ताल्चा विमानस्थलको दुर्दशा र हवार्ई सुरक्षाको प्रश्न

रारा क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरेर दुई दशकअघि निर्माण गरिएको मुगु जिल्लाको ताल्चा विमानस्थलको वार्षिक आम्दानी तथा खर्चलाई तुलना गर्दा नागरिक उड्डयन प्राधिकरणका लागि यो ‘सेतो हात्ती’ सावित भएको हो कि भन्ने आशंका उत्पन्न हुनु स्वाभाविकै हो । तर, दुर्गम तथा पर्यटकीय सम्भावना बोकेका यस्ता क्षेत्रका विमानस्थललाई प्रत्यक्ष व्यापारिक तथा आर्थिक हिसाबले मात्रै मूल्यांकन गरिँदैन । यो एकातिर स्थानीय जनताको व्यवसाय तथा जीविकोपार्जनमा पु¥याएको सहयोग र अर्कातिर राज्यको सामाजिक उत्तरदायित्व तथा नागरिकको हकअधिकारसँग पनि जोडिएको हुन्छ । त्यसैले, सुगम क्षेत्रका विमानस्थलको नाफाबाट यस्ता दुर्गमका विमानस्थललाई धान्नु राज्यको दायित्व नै मानिन्छ । तर, मुगुको ताल्चा विमानस्थलको दुर्दशा हेर्ने हो भने वार्षिक ठुलो परिमाणमा घाटा भएको देखाउँदै यो विमानस्थललाई बन्द वा उपेक्षा गर्ने रणनीतिमा प्राधिकरणका अधिकारीहरू छन् कि जस्तो देखिन्छ । स्थापनाको २३ वर्ष पार गरिसक्दा पनि यहाँ सुविधासम्पन्न टर्मिनल भवन र आधुनिक कन्ट्रोल टावर बन्न सकेको छैन । मुलुक संघीयता र डिजिटल युगमा प्रवेश गरिसक्दा पनि रारा जस्तो संवेदनशील पर्यटकीय क्षेत्रको हवाई सेवा अझै काठको अस्थायी टहराबाट सञ्चालन हुनु र धावनमार्गमा घेरबारको व्यवस्था नहुनु सानो लापरवाही होइन । व्यवस्थित यात्रु प्रतीक्षालय, आधुनिक सञ्चार उपकरण र आधारभूत सुरक्षा व्यवस्थासमेत नहुँदा स्थानीय बासिन्दा तथा आन्तरिक एवं बाह्य पर्यटकले विमानस्थल प्रयोगमा जोखिम महसुस गर्न थालेको तथ्यांकले देखाउँछ । विगत ५ वर्षको तथ्यांक हेर्ने हो भने रारा घुम्न जाने पर्यटकको संख्या जुन अनुपातमा बढेको छ, हवाई जहाजमार्फत जाने पर्यटकको संख्या त्यही अनुपातमा घटेको देखिन्छ ।

रारा क्षेत्र नेपालका सुन्दर पर्यटकीय क्षेत्रमध्ये अब्बल दर्जामा पर्छ भन्ने भनाइलाई त्यहाँ पुगेर फर्कने जोकोही पर्यटकले पनि पुष्टि गर्ने गरेका छन् । तर, प्रख्याति र बखान जति छ, त्यसको तुलनामा रारा घुम्न जाने पर्यटकको संख्या वृद्धि ज्यादै न्यून छ । सिजनका बेला मुस्ताङ भ्रमणमा दैनिक जति पर्यटक पुग्छन्, त्यति पर्यटक रारा क्षेत्रमा वर्षभरिमा पनि पुग्दैनन् । रारा जस्तो सुन्दर क्षेत्र, जहाँ विमानस्थलको समेत सुविधा छ, त्यस्तो ठाउँमा कुल पर्यटक वार्षिक २० हजारभन्दा कम र विदेशी पर्यटकको संख्या ५०० पनि नाघ्न नसक्नु ठुलो विडम्बना हो । रारा क्षेत्रले नाम अनुसार अपेक्षित रूपमा पर्यटक तान्न नसक्नुमा मुख्य कारक विमानस्थलकै दुर्दशा हो । विमानस्थल परिसर जहिले पनि खुला हुनु र धावनमार्गमा छाडा पशुचौपाया, कुकुर तथा सर्वसाधारणको सहज आवतजावत हुनुले हवाई सुरक्षामा कति ठुलो जोखिम निम्त्याइरहेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । साना पहाडी विमानस्थलहरूमा सुरक्षा संवेदनशीलता अझ बढी हुन्छ, तर यहाँको फितलो सुरक्षा व्यवस्थाले कुनै पनि बेला ठुलो दुर्घटनालाई आमन्त्रण गर्न सक्छ । यस्ता क्षेत्रमा घुम्न जाने पर्यटकहरूको लक्ष्य जोखिम मोल्नु होइन, मनोरञ्जन लिनु हो । तर, ताल्चा विमानस्थल एकातिर जोखिमपूर्ण छ भने अर्कातिर हवाई भाडाका हिसाबले पनि निकै महँगो छ । विमानस्थलको दुरावस्था र महँगो भाडादर जबसम्म यथावत रहन्छ, तबसम्म रारा क्षेत्रको प्राकृतिक सुन्दरतालाई पुँजीकृत गर्न सकिन्न । यस विषयमा संघीय सरकारले त ध्यान दिएन नै, प्रदेश र स्थानीय सरकारले समेत चासो नदेखाउनु अर्को विडम्बना हो ।

मुस्ताङको जस्तै व्यवस्थित बनाउन सक्ने हो भने रारा क्षेत्रले मुलुकको पर्यटन उद्योगमा निकै ठुलो टेवा पु¥याउन सक्छ भन्ने कुरा सीमित संख्यामा पर्यटक जाँदा पनि भइरहेको आम्दानीले पुष्टि गर्छ । रारा राष्ट्रिय निकुञ्जले लिने प्रवेश शुल्क र डुंगा सयरको दस्तुरबाट मात्रै आर्थिक वर्ष २०८१/०८२ मा ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । विमानस्थल सञ्चालन भएको दुई दशक नाघ्दा पनि यात्रुको जाँचबुझ, टिकट काउन्टर र कर्मचारी बस्ने कार्यालय काठको अस्थायी टहरोबाट किन सञ्चालन भइरहेको छ ? भरपर्दो कन्ट्रोल टावर र आधुनिक सञ्चार उपकरणहरू किन जडान गरिएन ? यस्ता प्रश्नहरूको उत्तर नीति निर्माण तहमा बस्नेहरूलाई थाहा नभएको होइन तर यसतर्फ ध्यान पुगेको छैन । जबसम्म उचित वैकल्पिक विमानस्थल वा सुरक्षित सडक मार्गको विकल्प तयार हुँदैन, तबसम्म साविककै संरचनालाई अत्याधुनिक, सुरक्षित र भरपर्दो रूपमा सञ्चालन गर्नु राज्यको पहिलो कर्तव्य हो । राराको साख जोगाउन र कर्णालीको आर्थिक समृद्धि सुनिश्चित गर्न ताल्चा विमानस्थलको तत्काल स्तरोन्नति गर्न जरुरी छ ।

प्रतिक्रिया