किसानले कहिलेसम्म आकाश हेरिरहने ?

सम्पादकीय

गत वर्ष सरदर समयभन्दा करिब १ साताअघि मनसुन भित्रिँदा किसानको खुसी सानो थिएन । तर, धान रोप्ने मुख्य सिजनमा मनसुन एक्कासि कमजोर भइदिँदा अन्न भण्डार मानिने तराई क्षेत्रका किसान पुर्पुरोमा हात राख्न बाध्य भए । उचित समयमा धान रोप्न नपाउँदा किसानले मात्रै होइन, सिंगो देशले ठुलो आर्थिक नोक्सानी बेहोर्नुपरेको गत वर्षको पीडा यस वर्ष पनि दोहोरिने आशंका मौसम विज्ञान विभागको तथ्यांकले बढाएको छ । नेपालमा मनसुन भित्रिने औसत समय जुन १३ अर्थात् जेठ ३१ देखि असार १ गतेभित्र हो । तर, असारको ५ गते बितिसक्दा समेत मनसुन सुरु नभएको मात्रै होइन, ठ्याक्कै कहिले सुरु हुन्छ ? भन्ने प्रक्षेपण मौसम विज्ञान विभागले समेत गर्न सकेको छैन । जल तथा मौसम विज्ञान विभाग र विश्व मौसम विज्ञान संगठनको प्रक्षेपणअनुसार यस वर्ष ‘एल–निनो’को बलियो प्रभावका कारण दक्षिण एसियासहित नेपालमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने सम्भावना उच्च छ । मनसुन प्रभावकारी रूपमा भित्रिन अझै १ साता ढिला भयो भने उच्च पहाडी क्षेत्रका किसानले मुख्य सिजनमा धान रोप्न पाउनेछैनन् । तराईका किसानले पनि मुख्य सिजनमा धानको बिउ राख्न पाउनेछैनन् । गत वर्षको जस्तो नियति बेहोर्नुनपरोस् भन्ने कुरामा सरकार अहिलेदेखि नै सचेत हुन जरुरी छ ।

विगतमा मनसुन ढिला वा कमजोर भएको वर्ष देशको कुल गार्हस्थ्य उत्पादन घट्ने गरेको र मनसुन राम्रो भएको वर्ष कुल गार्हस्थ्य उत्पादन बढ्ने गरेको तथ्यका पछाडिको खास कारण भनेको मुख्यतः धानको उत्पादन हो । सिँचाइको उचित प्रबन्ध नभएको हाम्रोजस्तो देशमा धान उत्पादनसँग अकासे पानीको सिधा साइनो हुन्छ । एक हिसाबले भन्ने हो भने हाम्रो देशको धान खेतीका लागि मनसुन नै अकासे नहर अर्थात् प्रकृतिप्रदत्त वरदान हो । कृषि भूमिको क्षेत्रफल स्थिर हुनु तर जनसंख्या वृद्धि भइरहनु प्राकृतिक नियम हो । स्थिर कृषि भूमिलाई अधिकतम उपयोग गरेर मात्रै बढ्दो जनसंख्याको खाद्यान्न आवश्यकता पूरा गर्न सकिन्छ । कृषि भूमिको अधिकतम उपयोगको मुख्य माध्यम भनेकै सिँचाइ हो । भरपर्दो सिँचाइबिना व्यावसायिक कृषि त परै जाओस्, निर्वाहमुखी कृषिसमेत सम्भव छैन । उदाहरणका लागि गत वर्ष समयमै पानी नपर्दा मधेस प्रदेशलाई सुक्खा संकटग्रस्त क्षेत्र घोषणा गर्नुपरेको र त्यो घोषणाले पनि माखो मार्न नसकेको तितो यथार्थ हाम्रासामु ताजा छ । किनकि धान रोप्ने बेला घर्किन लाग्दासमेत आकाशबाट पानी नपरेको भन्दै रातोरात डिप ट्युबवेल गाड्ने सरकारको घोषणाले गत वर्ष खासै काम गरेन । घरमा आगलागी सुरु भइसकेपछि इनार खन्न थालिएको कथाजस्तो बन्यो । यस्ता कथा अबका सरकारले अनुकरण गर्नुहुन्न ।

मनसुनले बेलामौकामा यसरी नै धोका दिने भएकाले नै परापूर्वकालदेखि नै हाम्रा पुर्खाहरूले खोला तथा नदीबाट कुलो तथा नहर बनाएर सिँचाइको प्रबन्ध गर्दै आएका हुन् । हाम्रो देशमा पनि कुलो तथा नहरमार्फत् सिँचाइको इतिहास निकै पुरानो छ । बढ्दो जनसंख्याको अनुपातमा खाद्यान्न उत्पादन पनि बढाउँदै जाने रणनीति हरेक देशले लिएका हुन्छन् । तर, पछिल्ला केही दशकलाई हेर्ने हो भने हाम्रो मुलुक यो मामलामा चुकेको छ । राज्यले सिँचाइको समुचित विकास गर्न नसकेका कारण नै मनसुनले चुनौती दिँदा किसानले पुर्पुरोमा हात राखेर बस्नुपर्ने र देश गरिब हुँदै जाने समस्या देखिएको हो । खासगरी धानमा आत्मनिर्भर हुने गरी सिँचाइ सुविधा पु¥याउन हाम्रा लागि खासै चुनौती छैन । पहिलो कुरा त हाम्रै सरहदभित्रका कोसी, गण्डकी तथा महाकाली नदीका नहर प्रणालीबाट सम्झौता बमोजिमको पानी उपलब्ध गराउन छिमेकी देश भारतलाई राजी गराउने हो भने मनसुनले धानखेती लगाउने बेला दिने चुनौतीमध्ये ३० प्रतिशत चुनौती स्वतः समाधान हुन्छ । त्यसैगरी ३० प्रतिशत चुनौती भेरी–बबई र सुनकोसी–मरिनजस्ता अन्तर–बेसिन जल स्थानान्तरणका बहुउद्देश्यीय आयोजनाले हल गर्न सक्छन् । तर, दुर्भाग्य ! यी दुवै आयोजनाले उस्तै नियति र असफलता भोगिरहेका छन् ।

भेरी–बबई डाइभर्सन आयोजना सुरुङ खनेको ७ वर्ष बितिसक्दा पनि बाँध निर्माण बाँकी छ । सुनकोसी–मरिण डाइभर्सनको कथा त त्योभन्दा झन् टिठलाग्दो छ । बाँध नबन्दा तयार भइसकेका सुरुङहरू पानीविहीन छन्, जसका कारण सुनकोसी र भेरीको पानी बगेरै गइरहेको छ भने बाँके, बर्दिया, बारा, रौतहट र सर्लाहीका फाँटहरू तिर्खाले छटपटाइरहेका छन् । एकातिर ‘एल–निनो’ले खडेरीको चेतावनी दिइरहेको छ, अर्कातिर अर्बौँ खर्चेर बनाइएका संरचना ठेकेदारको लापरबाही र फितलो अनुगमनका कारण अलपत्र छन् । जबसम्म राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुँदैनन्, तबसम्म जलवायु परिवर्तन र मौसमको अनिश्चितताले हाम्रो कृषिप्रधान अर्थतन्त्रलाई यसरी नै निरन्तर बन्धक बनाइरहनेछ । निर्माणको चरणमा तथा निर्माणका लागि पाइपलाइनमा रहेका सिँचाइ आयोजनालाई जति सक्दो छिटो सम्पन्न गर्न ठोस कार्ययोजना ल्याउनु आवश्यक छ ।

प्रतिक्रिया