध्येयका साथ काम गरेको सुनाए । उनले समय र प्राविधिक कारणले पहिलो चरणमा ६० कलाकृति प्रदर्शनीमा राख्न सकिएको बताए । जसमा अग्रजदेखि कनिष्ठ कलाकारले तयार पारेका कलाकृति राखिएको छ ।

जसमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्मचार्य, उपकुलपति गोपाल चित्रकार, अग्रज कलाकार राधेश्याम मुल्मी, बाबुराजा धोइला, डिराम पाल्पाली, प्राज्ञ सुष्मा राजभण्डारी, मुकेश मल्ल, पोखरेली कलाकार यादव भुर्तेल, प्राज्ञ लालकाजी लामा, एनबी गुरुङ, नेपाल ललितकला पत्रकार समाज ९सोफाज० का अध्यक्ष केशव राज खनाल, बाबु साइँला लगायत ६० जना कलाकारका चित्र राखिएको छ ।
कला सिर्जना घरमा मात्रै सीमित भएको योवेला अनलाइनमार्फत प्रदर्शनीको संयोजन गरेर कलाकार गुरुङले कलाकारमा आशा जगाउने काम गरेको प्रदर्शनीमा सहभागी कलाकार बाबु साइँलाले बताए ।

साइँलाले यो प्रयासले नेपाली कलालाई नयाँ आशा र विश्वास दिलाउन सक्ने धारणा व्यक्त गरे । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले भर्चुअल प्रदर्शनीले कलाकारले रचना गरेका कलाकृतिलाई विश्वमा छरिएर रहेका कला पारखीका माझ पु¥याउने बताए । उनले भने, ‘अनलाइन कला प्रदर्शनी ‘भर्चुअल साउण्ड’ नेपाली कला जगतमा नयाँ आशाको सञ्चार गर्ने विश्वास लिन सकिन्छ । यो प्रयासले कलाकारलाई बाहिर ल्याउनसमेत महत्वपूर्ण सहयोग पु¥याउँछ ।’

प्रदर्शनीमा सहभागी कलाकारसमेत रहेका खनालले बाहिरी संसारबाट खुम्चिएको नेपाली कलालाई ‘भर्चुअल’ प्रदर्शनीमार्फत पारखी र दर्शकले अवलोकन गर्न पाएको सुनाए । उनले थपे, ‘प्रत्यक्ष कलाको अवलोकनको मज्जा त पूर्णरूपमा नआउला तर यसले थोरै भए पनि कलाको तिर्खा मेटाउनेछ ।’ अनलाइनमार्फत कला प्रदर्शनी गर्ने सोच नेपाली कला क्षेत्रका लागि नौलो भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताए ।

उनले भने, ‘लकडाउनले घरमै बसेर कलाकृति सिर्जना गरेका कलाकारका लागि प्रविधिको प्रयोगमार्फत प्रदर्शनी गरिनु पक्कै पनि सराहनीय काम हो । यसले नयाँ सोच र कलाको आयामलाई फराकिलो बनाउन महत्वपूर्ण सहयोग गर्छ भन्ने आशा लिन सकिन्छ ।’ भर्चुअस साउण्डका योजनाकार समेत रहेका कलाकार गुरुङले लकडाउनको कारण थलिएको कला क्षेत्रले केही भए पनि राहत पाउने अपेक्षा राखेको बताए । उनले भने, ‘विश्व नै अहिले विषम परिस्थितिबाट गुज्रिएको छ ।

यस्तोवेला ललितकलालाई अनलाइनको माध्यमबाट थोरै मलम लगाउने प्रयास गरिएको हो । यसमा कलाकारको सक्रिय सहभागिताले थप हौसला मिलेको छ ।’ उनले नेपाली कलाको महत्व झल्काउँदै विश्वव्यापी बनाउने प्रयास स्वरुप थ्रिडी श्रव्यदृश्यसहित अनलाइन कला प्रदर्शनी गरिएको जिकिर गरे ।  गुरुङका अनुसार पहिलो प्रयासमा ६२ कलाकार सहभागी भएका छन् ।

प्रतिक्रिया