झलनाथ खनालले संयोजक प्रचण्डलाई सम्बोधन गरेर ३६ बुँदे असन्तुष्टि व्यक्त गरेपछि नेपाली कम्युनिस्ट पार्टीको आन्तरिक कलह छताछुल्ल भएको छ । नेता खनालले पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई नेतृत्व छाड्नुपर्ने भन्दै मौदुजा केन्द्रीय कमिटीले पार्टीलाई एकता महाधिवेशनसम्म लैजान नसक्नेसम्मको ठोकुवा गरेका छन् ।

२०८२ का ित्तक १९ गते काठमाडौँको भृकुटीमण्डपमा तारा अंकित झन्डा बोकका हजारौँ नेता कार्यकर्ताहरूको उपस्थितिमा नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो । तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका विभिन्न कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको थियो । उक्त दिन प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक घोषणा गरिएको थियो ।
पार्टी एकता भएको ८ महिना पुग्न थालिसकेको छ । पार्टी एकताको ६ महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको थियो । तर, एकता महाधिवेशनको के कुरा, ८ महिनासम्मको अवधिमा पनि मृत अवस्थामा रहेका पार्टीका भ्रातृ संगठनहरूले पूर्ववत कमिटीकै हैसियतामा आफ्ना सामान्य गतिविधि गरिरहेको अवस्था छ । पार्टी एकताको ८ महिनासम्म हजारौँ नेता कार्यकर्ताहरूलाई जिम्मेवारीविहीन बनाएर प्रचण्ड–माधव नेपालले के–के गरे, भनिरहनु परेन । यता नेपाली कम्युनिस्ट आन्दोलनको क्षयीकरण सीमाहीन छ । शीर्ष नेतृत्वको पदलोलुपता, नातावाद, कृपावाद, पक्षपात, गुटवादको कुरा गरी साध्य छैन । खैर, यस स्तम्भमा नेपाली कम्युनिस्ट पार्टीका बारेमा चर्चा गरिने छ ।
झलनाथको असन्तुष्टि
सद्भाव राखेको दल वा नेतृत्वको सफेद झुटलाई लुकाउन खोज्नु भौतिकवाद विरोधी कुरा हो । सत्यलाई सत्य र असत्यलाई असत्य भन्न सक्ने समाज, संगठन र व्यक्ति असली माक्र्सवादी हुन्छ । तसर्थः आजका दिनमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीको कन्तबेजोक हेरिसक्नु छैन । रोेचक कुरा, २ दर्जनभन्दा धेरै घटकहरूको गठजोडमा बनेको यो पार्टीको चर्चा गर्ने, प्रचार गर्ने, नीति र नेतृत्वको बारेमा बहस गर्ने, रक्षा गर्नेको संख्या २ दर्जन छैन । पार्टीको नीति र नेतृत्वको रक्षा गर्ने कठोर, प्रतिवद्ध, कटिवद्ध, इमानदार, लगनशील कार्यकर्ताहरूले समेत निष्कृय छन् । कतिपयले त पार्टी परित्याग पनि गरिरहेका छन् । जसले पार्टीमा बसेर कुनै अवसर, उपयुक्त जिम्मेवारी र संरक्षण पाउँदैनन्, त्यस्ता मान्छेहरू पार्टीमा बसिरहन सक्दैनन् । आज एमाले, कांग्रेसको पनि जिउँदो हविगत यही हो । पुराना भनिएका कांग्रेस कम्युनिस्ट पार्टीहरू खिइँदै जानुको कारण यो पनि हो ।
यसअघि तल्लो तहका नेता कार्यकर्ताहरूले पार्टीका गतिविधि र कार्यविभाजनमा भएको सुस्ततालाई लिएर केही असुन्तुष्टि पोखेको पाइन्थ्यो । तर, २०८३ असार ३ गते पार्टीका शीर्ष नेता झलनाथ खनालले संयोजक प्रचण्डलाई सम्बोधन गरेर ३६ बुँदे असन्तुष्टि व्यक्त गरेपछि उक्त पार्टीको आन्तरिक कलह सहतमा छताछुल्ल बनेको छ । नेता खनालले पार्टी संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाललाई नेतृत्व छोड्नुपर्ने भन्दै मौदुजा केन्द्रीय कमिटीले पार्टीलाई एकता महाधिवेशनसम्म लैजान नसक्नेसम्मको ठोकुवा गरेका छन् । प्रचण्डले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको मात्र होइन, पार्टीको अन्तरिम विधानलाई सारसंग्रहवादी (खिचडी) विधानको संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन नसक्ने दाबी गरेका छन् । खनालकाअनुसार अन्तरिम विधानमा जनताको बहुदलीय जनवाद, प्रजातान्त्रिक समाजवाद, वर्तमान संविधानवाद तथा संसदीय पुँजीवादी लोकतन्त्रका तŒवहरू मिसिएका छन् । पार्टीको नेतृत्वदेखि विधानसम्मका विषयको सन्दर्भमा नेता खनालले समग्रतामा आफ्नो धारणा पत्रमार्फत सार्वजनिक गरेर कयन प्रश्न उठाएका छन् ।
माधव—प्रचण्डको सान्दर्भिकता
अब प्रश्न उठ्छ, नेपाली राजनीतिमा माधव–प्रचण्डको औचित्य र सान्दर्भिकता सकिएको हो ? माथि नेता खनालको आरोप र आग्रहलाई मिहीन ढंगले अध्ययन गर्ने हो भने यस सवालको सरल जबाफ पाउन सकिन्छ । विगत ३८÷४० वर्षदेखि प्रचण्ड अध्यक्ष पदमा विराजमान छन् । माधव नेपालको हकमा केही फरक भए पनि पार्टीको केन्द्रभाग बसेर नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् । कुनै पनि व्यक्तिको मूल्यांकन सारमा गर्नु अन्याय हुन्छ । समग्रता र तुलनात्मक विधिको तराजुमा राखेर दाज्नुपर्छ । वर्तमान व्यवस्था र अवस्थाको निम्ति शीर्ष नेताहरू प्रचण्ड, माधवको मात्रै होइन, स्वयं खनालले पनि आफ्नो बेलामा मुलुक र कम्युनिस्ट आन्दोलनका निम्ति ठुलो योगदान दिएका छन् ।
इतिहास र राजनीतिशास्त्रका विद्यार्थीहरूलाई माधव, प्रचण्ड, झलनाथका बारेमा अझ धेरै थाहा छ, राम्रो जानकारी छ । प्रचण्ड, माधवहरूले मुलुकलाई ‘प्याराडाइम सिफ्ट’ नै गरेका हुन् । करिब २४० वर्षदेखि जरा गाढेर बसेको नश्लवादी राज्य सत्तालाई ढाल्दै प्रजालाई नेपाली नागरिक बनाउने काम प्रचण्डको नेतृत्वबाट भएकै हो । शान्तिप्रक्रिया र त्यसपछिको संविधान लेखन जस्तो जटिल काममा माधव–झलनाथ जस्ता नेताहरूको भूमिका सामान्य थिएन ।
तर, वर्तमान अवस्थामा यी शीर्ष नेताहरूको कार्यसम्पादन, कुशलता, प्रभावकारिता, औचित्यतता र सान्दर्भिकतामाथि तमाम प्रश्न उठिसकेको कुरा घाम जस्तै छ । हामीलाई शीर्ष नेताहरूले राजनीति उमेर (एज) ले होइन, मुद्दा (एजेन्डा) ले गर्ने विषय हो भनेर सिकाएका हुन् । लामो समयसम्म हामीले पनि सोही स्कुलिङको अनुशरण गरेको पनि हो । तर, विगत एक दशक यता उक्त स्कुलङमाथि पुनर्विचार गर्नुपर्छ भन्ने ठाउँमा पुगेर अबको राजनीति एज र एजेन्डा दुबै बोक्न सक्ने नेता हुनुपर्छ भन्दै आएका छौँ ।
विश्वका शक्तिशाली देशका राष्ट्रपति, प्रधानमन्त्रीहरू पाको उमेरका छन्, भनेर उम्किन मिल्ने मौका पनि छ । रसिया, चीन, अमेरिका, भारत जस्ता शक्तिशाली देशका प्रमुखहरूको उदाहरण दिन पनि सकिएला । तर, यो उदाहरण सारमा मिल्छ, समग्रतामा मिल्दैन । माक्र्सवादीहरू समग्रतामा विश्वास गर्ने भएकाले स्वयं प्रचण्डहरूले पनि नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणका सन्दर्भलाई लिएर अन्य देशका नेताहरूसँग आफूलाई तुलना गर्नु व्यावहारिक र वैज्ञानिक दुबै हुँदैन ।
भनिन्छ, समय, परिस्थति र सान्दर्भिकता बुझेका नेताहरू सहनशील, धैर्य र सहिष्णु हुन्छन् । जसले समय, परिस्थिति र आफ्नो सान्दर्भिकता बुझ्दैनन्, त्यस्ता नेताहरू क्रियात्मक हुन्छन् । त्यस्ता नेताहरू छोटो, छिटो प्रतिक्रिया दिनमा खुसी हुन्छन् । खासमा असान्दर्भिक, उट्पट्याङ र हल्का कुरामा रमाउने खालका हुन्छन् । हिजोका दिनमा यस्ता प्रवृत्ति केपी शर्मा ओलीमा देखिन्थे भने आज बालेन साहमा देखिरहेका छन् । मूल नेतृत्वका यस्ता अल्लारे क्रियाकलाप समर्थकहरूका निम्ति मसाला बन्छन् । विपक्षीलाई शब्दले सराप्ने, भित्तामा पु¥याउने, आफूमाथि उठेका प्रश्नदेखि भाग्ने, विषयान्तर गर्न अनेक जुक्ति निकाल्ने खालका नेताहरू हाम्रो बीचमा थिए/छन् ।
कुरा प्रचण्ड–माधव, झलनाथ, वामदेवहरूकै हो । नढाँटी भन्दा, उनीहरूसँग न उमेर छ, न त एजेन्डा । एउटा चिज छ, त्यो चिज हो, विपक्षी, विरोधी र आलोचना गर्नेलाई पार्टीबाट निस्किन बाध्य पार्ने काइदा । आफूले मात्रै होइन, आफ्नो गुटका नेता कार्यकर्ताहरूलाई प्रयोग र परिचालन गरेरै भए पनि आफ्नाविरुद्ध बोल्ने, आलोचना गर्ने, प्रश्न गर्ने नेता कार्यकर्तामाथि अरिंगाल बनेर जाइ लाग्न निर्देशन दिन्छन् । प्रसंशाभन्दा आलोचना सयौँ गुणा ठिक हुन्छ भन्ने कुरा हाम्रा शीर्ष नेताहरूलाई थाहा नभएको पनि होइन । यिनीहरूको सचिवालयले गुटको राजनीति गर्ने र कमाउ धन्दा चलाउने, नेतृत्वले आफ्नो टाउकोले काम नगर्ने, गलत रिपोर्टको विश्वास गर्ने काम भए । यसले गर्दा आर्थिक, सांस्कृतिक र राजनीतिक कोणबाट कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू बेदाग रहन सकेनन् ।
यति हुँदाहुँदै पनि माधव–प्रचण्डहरूले मुलुकको निम्ति धेरै काम गरेका छन् । गृहयुद्धमा फसेको देशलाई शान्ति दिए । मुलुकलाई गणतन्त्र दिए, संविधान दिए । विकासको ढोका पनि खोलिदिएका छन् । साथसाथै व्यक्तिवाद, नातावाद, पक्षपात, भ्रष्टचार, लापरबाही जस्ता नकारात्मक कुराहरू हुँदा उनीहरूमाथि वर्तमान समयले सम्मान गर्न आनाकानी गरिरहेको कुरा भुल्नु हुँदैन ।
प्रचण्डहरूले गर्न बाँकी भनेको त्यही नेतृत्व÷उत्तराधिकारी तोक्न हो । एमाले, जनमोर्चालगायत अन्य घटकहरूका प्रमुख नेताहरूको हकमा पनि यही कुरा लागू हुन्छ । जेनजी विद्रोहलाई सम्मान गरेको र त्यसपछि २०८२ फागुनमा सम्पन्न निर्वाचनमा मनशान्ति गर्नेसम्मको परिणाम आएको हिसाबले नेपाली कम्युनिस्ट आन्दोलनको बलियो र प्रमुख घटक बन्ने सम्भावना नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग छ । त्यसका निम्ति पार्टीको रूपान्तरण पुननिर्माण गर्न जरूरी छ ।
नेतृत्वमा नयाँ अनुहार र सम्भावना भएका नेताहरू आउन अपरिहार्य छ । विगतमा भए÷गरेका गल्ती, कमजोरी, सफलता, असफलतामाथि आलोचना÷आत्मालोचना गरेर गम्भीर समीक्षा गर्न आवश्यक छ । जेनजी विद्रोहपछि तल्काल गर्नुपर्ने यी कार्यहरू हालसम्म पनि नहुनु दुःखद् मात्रै होइन, भत्सर्ना गर्न लायक छन् । भदौ २३ र २४ को कहालीलाग्दो भागाभाग, खरानी बन्नुपरेको अवस्थापछि पनि शीर्ष नेताहरू नेतृत्व हस्तान्तरण गर्ने मनसायमा नदेखिनु झन् दुःखद् छ ।
पार्टी त्यो हो, जसले समय, परिस्थिति, औचित्य र सान्दर्भिकताअनुसार नीति र नेतृत्व बदलिरहेको हुन्छ । बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजा, सुशील, शेरबहादुर देउवाबिना कांग्रेस चल्यो । मनमोहन, मदन भण्डारी, माधव, झलनाथबिना एमाले जीवित छ । यता माओवादी पृष्ठभूमिको वर्तमान नेपाली कम्युनिस्ट पार्टी प्रचण्डबिना चल्न सक्छ कि सक्दैन ? यो वर्तमान समयको जटिल प्रश्न हो । प्रचण्डबिना पार्टी मात्रै होइन, वर्तमान व्यवस्थासमेत चल्दैन भन्नेहरू पनि छन् । यस्तो एकांकी र परनिर्भर मनोविज्ञानले व्यवस्थाको के कुरा, पार्टी पनि बाँच्दैन भन्ने कुरा त्यस्ता भुत्तेचेत भएका नेता कार्यकर्तालाई कसले भनिदिने ? यस्ता खालका नेता कार्यकर्ताहरूले अरू केही गर्न सक्दैनन्, प्रचण्ड, माधव, झलनाथ खनालहरूलाई मोहन विक्रम, सिपी, मोहन वैद्य, नारायणमान विजुक्छे ‘रोहित’ बनाउन भने मज्जाले सक्छन् ।
पासोकिफिकेसनको बाटोमा
जबजब नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्ने गर्छ, त्यो समयमा ग्रिसको पासोकिफिकेस, भारत बंगालको स्मरण गर्ने गरिन्छ । विश्वका कम्युनिस्टहरूमा विचार, सिद्धान्त मात्रै होइन, एक प्रकारको रोग पनि समान छ, पार्टी सत्ता र राज्य सत्तामा पुगेपछि नमरूञ्जेल जिम्मेवारी नछोड्ने रोग । स–साना विमतिमा पार्टी विभाजन गर्ने रोग । आत्मकेन्द्रित बन्ने रोग । फासिजमको बाटोमा हिँड्न रुचाउने रोग । माक्र्सवाद जस्तो सामाजिक न्यायको पक्षपाती विचारधारा बोकेर हिँडेका नेताहरू सत्तामा पुगेपछि किन यति स्वार्थी र पदलोलुप बन्छन् ? यो सवाल पनि उत्तिकै जिज्ञासापूर्ण छ ।
राजनीतिशास्त्रमा पासोकिफिकेसनले लामो समयसम्म सत्तामा रहेको शक्तिको क्षयीकरण, भारी गिरावटलाई जनाउँछ । ग्रिसको पासोकले सन् २००९ मा ४४ प्रतिशत भोट पाएको थियो । सन् २०१५ को निर्वाचनमा जम्मा ४.७ प्रतिशत मात्रै भोट पायो । सोही सन्दर्भलाई स्मरण गर्दै नेपालको कुरा गर्ने हो भने नेपाली कम्युनिस्टहरूले २०८२ अघि भाग लिएका हरेक निर्वाचनमा आशातित जनमत प्राप्त गर्दै आएका थिए । २०६४ र २०७४ सालमा त ६० प्रतिशत जनमत प्राप्त गरेका थिए । तर, २०८२ सालमा जम्मा १५.२७ प्रतिशतमा खुम्चिन पुगेका छन् ।
यो परिणाम आकस्मिक र आश्चार्यजनक लागे पनि नेपाली कम्युनिस्ट नेतादेखि सामान्य कार्यकर्तासम्मको पंक्ति अत्यन्तै स्वार्थी, दम्भी, घमण्डी, नातावादी, पक्षपाती, दुराचारी, अवसरवादी बनिसकेको अवस्थाको परिणाम थियो । सोही कारण जनता कम्युनिस्टहरूका नारा र पाराबीचको तादात्म्यता खोजिरहेका थिए ।
विचारअनुसारको व्यवहार भेटिन छाडेपछि जनताले कम्युनिस्टहरूलाई पाखा लगाउन खोजेको प्रतीत हुन्छ ।
राजनीतिक इतिहासले प्रत्यक्षतर्फ दलको जनमत १५–२० प्रतिशतभन्दा तल झ¥यो भने त्यस्तो दलको पुनारागमन करिब असम्भव नै हुन्छ भन्ने देखाउँछ । चुनाव जित्ने सम्भावना नदेखेपछि मतदाताहरूको मनोविज्ञान परिवर्तन हुँदै जान्छ । हार्ने दलको उम्मेदवारलाई मत दिएर भोट किन खेर फाल्ने भन्ने मनोविज्ञानले काम गर्न थाल्छ । यस्तो अवस्थामा आन्तरिक उल्झनमा समेत फस्दै गएका नेकपा र एमालेको पुनरागमन हेर्न लायक हुनेछ ।
प्रतिक्रिया