पुल बनेपछि विद्यालय नियमित

कालिकोट । वर्षातको समयमा अधिकांश दिन विद्यालय जान मुस्किल थियो । बालबालिका एक्लै खोला तर्न नसकेपछि अभिभावक आफैँले जोखिम मोलेर खोला तार्ने र विद्यालय समय सकिएपछि लिन जानुपर्ने अवस्था थियो ।

वषौंदेखि यस्तै समस्या खेप्दै आएका जिल्लाको नरहरिनाथ गाउँपालिका लालुका स्थानीयलाई खहरे खोलामा झोलुंगे पुल निर्माण हुँदा गाउँमा ठूलै हर्ष छाएको छ । पुल नहुँदा वर्षाको समयमा कोटवाडा र लालु गाउँ आवतजावतमा मुस्किल थियो । सडक नपुगेको यो ठाउँमा पैदल हिँडेर किनमेलका लागि रगाडा बजार आउनुपर्ने बाध्यता थियो । तर, अब पुल निर्माण भएपछि जंगार तरेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेपछि स्थानीयले राहतको महसुस गरेका छन् ।

नरहरिनाथ गाँउपालिका–२ कोटवाडा र वडा–८ लालु गाँउलाई जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो । पुल निर्माण भएपछि स्थानीय उत्पादन बजारसम्म लैजान पनि सहज हुने भएको छ । औषधि उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता पनि पुलले अन्त्य गरेको छ । ‘युवा र प्रौढ उमेरका मानिस जोखिम मोलेर भए पनि खहरे खोला तर्ने गर्दथे,’ स्थानीय विद्यार्थी सुस्मा विष्टले भनिन्, ‘हामी विद्यालय उमेरका बालबालिका भने खोला बढेको दिनमा विद्यालय नै जादैनथ्यौँ । अब भने ढुक्कले हिउँद र वर्षा दुवै समयमा विद्यालय जान पाइने भइयो ।’

गाउँपालिका भए पनि गाउँपालिकामा रहेका नौ वटै वडाहरूमा सडक पुगेको छैन । पूर्वाधार पनि पुगेको छैन । प्रशासनिक कामकाजका लागि वडामा आउन पनि समस्या छ । जोखिम मोलेर जंगार तरेर ओहोरदोहोर गर्नुपर्दा स्थानीयले वर्षौंदेखि पुल निर्माणको माग गरेका थिए । ‘वर्षौंदेखि यो समस्या थियो । तर, स्थानीयको जिल्ला र केन्द्रसम्म पहुँच नहुँदा पुल निर्माण हुन सकेको थिएन,’ वडा–८ का अध्यक्ष राजेन्द्र विष्टले भने, ‘अहिले जनप्रतिनिधि आएपछि विभिन्न संघसंस्था, नगरपालिका र श्रमदानबाट झोलुंगे पुल निर्माणको काम सम्पन्न भएको छ ।’

कर्णालीमा झोलुंगपुल निर्माणको जिल्ला पाएको हुरेन्डेक नेपालले स्थानीय जनप्रतिनिधिहरूको आग्रहमा लालुको रगाडा खोलामा पुल भएपछि वर्षौंदेखि जोखिम मोल्दै आएका स्थानीय पुल तरेर ओहोरदोहोर गर्न थालेका छन् । र, गाडा खोलामा मात्र होइन यसै वर्षमा हुरेन्डेक नेपालले जिल्लाका विभिन्न क्षेत्रका खोलामा २१ वटा झोलुंगे पुल निर्माण गरेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया