रहेनन् चलचित्र माइतीघरका अभिनेता सिपी लोहनी

काठमाडौं । निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौंमा निधन भएको छ ।

अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको निधन भएको भतिज एवं पत्रकार विकासप्रसाद लोहनीले जानकारी दिए ।

गीतसंगीत क्षेत्रमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गरेका थिए । उनी उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहेका थिए ।

वास्तविक नाम चिदम्बरप्रसाद लोहनी भए पनि छोटकरीमा सिपी लोहनीका नाममा चलचित्र तथा गीतसंगीत क्षेत्रमा उनी परिचित थिए । माइतीघर चलचित्रकी अभिनेत्री माला सिन्हासँग विवाह गरेका स्वर्गीय लोहनीको एक छोरी हाल संयुक्त राज्य अमेरिकामा रहेको पत्रकार लोहनीले जानकारी दिए । लोहनीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने बताइएको छ ।

प्रतिक्रिया