
कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा गत साता सरकारले जारी गरेको प्रगति विवरण सरसर्ती हेर्ने हो भने सर्वसाधारण जनताका आधारभूत समस्या समाधान भइसकेको हो कि, जस्तो देखिन्छ । तर संघीय संसद्को जारी अधिवेशनमा जनप्रतिनिधिहरूले उठाएका आवाज सुन्ने हो भने तृणमूल तहमा अझै सरकार पुग्न नसकेको छनक मिल्छ । सरकारले धेरै काम भएको ठान्नु र संसद्मा जनप्रतिनिधिहरूले असन्तुष्टिका आवाज मुखरित गरिरहनु बहुदलीय संसदीय लोकतन्त्रको स्वाभाविक लक्षण हो । किनकि यस्ता मामिलामा सरकारमा रहनेहरूको दृष्टिकोण र सरकारप्रति खबरदारी गर्ने जिम्मेवारी पाएकाहरूको दृष्टिकोण फरक–फरक हुनु स्वाभाविकै हो ।
सरकारले १०० दिनको अवधिमा धेरै प्रगति भएको दाबी गर्ने र सांसदहरूले केही पनि नभएको भन्दै सरकारको कमजोरी औँल्याउने सिलसिला नयाँ होइन । हुन त हामीकहाँ वस्तुनिष्ठ मूल्यांकनभन्दा पनि सत्ता पक्षले सरकारको ज्यादा प्रशंसा गर्ने र विपक्षीले आवश्यकताभन्दा बढी विरोध गर्ने परम्परा रहिआएको छ । खास गरी प्रतिपक्षको विरोधलाई सरकारले गम्भीर रूपमा नलिने विकृतिले एकातिर निरन्तरता पाइरहेको छ भने अर्कातिर आफ्ना कुरा सरकारले सुनुवाइ नगरेकै कारण विपक्षीहरूद्वारा पनि चर्को विरोधका नाममा संसदीय मर्यादा उल्लंघन गर्ने क्रियाकलाप भइरहेका छन् । अहिलेसम्म सत्तामा बस्ने तथा प्रतिपक्षको भूमिका निर्वाह गर्ने पार्टी तथा पात्र गत २१ फागुनको आमनिर्वाचनको परिणामले परिवर्तन गरिदिएको छ । तर प्रतिनिधिसभाको चालू अधिवेशनलाई हेर्ने हो भने पात्र परिवर्तन भए पनि प्रवृत्ति र चरित्रले निरन्तरता पाइरहेको देखिन्छ । यो निरन्तरताको ज्वलन्त उदाहरण हो, एउटै मुद्दामा गत १७ जेठदेखि प्रतिनिधिसभाको नियमित क्रियाकलाप अवरुद्ध भइरहनु ।
जनताको आवाज मुखरित हुने सबैभन्दा उच्च, आधिकारिक र प्रभावकारी थलो प्रतिनिधिसभा विगत १ महिनाभन्दा बढी समयदेखि जुन मुद्दामा अवरुद्ध भइरहेको छ, त्यसले मुलुकको संसदीय पद्धतिलाई नै गिज्याएको छ । गत १७ जेठमा आकस्मिक रूपमा प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ‘नेपालले भारतको जग्गा मिचेको’ अभिव्यक्ति दिएको सत्य हो । तर यो अभिव्यक्तिको आशय तथा आफ्नो मनसाय गलत नभएको प्रधानमन्त्री बालेनले सार्वजनिक रूपमा बताइसकेका छन् । हालै सम्पन्न रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री बालेनले यस सन्दर्भमा जे–जसरी स्पष्टीकरण दिए, त्यसरी नै संसद्को रोस्ट्रममा एक वाक्यको स्पष्टीकरण दिने हो भने तत्काल संसद् सुचारु हुने बाटो खुल्छ । तर कुनै पनि हालतमा रोस्ट्रममा उभिएर स्पष्टीकरण नदिने प्रधानमन्त्रीको अडान र प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जबाफ नदिँदासम्म बैठक अवरोध गरिरहने प्रतिपक्षको अडानले सार्वभौम संसद् बन्धक बनेको छ । वास्तवमा यी दुवै गैरजिम्मेवार अडानको कुनै तुक छैन ।
संसद्को बैठक लामो समय अवरुद्ध हुँदा र सरकारले संसद् छल्ने प्रयास गर्दा मुलुक के–कसरी दुर्घटनामा पर्छ ? भन्ने कुरा विगतका अनुभवले पनि पुष्टि गरिसकेको छ । संसदीय सर्वोच्चतालाई स्वीकार्नु सरकारको दायित्व हो । जसरी नदीको बहाव अवरुद्ध भयो भने विस्फोट अनिवार्य हुन्छ र त्यो विस्फोटले अनिवार्य क्षति पुर्याउँछ, त्यसरी नै जनताको आवाज मुखरित हुने थलो संसद् लामो समय अवरुद्ध भयो भने निकास खोज्ने क्रममा अवश्य पनि विस्फोट हुन्छ । जुन कुरा नेपालकै संसदीय अभ्यासका क्रममा प्रकट भएका प्रमाणित सत्य हुन् । प्रतिपक्षको मुख थुनियो वा प्रतिपक्षका सांसदहरूले उठाएको प्रश्नको जबाफ सरकारले दिन आनाकानी गर्यो भने कालान्तरमा सत्ता पक्षकै सांसदहरूबाट प्रश्न उठ्न थाल्छन् ।
सत्तारूढ दलकै सांसदबाट उठ्ने प्रश्न ज्यादै महँगा हुन्छन् भन्ने हेक्का सरकारले राख्नु जरुरी छ । प्रतिनिधिसभाको चालु अधिवेशनमै यो संकेत देखिइसकेको छ । सरकारले १०० दिने उपलब्धिका सूचीमा उखु किसान र रासायनिक मलको समस्या समाधान भएको उल्लेख गरिरहँदा प्रतिनिधिसभाको बुधबारको आकस्मिक समयमा बोल्दै सत्तारूढ रास्वपाका सांसदहरूले नै यो दाबी झुटो भएको धारणा राखे । यो त उदाहरण मात्रै हो । त्यसैले संसद्लाई सहज रूपमा सुचारु गराउनेतर्फ प्रधानमन्त्री बालेन स्वयंद्वारा विशेष पहल लिनु वाञ्छनीय देखिन्छ ।
प्रतिक्रिया