
पशु सेवा विभागले यही असार ९ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालमा बर्डफ्लुको समस्या भयावह बन्दै गएको देखिन्छ । तर, बर्डफ्लुको प्राविधिक अपडेट का सन्दर्भमा असार १० गते जारी विज्ञप्तिले भने बर्डफ्लुको भयावह अवस्थाप्रति सरकार अलिकति पनि गम्भीर छैन भन्ने पुष्टि हुन्छ । किनभने यस पटक नेपालमा बर्डफ्लु अचानक देशव्यापी फैलिएको होइन, गत फागुनको तेस्रो साता मोरङ, सुनसरी र झापाका फार्ममा कुखुरा मरेपछि संकलित नमुनाको प्रयोगशाला परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो । त्यही बेला काठमाडौँको कीर्तिपुर क्षेत्रमा मृत कागहरूको परीक्षण गर्दा पनि बर्डफ्लु पुष्टि भएको थियो । प्राणघातक बर्डफ्लु पुष्टि भएलगत्तै पशु सेवा विभागले गत चैत ६ गते औपचारिक विज्ञप्ति जारी गर्दै ‘संकटग्रस्त क्षेत्र’ घोषणा र पूर्वी तराईमा पन्छी ओसारपसारमा प्रतिबन्धको घोषणा गरेको थियो ।
काठमाडौँ उपत्यकाका सन्दर्भमा भने जंगली कागबाहेक अरू पन्छीमा नभेटिएका कारण कुखुरा ओसारपसारमा प्रतिबन्ध लगाउनुको सट्टा उच्च सतर्कता मात्रै अपनाइएको विभागले जनाएको थियो । तर, सरकारले त्यतिबेला जारी गरेको विज्ञप्ति केवल कर्मकाण्ड मात्रै रहेछ, उच्च सतर्कता अपनाइएको रहेनछ भन्ने कुरा काठमाडौँ तथा यस आसपासमा फैलिएको बर्डफ्लुले पुष्टि गरेको छ । विभागले असार ९ गते जारी गरेको दोस्रो प्रेस विज्ञप्ति साँच्चै नै भयावह छ । यदि बर्डफ्लु रोग मानिसमा सरिहाल्यो भने त्यसबाट उत्पन्न हुन सक्ने भयानक परिस्थितिलाई अहिले नै ख्याल गर्दै उच्च सतर्कता अपनाउनुपर्ने बेला भइसकेको छ ।
हाल बर्डफ्लुको महामारी नियन्त्रणबाहिर गई काठमाडौँ उपत्यकाका तीनै जिल्ला र काभ्रेपलाञ्चोकसहित देशका ११ जिल्लाका ८० भन्दा बढी स्थानमा फैलिसकेको पशु सेवा विभागको विज्ञप्तिप्रति सरकार गम्भीर हुनुपर्छ । विभाग भनेको सरकारकै आधिकारिक निकाय हो । त्यसमा पनि काठमाडौँ उपत्यकाका ३ जिल्ला तथा राजधानीकै अंगका रूपमा विकास भइसकेको काभ्रे जिल्ला बर्डफ्लुको ‘हटस्पट’ बन्नुको अर्थ हो— यसको जोखिम देशभर छ । किनभने काठमाडौँ उपत्यकाको यातायात सञ्जाल भनेको शरीरको मुटु जस्तै हो । काठमाडौँ उपत्यकाबाट हरेक दिन लाखौँ मान्छे देशका कुनाकाप्चा पुग्छन् र अन्य स्थानबाट पनि दैनिक लाखौँ मान्छे काठमाडौँ उपत्यकामा आउँछन् ।
काठमाडौँ उपत्यकामा रहेको बर्डफ्लु १६ घन्टामा ताप्लेजुङ र २४ घन्टामा दार्चुला पुग्ने अवस्था छ । त्यसैले काठमाडौँ उपत्यका तथा काभ्रेपलाञ्चोकलगायत ११ वटा उच्च जोखिमयुक्त र संक्रमण सक्रिय रहेका जिल्लामा आगामी कम्तीमा ४५ दिन (डेढ महिना) सम्म नयाँ चल्ला नहाल्न र फार्मलाई पूर्ण रूपमा खाली राखी निःसंक्रमण गर्न विभागले व्यवसायीहरूलाई गरेको आग्रह कुनै पनि हालतमा कार्यान्वयन हुनु जरुरी छ । व्यवसाय चौपट हुने डरले किसानले रोग लुकाउने पुरानै समस्या छ । सरकारले बिनाझन्झट उचित क्षतिपूर्ति र बिमा सहुलियत नदिएसम्म किसानले कुखुरा र अन्डा नष्ट गर्ने कार्यमा पूर्ण सहयोग गर्न गाह्रो हुन्छ ।
बर्डफ्लुले नेपालको कुखुरापालन व्यवसायमा पु¥याएको असर विगतमा पनि सानो थिएन । एकातिर किसान तथा व्यवसायीहरूको अर्बौँ रुपैयाँ डुबेको थियो भने अर्कातिर नष्ट गरिएका कुखुरा तथा अण्डाको क्षतिपूर्ति दिँदा पनि राज्यको ढुकुटीमा ठुलो रकम खर्च भएको थियो । विगतको ठुलो आर्थिक नोक्सानीबाट व्यवसायी र सरकारले अवश्य पनि पाठ सिकेको हुनुपर्छ । बर्डफ्लु संक्रमण कुनै स्थानमा देखिनासाथ अन्य स्थानका किसान तथा व्यवसायीहरूले तत्काल नयाँ चल्ला नराख्ने र आफ्नो स्टक तत्काल बिक्री गर्ने हो भने आर्थिक क्षतिको समस्या न्यून गर्न सकिन्छ भन्ने कुरा विगतको अनुभवले सिकाएको छ । तर, लापरबाहीकै कारण बर्डफ्लु मान्छेमा सर्ने अवस्था नबन्ला भन्न सकिन्न । फितलो अनुगमन र कमजोर बजार संयन्त्रका कारण संक्रमित वा मरेका कुखुराको मासु उपभोक्ताको भान्छासम्म पुग्ने भयावह अवस्था छ । बर्डफ्लु मानिसमा सरेको खण्डमा मृत्युदर ५० प्रतिशतभन्दा बढी हुने जनस्वास्थ्यविद्हरूको भनाइ आफैँमा कहालीलाग्दो छ ।
प्रतिक्रिया