फर्केनन् समाज कल्याणका कर्मचारी

सुर्खेत, २४ जेठ । समाज कल्याण परिषद्को क्षेत्रीय कार्यालय तीन सातादेखि बन्द रहेको छ । कार्यालयका निर्देशकसहित कर्मचारी काठमाडौं बस्दै आएपछि सुर्खेतस्थित कार्यालय बन्द भएको हो ।
३१ वैशाखमा कार्यालयका सामान लिएर काठमाडौं आउन लागेका निर्देशक रामराज भट्टराईलाई स्थानीयले रोकेका थिए । कार्यालयका सामान पनि कब्जामा लिएर सुर्खेत उद्योग वाणिज्य संघ र गैरसरकारी संघसंस्थाका प्रतिनिधिले कार्यालयमै राखेका थिए ।
सञ्चालनमा रहेको क्षेत्रीय कार्यालय फिर्ता हुन नदिने भन्दै स्थानीयले रोके पनि कर्मचारी काठमाडौं आएका छन् । कार्यालयको ढोकामा तीनवटा ताल्चा लगाइएको छ । पहिलेदेखि नै लगाइएको तालामाथि स्थानीयले अर्को ताला लगाएपछि निर्देशक भट्टराईले पनि तेस्रो ताला मारेका हुन् ।
जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निर्देशकलाई छाडिएको थियो । भोलिपल्टै काठमाडौं गएका निर्देशक भट्टराई एक महिना पुग्न लाग्दा पनि सुर्खेत फर्किएका छैनन् । काठमाडौं गएर परिषद्मा जानकारी गराई तत्काल खबर गर्ने बताए पनि हालसम्म भट्टराई सम्पर्कमै नआएको गैरसरकारी संघसंस्था महासंघ सुर्खेतका अध्यक्ष डिल्लु घिमिरेले बताए ।
५ भदौ ०६८ मा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री जयपुरी घर्तीले परिषद्को क्षेत्रीय कार्यालयको उद्घाटन गरेकी थिइन् । परिषद्को विकेन्द्रीकरणको अवधारणाअन्तर्गत पहिलोपटक सुर्खेतमा क्षेत्रीय कार्यालय स्थापना गरिएको हो । तर, स्थापना भएको आठ महिना बित्न नपाउँदै निर्देशकसहित कर्मचारीले क्षेत्रीय कार्यालय विघटन भएको भन्दै विनाजानकारी सामान लिएर काठमाडौं जाने तयारी गरेका थिए । निर्देशक भट्टराईले परिषद्को केन्द्रीय कार्यालयले नै क्षेत्रीय कार्यालय बन्द गरेर सबै सामान परिषद्मा दाखिला गर्न पत्र पठाएकाले सोहीबमोजिम कार्यालय सार्न खोजिएको बताए । १२ वैशाखमा बसेको परिषद्को बैठकले सम्पूर्ण क्षेत्रीय कार्यालय विघटन गर्ने निर्णय गरेपछि सुर्खेतको कार्यालय पनि सञ्चालनमा आउन नसकेको हो ।

प्रतिक्रिया