दसैँमा मासुको महँगी

अघिल्लो वर्षको तुलनामा यस वर्ष खसीको मासुको मूल्य प्रतिकेजी ४ सय रुपैयाँ बढेको छ । अघिल्लो वर्षको दसैँमा प्रतिकेजी ९ सय रुपैयाँ मूल्य थियो, अहिले १३ सय पुगेको छ । तर, सर्वसाधारणको आम्दानी यो अनुपातमा बढ्न सकेको छैन । उपभोग्य वस्तुको मूल्य वृद्धिको अनुपातमा उपभोक्ताको आम्दानी बढ्न नसक्दा सन्तुलन बिग्रन्छ । मूल्य बढ्नु र महँगी बढ्नु भनेको एउटै होइन । उपभोक्तको आर्थिक हैसियतभन्दा वस्तुको मूल्य बढी हुनु नै महँगी हो । यस वर्षको दसैँ दैलोमै आइपुगेको छ तर खसी–बोकाको आपूर्ति सहज हुन सकेको छैन । व्यापारीहरू अझै मूल्य बनाउने रणनीतिमा छन् । दसैँका लागि राजधानी काठमाडौंमा ५० हजार खसी बोकाको माग हुने गरे पनि यस वर्षको दसैँमा ३० हजार मात्रै आपूर्ति हुने समाचार व्यवसायीहरूबाटै प्रवाह भएको छ । जब मागको तुलनामा आपूर्ति धेरै नै कम हुन्छ तब मूल्य पनि धेरै नै वृद्धि हुन्छ । यस्तो अवस्थामा मूल्यवृद्धि नियन्त्रण कसैको सामथ्र्यभित्र पर्दैन । यदि, व्यवसायीले भनेको समाचार यर्थाथतामा आधारित हो भने यसपटकको दसैँमा खसीको मासुको मूल्य कहालीलाग्दो रूपमा बढ्ने निश्चित छ ।

दसैँ नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो । दसैँको मुख्य विशेषता भनेकै मासुको परिकार हो । सक्नेहरूले त हरेक दिन, हरेक साता मासुका परिकार खाएकै हुन्छन् तर नसक्नेहरूका लागि भने मासुका परिकार खान दसैँ नै पर्खनुपर्ने हुन्छ । जस्तै, नसक्नेले पनि ऋण काढेरै दसैँका तीन दिन पेटभरि मासुको परिकार खाने प्रचलन छ । यसैगरी, मासु व्यवसायीहरूका निम्ति त दसैँ भनेको व्यापारको ठूलो अवसर हो । वर्षभरि जति मासु खपत हुन्छ दसैँका तीन दिन पनि त्यति नै मासु खपत हुन्छ । त्यसैले दसैँको अवसरमा थोरै भए पनि मूल्य बढाएर धन आर्जन गर्ने ध्याउन्नमा उनीहरू हुन्छन् । एकातिर खसी बोका बिक्रेता तथा अर्कातिर मासु पसलेहरूको दोहोरो मारमा उपभोक्ता परिरहेका छन् । यस वर्षको दसैँमा उपभोक्ताहरूको ढाड अझ सकिने सम्भावना बढेको छ ।

समस्या आइसकेपछि समाधान खोज्नु भनेको आगलागी भइसकेपछि दमकलको जोहो गरेजस्तै हो, जसबाट क्षति नियन्त्रण कठिन हुन्छ । अहिले संकेत देखिएकै वेला समाधान खोज्नु जरुरी छ । पहिलो कुरा त दसैँमा मागअनुसारको आपूर्ति हुँदैन भन्ने व्यवसायीहरूको प्रचारलाई निस्तेज गर्नुपर्यो, मागभन्दा आपूर्ति बढी हुँदैछ भन्ने विश्वास उपभोक्तालाई दिलाउनुपर्यो । दोस्रो कुरा सहज आपूर्तिका लागि अहिलेदेखि नै सरकारी स्तरमा पहल सुरु गर्नुपर्यो । दसैँ भरका लागि मात्रै भए पनि भारतबाट खसी बोका आपूर्ति सहज बनाउनुपर्यो । स्वदेशकै गाउँतिर पनि प्रशस्त खसी बोका छन् तर ढुवानीको कठिनाइका कारण बजारमा ल्याउन कठिन भइरहेको छ । ढुवानी खर्च पनि महँगो छ । सहज ढुवानीको व्यवस्था गर्नुपर्यो । गाउँघरतिर प्रतिकेजी ६ सय रुपैयाँ सम्ममा खसीको मासु बिक्री हुन्छ तर राजधानी काठमाडौंमा १३ सय पर्छ । एक केजीमै दोब्बरभन्दा बढी मूल्य अन्तर हुनुको पहिलो कारण ढुवानीको असहजता हो, दोस्रो कारण बिचौलियाको बिगबिगी हो । त्यसैले ढुवानीको सहजताका अतिरिक्त बिचौलियाको बिगबिगी पनि अन्त्य गर्नु जरुरी छ । यसैगरी नेपालीहरूको खाने बानीमा पनि सुधार ल्याउनु जरुरी छ । चाडबाडका वेला शरीरले धान्नै नसक्ने गरी मासु खाएर रोग निम्त्याउने तथा अरू वेला मासु नै नखाएर कुपोषण निम्त्याउने परम्परालाई हामीले निरन्तरता दिएका छन् । यो परम्परा अन्त्यका लागि जनचेतना अभियान सुरु गर्न पनि निकै जरुरी छ ।

प्रतिक्रिया