हामी प्रायः अरूको सफलतामा डाहा र ईष्र्या गर्ने आत्मघाती प्रवृत्तिका सिकार बन्ने गर्छौं । छिमेकीको उन्नति हुँदा, साथीभाइले प्रगति गर्दा वा कोही समाजमा प्रतिष्ठित हुँदा हाम्रो मन भित्रभित्रै जल्न थाल्छ । यो ईष्र्याको आगोले हाम्रो आफ्नै मानसिक सुख र शान्तिलाई भष्म पारिदिन्छ ।

बाह्य जगतमा खोजिने क्षणिक मनोरञ्जन र अन्तस्करणमा घटित हुने शाश्वत आनन्दबीचको भेदलाई केलाउनु नै मानव चेतनाको सबैभन्दा सुन्दर पक्ष हो । यस सन्दर्भमा, सामान्यतया हामी ‘रमाइलो’ भन्ने बित्तिकै कुनै उत्सव, भोजभतेर, वनभोज, बजारको चहलपहल वा प्राकृतिक सुन्दरताले भरिपूर्ण पार्क वा वन–जंगलको भ्रमणलाई बुझ्ने गर्छौं । ‘अस्ति भोजमा खुब रमाइलो भयो’, ‘हिजो पिकनिकमा रमाइलो भयो’, ‘आज गोदावरीमा खुब रमाइलो भयो’ जस्ता अभिव्यक्तिहरू हाम्रा दैनिक संवादमा प्रायः सुनिइरहन्छन् ।
यी अभिव्यक्तिहरूले व्यक्तिले बाह्य वस्तु, परिस्थिति वा वातावरणबाट प्राप्त गरेको तात्कालिक सुखलाई संकेत गर्छन् । तर, गहिरिएर विचार गर्ने हो भने के यो बाह्य र क्षणिक सन्तुष्टि नै वास्तविक रमाइलो हो त ? पूर्वीय दर्शन र आध्यात्मिक चेतनाको कसीमा घोटेर हेर्दा, भौतिक वस्तु र बाह्य परिस्थितिबाट प्राप्त हुने रमाइलो केवल इन्द्रियहरूको भ्रम वा क्षणिक उत्तेजना मात्र हो । वास्तविक रमाइलो त उपभोगमा होइन, त्यागमा छ, आफूले मात्र लिने स्वार्थमा होइन, अरूलाई खुसी दिन सक्ने निःस्वार्थतामा छ । जबसम्म मानव मनले रमाइलोलाई केवल आफ्नो व्यक्तिगत उपभोग र इन्द्रिय तृप्तिको माध्यम मात्र बनाइरहन्छ, तबसम्म त्यो साँचो अर्थमा आनन्दित हुन सक्दैन । साँचो रमाइलो त कसैको आँसु पुछ्न सक्दा, कसैको समस्यामा सारथी बन्न सक्दा र अरूको सफलतामा हृदयदेखि नै हर्षित हुन सक्दा प्रकट हुने दिव्य अनुभूति हो ।
हाम्रो समाजमा रमाइलोलाई प्रायः ढोंग, तडकभडक र भौतिक वस्तुको संग्रहसँग जोडेर हेर्ने गरिन्छ । मानिसहरू ठुला–ठुला भोजभतेरमा जान्छन्, महँगा कपडा र गहना प्रदर्शन गर्छन्, थरीथरीका स्वादिष्ट परिकारहरू उपभोग गर्छन् र भन्छन् – ‘आज निकै रमाइलो भयो ।’ तर, त्यो भोज सकिएर घर फर्कंदै गर्दा वा भोलिपल्ट बिहान ब्युँझँदा मनमा फेरि त्यही रिक्तता, त्यही नैराश्य र त्यही चिन्ताले डेरा जमाइसकेको हुन्छ । किनभने, त्यो रमाइलो बाह्य परिस्थितिको बैशाखीमा टिकेको थियो । परिस्थिति बदलिने बित्तिकै रमाइलो पनि हराएर जान्छ । बजारको भिडभाडमा रमाउने मन एकान्तमा आउनासाथ अत्तालिन थाल्छ ।
गोदावरीको हरियालीमा रमाउने आँखाहरू कंक्रिटको जंगलमा आइपुग्दा खिन्न बन्छन् । यसको अर्थ यो हो कि हामीले रमाइलोलाई आफ्नो अधीनमा राख्न सकेका छैनौँ, बरु हामी आफैँ बाह्य वस्तु र परिस्थितिका दास बनेका छौँ । आध्यात्मिक चेतनाले हामीलाई यही दासताबाट मुक्त हुन सिकाउँछ । अध्यात्म भन्छ – बाहिर खोजिएको रमाइलो ‘सुख’ मात्र हो, जसको विपरीत ध्रुवमा ‘दुःख’ लुकेको हुन्छ तर, भित्र अनुभूत गरिने रमाइलो ‘आनन्द’ हो, जो निरपेक्ष र स्थायी हुन्छ । उपभोगवादमा आधारित रमाइलोले मानिसलाई थप लोभी, ईष्र्यालु र स्वार्थी बनाउँछ, किनभने त्यहाँ ‘मैले कति पाएँ’ वा ‘मैले कति उपभोग गरेँ’ भन्ने अहंकार प्रबल हुन्छ ।
यसको विपरीत, जब रमाइलोको परिभाषा उपभोगबाट रूपान्तरित भएर ‘योगदान’ र ‘परोपकार’ मा पुग्दछ, तब मात्र मानव जीवनको वास्तविक सार्थकता सुरु हुन्छ । वास्तवमा रमाइलो आफूले उपभोग गर्नमा होइन, अरूलाई रमाइलो अनुभव गराउनमा हुनुपर्ने हो । कसैलाई निःस्वार्थ भावले सहयोग गर्दा मनमा जुन एउटा गहिरो सन्तोष पैदा हुन्छ, त्यो संसारका कुनै पनि महँगा भोज वा वनभोजबाट प्राप्त हुन सक्दैन । बाटो काट्न गाह्रो भइरहेका एक वृद्धलाई हात समातेर बाटो काटिदिँदा, भोकले आकुलव्याकुल भएको कुनै असहायलाई आफ्नो भागको भोजन गराउँदा वा जीवनको गति रोकिने अवस्थामा पुगेका कसैको समस्या समाधान गरिदिन सक्दा हृदयमा जुन शून्यता र शान्तिको सम्मिश्रण पैदा हुन्छ, त्यही नै वास्तविक रमाइलो हो । पतञ्जलीको योगसूत्र वा बुद्धको धम्मले पनि चित्तको प्रसन्नता र महाकरुणाको कुरा गर्छन् । अरूको दुःख देखेर मनमा करुणा जाग्नु र त्यो दुःख निवारणका लागि निःस्वार्थ कदम चाल्नु नै आध्यात्मिक मार्गको पहिलो खुड्किलो हो । जब हामी अरूको ओठमा मुस्कान ल्याउन सक्छौँ, तब हाम्रो आफ्नै आत्मा प्रकाशमय बन्दछ । अरूलाई खुसी दिएर पाइने रमाइलो कहिल्यै पुरानो हुँदैन र यसलाई कसैले खोसेर लैजान पनि सक्दैन ।
रमाइलोको यो विराट यात्रामा परोपकार जत्तिकै अगाध र स्थायी स्रोत ‘ज्ञानको साधना’ पनि हो । भौतिक वस्तु र भावनाभन्दा माथि उठेर जब चेतनाले सत्य र विवेकको संसर्ग पाउँछ, तब ज्ञानबाट प्राप्त हुने रमाइलो अनुभूत हुन्छ । अज्ञानताको अन्धकारमा रुमल्लिएको मन सधैँ भयभीत र शंकालु हुन्छ, तर नयाँ कुरा सिक्दा, जीवन र जगत्का रहस्यहरू बुझ्दा र सद्ग्रन्थहरूको सान्निध्यमा रहँदा मस्तिष्कमा जुन एउटा नयाँ प्रकाश छरिन्छ, त्यो आनन्द अवर्णनीय हुन्छ । एउटा राम्रो पुस्तक पढ्दा, चिन्तनमनन गर्दा वा आत्मिक विमर्शमा डुब्दा समय बितेको पत्तै हुँदैन । विद्वानहरू भन्छन्, संसारी मानिस विलासितामा रमाउँछन्, तर साधक वा जिज्ञासु ज्ञानको खोजीमा रमाउँछन् ।
ज्ञानले मानिसलाई पूर्वाग्रह र भ्रमहरूबाट मुक्त गराउँछ । जब मनभित्र विवेकको उदय हुन्छ, तब बाहिरी संसारका थुप्रै निरर्थक अलमलहरू स्वतः हटेर जान्छन् । कसैलाई नयाँ कुरा सिकाउन पाउनु, ज्ञानको ज्योति छर्नु र चेतनाको ढोका उघारिदिनु जत्तिको पवित्र र दिगो रमाइलो अर्को केही हुन सक्दैन । यो ज्ञानको रमाइलो यस्तो अक्षय भण्डार हो, जसलाई न त चोरले चोर्न सक्छ, न त उमेर ढल्किँदै जाँदैमा यो फिका नै भएर जान्छ ।
अर्को महत्वपूर्ण कुरा, हामी प्रायः अरूको सफलतामा डाहा र ईष्र्या गर्ने आत्मघाती प्रवृत्तिका सिकार बन्ने गर्छौं । छिमेकीको उन्नति हुँदा, साथीभाइले प्रगति गर्दा वा कोही समाजमा प्रतिष्ठित हुँदा हाम्रो मन भित्रभित्रै जल्न थाल्छ । यो ईष्र्याको आगोले हाम्रो आफ्नै मानसिक सुख र शान्तिलाई भष्म पारिदिन्छ । तर, आध्यात्मिक दृष्टिले हेर्ने हो भने, यो सम्पूर्ण ब्रह्माण्ड एउटै चेतनाको विस्तार हो । हामी सबै एकापसमा जोडिएका छौँ । जब हामी यो एकात्मभावलाई बुझ्छौँ, तब कसैको सफलतामा आफू पनि उत्तिकै खुसी हुन सक्छौँ । कसैको उन्नतिमा, कसैको प्रगतिमा र कसैको खुसीमा सहभागी भएर मुस्कुराउन सक्नु अहंकार शून्य भएको प्रमाण हो । अरूको सफलतामा रमाउन सक्ने मन निकै विशाल र पवित्र हुन्छ । त्यस्तो पवित्र मनमा नै ईश्वरको बास हुन्छ । अरू खुसी हुँदा आफू पनि खुसी हुन सक्ने कला नै संसारको सबैभन्दा ठुलो योग हो । यसले व्यक्तिलाई संकुचित ‘म’ र ‘मेरो’ को घेराबाट माथि उठाएर ‘हामी’ र ‘हाम्रो’ भन्ने व्यापक चेतनामा पु¥याउँछ, जहाँ रमाइलोको दायरा अनन्त बन्न पुग्छ ।
प्रकृतिको स्वभावलाई नियाल्ने हो भने पनि हामी निःस्वार्थताको जीवन्त पाठ सिक्न सक्छौँ । जंगल रमाइलो छ, खोला रमाइलो छ, नदी रमाइलो छ, घाम रमाइलो छ, पानी रमाइलो छ, हावा रमाइलो छ । प्रकृतिमा सर्वत्र रमाइलो व्याप्त छ, किनभने प्रकृति पूर्ण रूपमा निःस्वार्थ छ । जंगलले कहिल्यै आफ्ना रुखहरू आफैँ उपभोग गर्दैन, उसले त सारा जीवजगतलाई आश्रय र अक्सिजन दिन्छ । खोला र नदी निरन्तर बगिरहन्छन्, तर तिनीहरूले आफ्नो पानी आफैँ पिउँदैनन्, बरु तृषित धर्ती र प्राणीहरूको प्यास मेटाउँछन् । घामले बिनाकुनै भेदभाव संसारलाई प्रकाश र ऊर्जा दिइरहन्छ ।
पानीले सबैलाई शीतलता प्रदान गर्छ र हावाले निरन्तर जीवन सञ्चार गराइरहन्छ । प्रकृतिले कहिल्यै कसैसँग बदलामा केही माग्दैन । उसले केवल दिइरहन्छ, दिइरहन्छ । प्रकृतिको यो निरन्तर दिने स्वभाव र निःस्वार्थताका कारण नै उनी सधैँ सुन्दर, जीवन्त र रमाइलो छिन् । हामी जब गोदावरी वा कुनै प्राकृतिक स्थलमा गएर रमाइलो अनुभूत गर्छौं, वास्तवमा हामी प्रकृतिको त्यही निःस्वार्थ ऊर्जासँग जोडिन पुगेका हुन्छौँ । तर विडम्बना, हामी प्रकृतिबाट निःस्वार्थता सिक्नुको साटो त्यहाँ पनि आफ्नो स्वार्थ र उपभोगको फोहोर छोडेर फर्कन्छौँ । प्रकृति जस्तै निःस्वार्थ बन्न सक्ने हो भने मानिसको जीवन पनि सधैँ उत्तिकै रमाइलो र ऊर्जावान् बन्न सक्छ ।
त्यसैले, वास्तविक रमाइलो कुनै स्थान, वस्तु वा घटना विशेषमा हुँदैन, यो त हाम्रो चेतनाको अवस्था र दृष्टिकोणमा भर पर्ने कुरा हो । जबसम्म हाम्रो चेतना स्वार्थको साँघुरो घेराभित्र थुनिएको हुन्छ, तबसम्म हामीले बाहिर खोज्ने हरेक रमाइलो मृगमरीचिका जस्तै सावित हुनेछ । तिर्खाएको मृग पानीको खोजीमा मरुभूमिमा दौडिए जस्तै आधुनिक मानिस पनि क्षणिक सुखको खोजीमा एउटा रेस्टुरेन्टबाट अर्को रेस्टुरेन्ट, एउटा पार्टीबाट अर्को पार्टी र एउटा पर्यटकीय स्थलबाट अर्को स्थलमा भौँतारिइरहेको छ । तर, उसले यो बुझ्न सकेको छैन कि सुखको स्रोत बाहिर होइन, भित्र छ । र, त्यो भित्री स्रोतलाई खोल्ने एउटै मात्र साँचो हो, निःस्वार्थता । जब जीवनबाट ‘म’ र ‘मेरो’ भन्ने अहंकार हट्छ र ‘सर्वजन हिताय, सर्वजन सुखाय’ को उदात्त भावना जागृत हुन्छ, तब जीवनको प्रत्येक क्षण उत्सव बन्न पुग्छ । त्यस्तो अवस्थामा वनजंगल, खोलानाला, घाम, पानी जस्तै हाम्रो मन पनि स्वतः स्वच्छ र रमाइलो बन्न पुग्छ ।
अन्ततः रमाइलोको वास्तविक स्वरूपलाई आत्मसात् गर्नु नै आध्यात्मिक रूपान्तरण हो । भोजभतेर, बजार वा पिकनिकका रमाइलाहरू जीवनका सहज प्रक्रिया हुन्, तिनलाई पूर्ण रूपमा नकार्नु पर्दैन, तर तिनमा मात्रै अलमलिएर जीवनको ऊर्जा नष्ट गर्नु पनि बुद्धिमानी होइन । बाह्य सुखका साधनहरूलाई उपभोग गरिरहँदा पनि हाम्रो भित्री ध्यान भने अरूको सेवा, सहयोग र हितमा केन्द्रित हुनुपर्छ ।
जीवनको अन्तिम क्षणमा पुग्दा हामीले कति भोज खायौँ वा कति ठाउँ घुम्यौँ भन्ने कुराले कुनै अर्थ राख्ने छैन, बरु हामीले कति जनाको आँसु पुछ्यौँ, कति जनाको ओठमा मुस्कान ल्यायौँ र यो धर्तीलाई कत्तिको सुन्दर बनाउन योगदान दियौँ भन्ने कुराले मात्र हाम्रो जीवनको मूल्यांकन गर्नेछ । प्रकृति जस्तै निःस्वार्थ बन्दै, अरूको दुःखमा सारथि र सुखमा सच्चा साझेदार बन्न सक्यौँ भने मात्र हामीले वास्तविक रमाइलोको स्वाद पाउन सक्नेछौँ । यही निःस्वार्थता र परोपकारको मार्ग नै आध्यात्मिक चेतनाको मूल बाटो हो र यसैमा मानव जीवनको परम कल्याण लुकेको छ ।
प्रतिक्रिया