भारतको उल्झनले संकटमा नेपाली चिया

सम्पादकीय

पहाडी क्षेत्रमा अर्थोडक्स चिया उत्पादन हुने मुख्य सिजन भनेको जेठ र असार हो । तर भारतले हालै लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) का कारण गत १८ वैशाखदेखि इलामका उद्योगहरूको चिया भारत निर्यात हुन सकिरहेको छैन । किनकि नेपाली चिया आफ्नो देशमा भित्र्याउनका लागि भारतले हालै अवलम्बन गरेको कानुनी तथा प्राविधिक मापदण्ड ज्यादै झन्झटिलो छ । यो नियमअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने र प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने भएकाले ३ लाख किलोभन्दा बढी नेपाली चिया भारतीय बजारमा अलपत्र परेको छ । बजारमा बिक्री नभएपछि उद्योगहरूमा ७ लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ । भण्डारण गर्ने ठाउँ नभएका कारण सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले १ असारदेखि ५३ वटा चिया उद्योग बन्द गर्ने घोषणा गरेको छ ।

मुनाफा कमाउने मुख्य सिजनमा बजार नपाएका कारण उत्पादन बन्द गर्ने अवस्था उत्पन्न हुँदा उद्योगी तथा किसानले बेहोर्नुपरेको घाटा तथा मजदुरले गुमाउनुपरेको रोजीरोटीलाई सरकारले सामान्य रूपमा लिनु हुँदैन । यस विषयमा आएका ताजा समाचारहरू झट्ट हेर्दा यो समस्या अस्थायी तथा आकस्मिक हो कि जस्तो देखिए पनि पृष्ठभूमि हेर्ने हो भने भारतले जानीबुझीकनै षड्यन्त्रपूर्वक थोपरेको समस्या हो यो । ३ वर्षअघि भारतीय संसद्को वाणिज्यसम्बन्धी स्थायी समितिले सरकारलाई एक प्रतिवेदन बुझाउँदै ‘नेपाली चियाका कारण दार्जिलिङको चिया बजार संकटमा परेको’ भन्दै नेपालबाट आउने चियामा कडा महसुल लगाउन र गुणस्तर परीक्षणमा कडाइ गर्न सिफारिस गरेको थियो । यही सिफारिसको उपज हो भारतले अहिले नेपाली चियामाथि लागू गरेको एसओपी ।

जब नेपालको कुनै उत्पादनले अन्तर्राष्ट्रिय बजार लिन थाल्छ तब त्यसलाई बिथोल्न भारतद्वारा विभिन्न छिद्रहरूको खोजी तथा प्रयोग गर्ने सिलसिला नयाँ होइन । अहिले अर्थोडक्स चियामा लगाइएको एसओपी त्यसैको निरन्तरता हो । फरक यत्ति हो कि विगतमा आकस्मिक रूपमा उल्झन लगाउने गरिन्थ्यो, तर यसपटक भने करिब आधा दशकको पूर्वतयारीका साथ अर्थोडक्स चिया निर्यातमा भारतले उल्झन लगाएको हो । जुन बेला भारतीय संसद्मा यो मुद्दा प्रवेश ग¥यो, त्यही बेलादेखि नेपाल सरकारले अर्थोडक्स चिया निर्यातका लागि तेस्रो मुलुकको बजार खोज्नुपथ्र्यो । भारतीय व्यापारीहरूले पनि नेपालबाट खरिद गरेको चिया आफ्नो देशको लोगो लगाएर अन्य देशमा निर्यात गर्ने गरेको तथ्य हाम्रो देशका व्यापारी तथा नीति निर्माताहरूलाई थाहा नभएको होइन । भारतले तलमाथि गर्नासाथ आफ्नो निर्यात चौपट हुन्छ भन्ने विगतको अनुभवबाट बेलैमा पाठ सिक्नुपथ्र्यो । ३ वर्षअघि नै खतराको घण्टी बज्दै गर्दा सिधै तेस्रो देश निर्यातका लागि गृहकार्य नगर्नुको परिणाम हो यो । मुख्य सिजनमा अवरोध उत्पन्न गराइदिएपछि गाँठो फुकाउनका लागि आफ्ना जुनसुकै सर्त मान्न पनि नेपाल तयार हुन्छ भन्ने बुझाइ भारतीय पक्षको हुन सक्छ । आफ्ना कृषि तथा अन्य उपज निर्वाध रूपमा नेपालमा निर्यात गर्नका लागि भारतले गरेको बार्गेनिङ पनि हो यो । त्यसैले यो समस्या समाधानको पहल गर्दै गर्दा बृहत् गृहकार्यको खाँचो छ ।

यसअघि भारतले मौखिक वा अस्थायी निर्देशनका भरमा केही दिन वा साताका लागि चियालगायत अन्य कृषि उपज रोक्ने गथ्र्यो । कूटनीतिक दबाब, वार्ता तथा बार्गेनिङपछि खुल्ने गरेको थियो । तर यसपटकको बार्गेनिङ कानुनी प्रक्रियासहित सुरु भएकाले केही जटिल देखिन्छ । यसका लागि नेपाल सरकारले दीर्घकालीन तथा अल्पकालीन दुवै उपाय अवलम्बन गर्नुपर्छ । नेपालको चिया भारतीय व्यापारीहरूले जहाँ लगेर बेचिरहेका छन्, त्यहाँ नेपालकै व्यापारीहरूले सिधै बिक्री गर्न सक्ने वातावरण मिलाउनु यो समस्या समाधानको उत्तम उपाय हो । तर तत्कालै यो उपाय अवलम्बन सम्भव नहुँदा उत्पादित चिया खेर गइरहेको र बोटमै बुढिएको समस्यालाई भने तत्काल समाधान गर्नुपर्छ । यसका लागि परराष्ट्र र वाणिज्य मन्त्रालयमार्फत भारत सरकारसँग तत्काल उच्चस्तरीय वार्ता गर्नु समस्या समाधानको अल्पकालीन उपाय हो ।

नेपालको ९० प्रतिशत चिया भारत जाने भएकाले नै भारतले सधैँ दबाबमा राख्न सकेको हो । नेपाली अर्थोडक्स चियाको माग चीन, जर्मनी, जापान, अमेरिका र ब्ल्याक–सी (कृष्ण सागर) क्षेत्रका देशहरूमा उच्च छ । सरकारले हवाई भाडामा अनुदान वा निर्यात प्रोत्साहन दिएर यी देशहरूमा सिधै चिया पठाउने वातावरण बनाउनुपर्छ । नेपाली अर्थोडक्स चिया दार्जिलिङको चियाभन्दा कतिपय अवस्थामा गुणस्तरीय र अर्गानिक छ । त्यसैले नेपालले आफ्नै ट्रेडमार्क बनाएर विश्वभर प्रवद्र्धन गर्नुपर्छ । यस्ता उल्झनलाई अवसरमा रूपान्तरण गर्नेतर्फ सरकार, किसान, उद्योगी तथा व्यवसायीहरू एकजुट हुनु नै समस्याको दीर्घकालीन समाधान हो ।

प्रतिक्रिया