रास्वपाको महाधिवेशन र वैकल्पिक राजनीतिको कसौटी

स्थापनाको चौथो वर्षमा प्रवेश गरेकै दिन ७ असार आइतबारदेखि चितवनमा आरम्भ हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सिंगो मुलुकको महत्वपूर्ण राजनीतिक पर्व हो । सामान्यतया महाधिवेशनमार्फत सम्बन्धित पार्टीको भविष्य तय हुन्छ । बहुदलीय शासन व्यवस्थामा यस्तो अवसर सबै पार्टीले प्राप्त गर्छन् । तर केही सीमित पार्टीहरूले भने आफ्नो महाधिवेशनमार्फत देशकै भविष्य तय गर्ने अवसरसमेत पाउँछन् । यतिबेला त्यही दुर्लभ अवसर प्राप्त गरेका कारण रास्वपाको आसन्न महाधिवेशनलाई सिंगो मुलुकका लागि महत्वपूर्ण राजनीतिक पर्व भन्न कञ्जुस्याइँ गर्नु हुँदैन । पहिलो कुरा त करिब दुईतिहाइ बहुमतसहित रास्वपाले सरकार सञ्चालन गर्नु भनेको कानुन निर्माणका लागि अरू पार्टीसँग सौदाबाजीमा अलमलिनु नपर्ने सुविधा हो । सरकारद्वारा कार्य सञ्चालन गर्दै जाँदा आइपर्ने कानुनी अड्चनहरू तत्कालै फुकाएर अघि बढ्ने सुविधा एकातिर छ भने अर्कातिर सरकारका काममा अवरोध पु¥याउने शक्ति केन्द्रहरूको सामथ्र्य धेरै हदसम्म क्षीण भएको अवस्था छ । यस्तो अवसर दुनियाँका थोरै पार्टीले मात्रै पाएको नजिर छ । यस्तो अवसरको सदुपयोग गर्न सीमित पार्टीहरू मात्रै सफल भएका उदाहरण छन् । हाम्रो देशकै सन्दर्भमा पनि २०१७ वैशाखमा नेपाली कांग्रेसले यस्तै दुईतिहाइ बहुमतको आलोकमा सातौँ महाधिवेशन सम्पन्न गरेको थियो । त्यस बाहेक २०४८ सालमा झापामा सम्पन्न आठौँ र २०५७ सालमा पोखरामा सम्पन्न १०औँ महाधिवेशन हुँदै गर्दा पनि नेपाली कांग्रेसको सुविधाजनक बहुमत थियो । नेपाली कांग्रेसले सातौँ महाधिवेशनद्वारा गरेका निर्णय कार्यान्वयन गर्ने अवसर पाएन । तर आठौँ र १०औँ महाधिवेशन भने पार्टी विभाजनका कारक बने ।

इतिहास छोटो भएको पार्टीले सिक्ने भनेको लामो इतिहास भएका पार्टीको सफलता र असफलताका कथाबाट हो । त्यसैले रास्वपाको पहिलो महाधिवेशनबारे टिप्पणी गर्दै गर्दा नेपाली कांग्रेसका महाधिवेशनको प्रसंग कोट्याउनु सान्दर्भिक ठानिएको हो । किनकि नेपाली कांग्रेस असफल नभएको भए रास्वपा नजन्मन पनि सक्थ्यो, जन्मे पनि यति छोटो अवधिमा भीमकाय रूप धारण गर्ने सम्भावना रहन्नथ्यो । हाम्रो देशमा राजनीतिक इतिहास खासै उज्यालो छैन । त्यसमा पनि दलीय राजनीतिको इतिहास झन् सफल छैन । राजनीतिक दलहरू जनअधिकार प्राप्तिको संघर्षमा सफल भएको तर शासन सत्तामा पुगेपछि जनअधिकार कार्यान्वयनमा असफल भएको इतिहास छ । सफलताको इतिहास नभएको अवस्थामा पाठ सिक्दै मार्गदर्शन प्राप्त गर्ने भनेको असफलताकै कथाहरूबाट हो । पहिलो महाधिवेशनमा होमिँदै गर्दा रास्वपाले नेपाली कांग्रेसको असफलताबाट पाठ सिकेकै होला भन्ने अपेक्षा किन पनि स्वाभाविक छ भने यो पार्टीको सैद्धान्तिक र वैचारिक धरातल नेपाली कांग्रेससँग मिल्दोजुल्दो छ । नेपाली कांग्रेसले भन्ने गरेको प्रजातान्त्रिक समाजवाद र रास्वपाले तय गरेको संवैधानिक समाजवादमा आधारभूत भिन्नता देखिँदैन । साथै रास्वपा सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख्य पात्रहरू विगतमा कुनै न कुनै रूपमा नेपाली कांग्रेससँग जोडिएका छन् । त्यसैले अहिलेसम्म मुलुकमा भएका सबै अग्रगामी राजनीतिक परिवर्तनको नेतृत्व गरेको र जनताले पटकपटक बहुमत दिएर सत्तामा पु¥याएको पार्टी नेपाली कांग्रेसको असफलताबाट पाठ सिकेको सन्देश रास्वपाको आसन्न महाधिवेशनले दिनुपर्नेछ ।

स्थापनाको ६ महिना बित्दा नबित्दै मुलुकको चौथो ठुलो राजनीतिक शक्तिका रूपमा सत्तामा समेत पुगेको, ४ वर्ष बित्दा नबित्दै करिब दुईतिहाइ बहुमतसहित सत्ताको बागडोर सम्हालेको रास्वपालाई विकल्पका रूपमा उदाएको राजनीतिक शक्तिका रूपमा धेरैले विश्लेषण गर्नु स्वाभाविकै हो । किनकि बहुदलीय व्यवस्थाको मुख्य विशेषता भनेकै विकल्पको संभावना फारकिलो हुनु हो । एकदलीय व्यवस्थामा सत्तारूढ पार्टी असफल हुनासाथ उस्तै परे देश नै बरबाद हुन्छ, नभए पनि राजनीतिक प्रणाली कोल्याप्स हुन्छ । तर बहुदलीय शासन व्यवस्थामा सत्तारूढ दल असफल भए विकल्पमा अर्को दलले सत्ता सम्हाल्छ । जनतासँग दल छान्ने विकल्प रहन्छ । तर विकल्पका रूपमा जनताले उदय गराएका दलहरू असफल भए भने फेरि त्यसको विकल्प खोज्ने अभियान निकै महँगो सावित हुन सक्छ । जुन पाठ हाम्रै देशको २०४८ साल यताको घटनाक्रमले सिकाइसकेको छ । किनकि नेपाली कांग्रेसको विकल्पमा जनताले २०५१ सालमा एमाले छाने । एमाले पनि असफल भएपछि विकल्पमा माओवादी उदाउँदै गर्दा मुलुकले धेरै ठुलो नोक्सानी बेहोर्नुप¥यो । सत्तामा पुगेको छोटै समयमा माओवादीसमेत असफल भएकोले जनतामा आशा र धैर्यको बाँध टुट्यो ।

त्यसैको परिणाम हो गत भदौ २३ र २४ गतेको कहालीलाग्दो घटना । जसरी विगतमा योगदानका कारण जनताले कांग्रेस, एमाले र माओवादीलाई आलोपालो सत्तामा पु¥याएका थिए, त्यसरी नै अहिले रास्वपालाई योगदानका कारण पु¥याएका होइनन् । पुराना दललाई दण्डित गर्ने क्रममा रास्वपालाई अवसर दिएका हुन् । त्यसैले यो अवसरलाई हदैसम्म सदुपयोग गर्नु बाहेक रास्वपासँग अर्को विकल्प छैन । राजनीतिक इतिहासमा सबैभन्दा गाह्रो काम सत्ता प्राप्त गर्नु होइन, प्राप्त गरेको विश्वासलाई जोगाइराख्नु हो । पारदर्शिता, आन्तरिक लोकतन्त्र, नियम र संस्थागत संस्कृतिलाई बलियो बनाउन सक्यो भने रास्वपाले नेपाली राजनीतिमा नयाँ मानकहरू तय गर्न सक्छ । तर पुराना दल जस्तै व्यक्ति–केन्द्रित, प्रतिक्रियात्मक र अवसरवादी राजनीतिको दिशामा अघि बढ्यो भने यसले आफ्नो भविष्य मात्र होइन, वैकल्पिक राजनीतिमाथिको जनविश्वासलाई पनि ठुलो क्षति पु¥याउन सक्छ । पुराना दलहरू प्रतिको वितृष्णाबाट जन्मिएको रास्वपाको आसन्न प्रथम अधिवेशनले गुटबन्दी, व्यक्तिपूजक प्रवृत्तिलाई चिर्दै नीति, विधि र विचारमा स्पष्टता ल्याउन सकोस् । हार्दिक शुभकामना ।

प्रतिक्रिया