प्रकृतिको अंश भएर पनि आफूलाई भिन्न ठान्ने अहंको भ्रम नै मानव दुःख र आधुनिक संकटको मूल कारण हो । यो अस्थिर अहंलाई हटाएर मनलाई आत्मामा प्रतिष्ठित नगरेसम्म जीवनमा वास्तविक शान्ति, निष्काम कर्म र आत्मज्ञान सम्भव छैन ।

अहंलाई संक्षिप्तमा अधुरोपन, अपूर्णता वा असुरक्षाको भाव भनिन्छ । हाम्रो शरीर प्रकृतिकै एक अंश हो । हाम्रा आमाबुबाका पूर्वजहरू खोज्दै जाने हो भने अन्ततः हाम्रो सुरुआत प्रकृति नै पुग्छ, जसलाई डार्बिनको विकासवादी सिद्धान्तले पनि पुष्टि गरेको छ । पूर्वजहरूको यही क्रमागत शृंखलाबाट विकसित र हस्तान्तरित हुँदै आएको संस्कारले गर्दा आमाको गर्भमै भ्रूणमा ‘म’ भावको वीजारोपण भइसकेको हुन्छ ।
जन्मँदा बच्चामा अविकसित रूपमा रहने यो ‘म’ भाव पालनपोषण, संस्कृति र सामाजिक मान्यताका कारण बिस्तारै विकसित हुँदै जान्छ । पछि गएर यही भाव ‘म, मेरो र मैले’ मा परिणत हुन्छ । वास्तवमा, ‘म’ भावबाट विकसित भएको अहं प्रकृतिकै अंश हो, किनभने यो हुर्कने शरीर नै प्रकृतिका ५ तत्व (पृथ्वी, जल, तेज, वायु र आकाश) बाट बनेको हो । तर, अहंले प्रकृतिलाई जड र आफूलाई चेतन सम्झेर प्रकृतिभन्दा भिन्न ठान्न थाल्छ । यही पृथकताको महसुसले गर्दा अहंमा अपूर्णता र असुरक्षाको भाव पैदा हुन्छ ।
हाम्रो जीवनको केन्द्रमा अहं नै बसेको हुन्छ । त्यसैले जुनसुकै धर्म, सम्प्रदाय, उमेर, पेसा वा जातजातिका मानिसमा अहं हुनु स्वाभाविक हो । यो सबैमा रहने एउटा साझा विषय हो र यो संसार नै यही अहंको विस्तार हो । अहंले आफ्नो अपूर्णता मेट्न संसारका विभिन्न विषयसँग नाता जोड्छ । संसारमा अनन्त विषयहरू छन् ।
विषयभोगबाट तृप्ति मिल्ने आशामा मानिस धनसम्पत्ति र मान–प्रतिष्ठा आर्जन गर्नतिर लाग्छ । ती आर्जित कुराले क्षणिक खुसी त देलान्, तर पूर्णता दिँदैनन् । बरु, ‘बाँकी रहेका अन्य कुराले पूर्णता दिन सक्छन्’ भन्ने एउटा भ्रमपूर्ण आश्वासन मात्र दिइरहन्छन् । यही आश्वासनका कारण अहं नयाँ–नयाँ विषयको खोजीमा निरन्तर दौडिरहन्छ । तर, जतिसुकै भौतिक उपलब्धि हासिल गरे पनि उसको मनको अधुरोपन जस्ताको त्यस्तै रहन्छ ।
वास्तवमा अहं भनेको हामी नै हौँ, र यो आफैँमा खराब पनि होइन । खराब त यसभित्र लुकेको अपूर्णताको भाव हो, जो क्षण–क्षणमा बदलिरहने हुनाले झुटो हुन्छ । यो झुटो भाव उत्पन्न हुनुमा २ वटा मुख्य कारण छन् । बच्चालाई हुर्काउने क्रममा नाम र रूपसँगै ‘म, मेरो र मैले’ भन्ने भाव सिकाएर संस्कारित गरिन्छ । बच्चाले सुरुमा आफ्नो शरीरसँग नाता जोड्छ, त्यसपछि अरूसँग सम्बन्ध गाँस्दै आफूलाई अरूभन्दा भिन्न ठान्न थाल्छ । बच्चालाई यसरी संस्कारित गरिनुको मूल कारण नै अज्ञान हो । जन्मिएपछि बच्चाले आफ्नो मूल स्वरूप (प्रकृति र आत्माको सम्बन्ध) बिर्सिन्छ ।
तमाम भौतिक सुखसुविधा भएर पनि जब अहं अधुरोपनको दुःखले थाक्छ र गल्छ, तब उसले ‘समस्या आफैँभित्र पो छ कि ?’ भनेर आत्म–अवलोकन गर्न थाल्छ । किनभने अहंभित्र मुक्तिको एउटा सूक्ष्म चाहना, अवलोकन गर्ने क्षमता र बुद्धि लुकेको हुन्छ । सुरुमा ‘म’ भावले भौतिक विषयहरूको खोजीमा बुद्धिलाई संसारतिर दौडाउने भएकाले यो मुक्तिको साधन बन्न पाएको हुँदैन । तर, विषयभोगबाट पूर्णता नमिलेपछि बुद्धिले भित्री रूपमा हेर्न सघाउँछ । यस आत्म–अवलोकनपछि अहंले आफू पनि प्रकृतिकै एक चेतन अंश भएको बोध गर्छ । यो बोधले अहं लाई पूर्ण बनाउँछ र मानिस दुःखबाट मुक्त हुन्छ ।

यसरी पूर्ण भएको अहं नै वास्तवमा आत्मा हो, जसलाई ‘विशुद्ध अहं’ पनि भनिन्छ । जब ‘म, मेरो र मैले’ भन्ने स्वार्थको भाव हराउँछ, तब अहं शुद्ध हुन्छ । त्यसैले, आत्मज्ञान भनेकै अहंको वास्तविक ज्ञान हो र अहंलाई दुःखबाट मुक्त गराउनु नै अध्यात्मको केन्द्रीय विषय हो ।
भ्रम र दुष्परिणाम
हाम्रो शरीर एउटा ठोस तथ्य हो भने अहंचाहिँ झुटो हो । अहं क्षण–क्षणमा बदलिइरहन्छ र यसरी बदलिरहने कुरा कहिल्यै सत्य हुन सक्दैन । अहं विभिन्न बहानामा परिवर्तन भइरहन्छ, जसलाई हामी समसामयिक उदाहरणबाटै बुझ्न सक्छौँ ।
जस्तै, इरानका जनता केही समयअघिसम्म सत्ता परिवर्तनका लागि आन्तरिक संघर्षमा थिए । तर, जब अमेरिका र इजरायल जस्ता बाह्य शक्तिहरूले इरानमाथि आक्रमण गरे, तब त्यहाँका जनताले आन्तरिक सत्ता परिवर्तनको मुद्दालाई थाती राखेर सत्तापक्षसँगै मिलेर बाह्य शत्रुविरुद्ध लड्न सुरु गरे । यहाँ धार्मिक वा राष्ट्रिय भावनाले इरानी जनताको अहं बदलिदियो ।
नेपालकै राजनीतिमा पनि जनता र नेताहरूको अहं यसरी नै बदलिएको देखिन्छ । हिजो एकापसमा कट्टर दुश्मनी मोलेर लड्ने पुराना दलहरू आज सत्ता स्वार्थका लागि एकै ठाउँमा उभिएका छन् । हिजो चौतर्फी राजनीतीकरण भयो भनी विरोध गर्नेहरूले नै आज आफ्ना कुरा बदलेका छन् । यी सबै उदाहरणले के पुष्टि गर्छन् भने, अहंको आफ्नो कुनै स्वतन्त्र अस्तित्व हुँदैन ।
शरीर अहं बस्ने घर मात्र हो, तर घर र घरभित्र बस्ने चिज अलग–अलग हुन् । हामी घरलाई उपभोग गर्न, बिक्री गर्न वा भत्काउन सक्छौँ । विडम्बना के छ भने, अहंले आफ्नै घर अर्थात् शरीरको शोषण गरिरहेको हुन्छ । जब अहंले एक्लोपन महसुस गर्छ, तब ऊ मदिरा (बियर, ह्विस्की) पिएर मस्त हुन खोज्छ । यसरी क्षणिक आनन्दका लागि गरिने खानपानले अन्ततः शरीरलाई रोगी बनाउँछ । कतिपय अवस्थामा त अहं यतिसम्म पागल र अनियन्त्रित हुन्छ कि यसले आत्महत्या गरेर स्वयंलाई समाप्त त पार्छ नै, अरूलाई पनि बाँकी छाड्दैन ।
मानिसले गर्ने खराब आचरणको मूल जड नै अहं हो । संसारमा धर्म, अध्यात्म र शिक्षाको अवधारणा मानिसभित्रको यही अहंलाई घटाउनका लागि ल्याइएको हो । शरीरमा सास रहेसम्म अहं रहिरहन्छ, तर यो जति–जति घट्दै जान्छ, मानिसको व्यक्तित्व त्यति नै असल बन्दै जान्छ । अहं बढ्दै जाँदा मानिसमा खराबी पनि बढ्दै जान्छ ।
अहिले समाजमा अहं बढेकाले मानिसहरू झगडालु बन्दै गएका छन् । यसले व्यक्ति स्वयंलाई मात्र होइन; परिवार, समाज, राष्ट्र र सिंगो विश्वलाई नै तनावमा पारेको छ । अचम्मको कुरा त, मानिसहरू आफूभित्रको अहंलाई लुकाउन ‘ममा कुनै अहंकार छैन, म त एकदम राम्रो मानिस हुँ’ भन्दै देखावटी व्यवहार गर्छन् । यस्तो पाखण्डी व्यवहारको मूल कारण अज्ञान नै हो ।
अज्ञान भनेको ज्ञानको अभाव हुनु मात्र होइन, बरु मस्तिष्कमा गलत र झुटो ज्ञानको संग्रह हुनु हो । अध्यात्मले यही झुटलाई समातेर फालिदिन्छ र मस्तिष्कलाई खाली गराइदिन्छ । बाहिरी संसारमा भरिभराउ हुनुलाई उपलब्धि मानिन्छ, तर भित्री जगत्मा खाली हुनु नै सबैभन्दा ठुलो उपलब्धि हो ।
बाहिरी सभ्यता भर्सेस भित्री सत्य
हाम्रो भित्री जगत्लाई बाहिरी आँखाले देख्न सक्दैन । आँखाले देखिने बाहिरी संसारको सभ्यता र संस्कृति त उल्टै अहं बढाउने माध्यम बनेका छन् । हाम्रा सभ्यता र संस्कृतिहरू विभिन्न सामाजिक मान्यतामा आधारित छन्, तर ती मान्यता पूर्ण सत्य होइनन् । वास्तविक सत्य त केवल ‘वर्तमान’ हो ।
यहाँ बुझ्नपर्ने कुरा के छ भने, समय आफैँमा वर्तमान होइन । समय त बाहिरी संसारको व्यावहारिक सुविधाका लागि भूत, वर्तमान र भविष्य तथा घडी, पला, घण्टा, मिनेट र सेकेन्डमा विभाजन गरिएको एउटा मापन मात्र हो । वास्तविक वर्तमान भनेको ‘हुनु’ मात्र हो, जसलाई अंग्रेजीमा ‘बिइङ’ भनिन्छ । यो ‘हुनु’ को अस्तित्व सदा सर्वदा रहन्छ, यो हिजो थियो, आज छ र भोलि पनि रहन्छ ।
यसरी कहिल्यै नबदलिने शाश्वत कुरा नै सत्य हो र यो सत्य अनन्त अनि निराकार हुन्छ । चेतना नै सत्य हो र यही चेतनाको अनन्तता नै आत्मा हो । तर, हाम्रा आधुनिक सभ्यता र संस्कृतिले अहंलाई आत्मामा प्रतिष्ठित गराउन सघाएका छैनन् । बरु, उनीहरूले अहंलाई नै आत्मा हो भन्ने भ्रमपूर्ण भाष्य सिर्जना गरिदिएका छन् । यसैले गर्दा आजको मानिस बाहिरबाट हरियो देखिए पनि भित्रभित्रै कुहिएको फर्सी जस्तै गलेको अवस्थामा छ ।
आज विश्वले भोगिरहेको जलवायु परिवर्तनको विकराल समस्याको प्रमुख कारक पनि मानिसको अहं नै हो । मानिसको दुःखको कारण अहं नै हो भन्ने ठम्याएर यसलाई हटाउने अस्त्रका रूपमा धर्मको उत्पत्ति भएको थियो । तर, समयक्रममा धर्मलाई बुझ्ने सवालमा साम्प्रदायिक भिन्नताहरू आए र सोही अनुसारका सभ्यता र संस्कृतिहरू चलाइए । आफूलाई टाठाबाठा ठान्नेहरूको अहंले तिनै संस्कृतिलाई धर्मको नाम दिएर समाजमा ‘लोकधर्म’ (परम्परागत कर्मकाण्ड) प्रचलनमा ल्याए ।
यो लोकधर्मले अतिवृष्टि, सुक्खा, बाढी–पहिरो जस्ता प्राकृतिक विपत्तिहरूलाई ईश्वर रिसाएको परिणाम मान्छ । ईश्वरलाई फकाउने नाममा बचेखुचेका बर–पिपल काटेर कोटिहोम र महायज्ञमा जलाइन्छ । यस्ता निस्सार कर्मकाण्डले जलवायु परिवर्तनको समस्यालाई झन् जटिल बनाएको छ । वास्तवमा लोकधर्म सच्चा धर्म नभएर अहंकै एउटा रूप हो, जसले गर्दा वास्तविक धर्म हराउँदै गएको छ ।
सच्चा धर्मको काम व्यक्तिलाई सत्यतर्फ डो¥याउनु अर्थात् अहंलाई आत्मामा लीन गराउनु हो । सच्चा धर्म पालना गर्ने वातावरण नहुँदा अहं आत्मामा प्रतिष्ठित हुन पाएन, बरु झन् बढेर संसारमा विध्वंस मच्चाइरहेको छ । सत्य धर्म त अविनाशी छ, यसलाई कहिल्यै हानि हुन सक्दैन; हानि त मानव समाजलाई भइरहेको छ । लोकधर्मका नाममा थोपरिएका यस्ता निस्सार कर्मकाण्डका कारण आजको युवा पुस्ता र आधुनिक समाज धर्मको नामै सुन्न नचाहने अवस्थामा पुगेको छ । त्यसैले, अहंलाई आत्मामा प्रतिष्ठित गरेर व्यक्ति र समाजलाई पुनः सत्यको बाटोमा डो¥याउन नै अध्यात्मको अवधारणा अघि सारिएको हो ।
जब मानिस अहं हटाएर मुक्त हुन्छ, तब उसको आँखाको दृष्टि सफा र पवित्र बन्छ । उसको बोलीवचन, काम, व्यवहार र आपसी सम्बन्धहरू सुमधुर हुन थाल्छन् । फलस्वरूप, घर–परिवार र सिंगो संसार नै सुन्दर देखिन्छ । व्यक्तिमा अहं रहेन भने उसको शरीर ‘मन्दिर’ र आत्मा ‘ईश्वर’ बन्छ । यसको विपरीत, यदि व्यक्तिमा अहं भरिएको छ भने ऊ पापी बन्छ र उसको शरीर एवं घर नर्कतुल्य हुन पुग्छ ।
जीवनलाई सफल र सार्थक बनाउन अहंको अन्त्य हुन जरुरी छ । कुनै पनि स्थुल (देखिने÷भौतिक) कुरालाई हटाउने वा नियन्त्रण गर्ने शक्ति त्योभन्दा सूक्ष्म (नदेखिने÷आन्तरिक) कुरामा हुन्छ, किनभने स्थुलभन्दा सूक्ष्म कुरा सधैँ बढी शक्तिशाली हुन्छ ।
उदाहरणका लागि, हाम्रो शरीर स्थुल छ, तर शरीरभन्दा सूक्ष्म रहेको ‘मन’ बढी शक्तिशाली छ, किनकि मनकै विचार र निर्णयले शरीरलाई चलाउँछ । शरीर आफैँ मनसम्म पुग्न सक्दैन, त्यसलाई चलाउने त परको कुरा हो । त्यसैगरी, मनलाई मनभन्दा पनि सूक्ष्म रहेको ‘आत्मा’ ले संयमित बनाउन सक्छ । आत्मा स्वयंमा अकर्ता (केही नगर्ने साक्षी) हो, तर जब मन आत्माको सामीप्यमा पुग्छ, तब त्यो स्वतःस्फूर्त रूपमा शान्त र संयमित हुन पुग्छ ।
गणेशले आफ्ना मातापिता (शिव–पार्वती) को परिक्रमा गरेर देवताहरूमा सर्वश्रेष्ठ स्थान पाएको पौराणिक कथा हामी सबैले सुनेका छौँ । प्रतीकात्मक रूपमा गणेशको ठुलो कानले चेतनाको प्रतिनिधित्व गर्छ भने शिवजी साक्षात् आत्मा हुन् । यही चेतनाको अनन्तता नै आत्मा हो ।
यो पौराणिक कथाले एउटा ठुलो सन्देश दिएको छः कुनै पनि कर्म गर्नका लागि सही ज्ञानको आवश्यकता पर्छ । कर्म कसका लागि, किन र कसरी गर्ने भन्ने स्पष्ट ज्ञान आर्जन गरेर गरिएको कर्म मात्र परिणाममुखी र सार्थक हुन्छ । कर्मकै कुरा गर्ने हो भने, गणेशका भाइ कुमारले उनीभन्दा बढी दौडधुप र भौतिक कर्म गरेका थिए, तैपनि उनी सर्वश्रेष्ठ हुन सकेनन् ।
वास्तवमा कर्म त प्रकृतिले आफ्नो नियमअनुसार स्वतः गरिरहेकै हुन्छ । तर, हामीभित्रको झुटो अहं बीचमा टप्किएर ‘यो मैले गरेको हुँ र यसको फल मलाई चाहिन्छ’ भन्दै कर्ता र भोक्ता बन्ने दाबी मात्र गर्छ । मुख्य कुरा चेतना हो । चेतनाले बुझ्दछ कि ‘सबै कर्म त प्रकृतिद्वारा सम्पादन भइरहेका छन्, म त केवल ती कर्मलाई थाहा पाउने साक्षी मात्र हुँ ।’ यही भावका साथ चेतनाले निष्काम कर्म गर्छ ।
मूलतः पौराणिक कथाहरू गहिरो दर्शनमा आधारित हुन्छन् । दर्शनलाई सर्वसाधारणले बुझ्ने गरी रोचक शैलीमा प्रस्तुत गर्न मात्र काल्पनिक पात्रहरूको सहारा लिइएको हुन्छ । दर्शनबिनाको कल्पना केवल ‘कहानी’ मात्र हुन्छ, त्यो ‘कथा’ बन्न सक्दैन । महाभारतको कथाले हामीलाई कर्मयोगको महान् सन्देश दिएको छ । महाभारत युद्धमा कौरव र पाण्डवका तर्फबाट लाखौँको विशाल सेना मैदानमा उत्रिएको देखिए तापनि, त्यो असली युद्ध वास्तवमा अर्जुन र कृष्णबीचको संवाद थियो, अर्थात मन र आत्माबीचको आन्तरिक लडाइँ थियो । त्यस युद्धमा अन्ततः सत्यकै जित भयो । महाभारतले धर्मको अन्तिम लक्ष्य पनि ‘सत्यको स्थापना’ नै हो भन्ने सन्देश दिन्छ ।
यदि महाभारतका पात्र र प्रतीकहरूलाई दार्शनिक रूपमा हेर्ने हो भने, घोडाहरूः हाम्रा इन्द्रियहरू हुन् । रथः हाम्रो शरीर हो । अर्जुनः अहं अर्थात् हाम्रो ‘मन’ हो । सारथी (कृष्ण)ः हाम्रो ‘आत्मा’ हो । धृतराष्ट्रः मोहको प्रतीक हुन् । दुर्योधनः राग र द्वेषको प्रतीक हो । द्यूतक्रीडा (पासा खेल)ः मायाको जाल हो । महाभारत युद्धः अशुद्ध अहंको प्रतिविम्ब हो । महाभारतको कथाले प्रष्ट पारेको छ कि, यदि कोही अधर्मको पक्षमा उभिन्छ भने उसलाई द्रोणाचार्यको युद्ध–कौशलता, शूरवीर कर्णको दानवीरता र भीष्म पितामहको इच्छा–मृत्युको कवचले पनि जोगाउन सक्दैन ।
यसले दिन खोजेको मूल सन्देश के हो भने, सबै कुरा गर्ने र गराउने ‘मन’ नै हो । मनको केन्द्रमा अहं बसेको हुन्छ । त्यसैले, अहंलाई हटाएर निष्काम कर्म गर्नका लागि आफ्नो मनलाई आत्मामा प्रतिष्ठित गराउनु पर्छ; अनि मात्र जीवन आनन्दित बन्छ । यदि मन प्रकृति अर्थात् भौतिक जीव र जगत्मा मात्र रुमल्लिरह्यो भने जीवन बर्बाद हुन्छ भनी यसले हामीलाई सचेत गराएको छ ।
प्रतिक्रिया