भेरी–बबई आयोजनाबाट सिक्नु पर्ने पाठ

सुनकोसी–मरिन पथान्तरण आयोेजनाको सुरुङ निर्माण गर्ने काम सम्पन्न भएको छ । सुनकोशी नदीको पानीलाई मरिन खोला हुँदै बागमति नदीमा मिसाउने उद्देस्यका साथ यो आयोजना अघि बढाइएको हो । यो आयोजना अन्तरगत सुनकोशी नदीको ६८ क्युसेक पानी बागमति नदीमा पुर्याइने छ । बागमति नदीको विद्यमान बाँध तथा नहर संरचना प्रयोग गरी सर्लाही , रौतहट , बारा , पर्सा र महोत्तरी गरी पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर जमिनमा १२ रै महिना सिंचाईको सुविधा पुर्याउने लक्ष राखिएको छ । साथै यो आयोजनाबाट ‘क्यु ६५ मोडल’को ३१ मेगावाट क्षमताको जलविद्युत उत्पादन केन्द्र पनि निर्माण गर्ने लक्ष राखिएको छ । २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव ३ किलोमिटर लामो सुरुङ रहेको छ । सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो ।

भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने आयोजनाको भनाई छ । सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप एक वर्ष लाग्ने जनाइएको छ । यो आयोजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी वीपी राजमार्गको खुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइएको छ ।

सुनकोशी– मरिन पथान्तरण बहुउद्देस्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न हुनु भनेको खुशीको कुरा हो । त्यसमा पनि पूर्वनिर्धारित समय भन्दा छिटोे सम्पन्न हुनु भनेको अझ खुशीको कुरा हो । तर उत्साहित भइहाल्नु पर्ने अवस्था भने छैन । किनकी यस्तै प्रकृतिको भेरी–बबई पथान्तरण बहुउद्देस्यीय आयोजनाले सुरुङ छिचोलिएको पाँच वर्ष बितिसक्दा पनि दर्दनाक पिडा झेलिरहेको छ । यो आयोजनाको सुरुङ पनि पूर्वनिर्धारित समय भन्दा एक वर्ष पहिले नै सम्पन्न भएको थियो । २०७६ चैत १५ गते भित्र सक्ने लक्षका साथ २०७४ कात्तिक मसान्त देखि सुरुङ खन्न थालिएको थियो । तर २०७६ बैशाख ३ गते नै सुरुङ छिचोलियो ।

३० महिना भित्र सक्ने लक्षका साथ काम सुरु गरिएकोमा १९ महिनामै सकिनु भनेको ठुलै उपलव्धी थियो । तर योजनाका अन्य कामहरुले भने गति लिन सकेनन् सुरुङ छिचोलिएको पाँच वर्ष वितिसक्दा पनि आयोजना सम्पन्न हुने कुराको अत्तोपत्तो छैन । आयोजना सम्पन्न हुन ढिलाई हुँदा एकातिर खर्च भइसकेको रकमको ब्याज बढेको बढै छ भने अर्कोतिर सिंचाईबाट किसानहरुले लाभ पाउने समय पनि ढिलाई हुँदै गएको छ ।

बाँके र बर्दियाको ६० हजार हेक्टर जमिनमा १२ रै महिना सिंचाईको सुविधा पुर्याउने यो आयोजना आर्थिक दृष्टिले ज्यादै महत्वपूर्ण छ । बबई सिंचाई आयोजनाका नहर तथा पूर्वाधारहरुलाई प्रयोग गर्न सकिने अवस्था हुँदा हुँदै किन ढिलाई गरिँदै छ ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।

नेपालमा नदीजन्य जलस्रोत प्रचुर हुँदा पनि जलजिद्युत तथा सिंचाइका लागि ब्यापक उपयोग गर्न नसकिनुको मुख्य कारण हो –‘नदी पथान्तरणमा जटिलता ।’ नदी पथान्तरणका लागि सबै भन्दा जटिल संरचना भनेको सुरुङ निर्माण हो । परम्परागत प्रविधिबाट खन्नु पर्ने वाध्यताका कारण सुरुङ निर्माणको लागत तथा समय निकै धेरै हुने गरेको छ । तर भेरी– बबई तथा सुनकोशी– मरिन पथान्तरण आयोजनाको सुरुङ टिबिएम मेसिन प्रयोग गरी खनिएको हो । जसका कारण निर्माणको अवधी र लागतमा उल्लेखनीय कमी आएको छ ।

नदी पथान्तरणका लागि परम्परागत प्रविधिबाट सुरुङ बनाउँदा प्रतिकिलोमिटर डेड अर्ब रुपैंया लागत लाग्ने गरेको छ भने प्रतिकिलोमिटर ५ महिना समय लाग्ने गरेको छ । तर टिबिएम मेसिन प्रयोग गरेर सुरुङ निर्माण गर्दा प्रतिकिलोमिटर करिव ९० कररोड रुपैंया लागेको लागत छ भने प्रतिकिलोमिटर एक महिना समय लागेको छ । हाम्रो जस्तो पहाडी मुलुकका लागि टिविएम प्रविधि बरदान सावित भएको छ । अब नदी पथान्तरण भनेको जटिल काम होइन भन्ने कुरा पुष्टि भएको छ । अन्य आयोजना पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको छ । नेपाल विद्युत् प्राधिकरणले दूधकोसी र माथिल्लो अरुणमा समेत टिबिएम प्रयोग गर्ने तयारी गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

प्रतिक्रिया