
१२ असार, शुक्रबार बिहान ४ बजेको समय । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार गाउँ भर्खरै निद्राबाट ब्युँझिँदै थियो । टाढा कतै भाले बासेको आवाजले शान्त वातावरणलाई चिर्दै गर्दा गाउँको एउटा कुनामा रहेको लक्ष्मी थारूको घरमा भने चहलपहल सुरु भइसकेको थियो । बाहिर आकाशमा मडारिएको कालो बादलले मनसुन आगमनको संकेत गरिरहेको थियो ।
बाह्रै महिना माटोको गन्धमा रमाउने किसानका लागि असारको सुरुआत आफैँमा एउटा ठुलो पर्व हो । २ दिनपछि आज ‘राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’ मनाइँदै छ । नेपाल सरकारले असार १५ लाई औपचारिक उत्सवका रूपमा घोषणा गरेको छ । तर, खेतका फाँटहरूमा भने यो उत्सवको औपचारिक मिति पर्खिने फुर्सद लक्ष्मीलाई थिएन, त्यहाँ रोपाइँ धमाधम भइरहेको थियो ।
असार १५ किसानका लागि दही–चिउरा खाने क्यालेन्डरको मिति, दिवस वा सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने अवसर मात्र होइन, यो त माटोको धड्कन र जीवनको लय हो । लक्ष्मीले भनिन्, ‘हिलोमा केवल धान होइन, भविष्यको समृद्धि सपना र बिउ रोपिरहेका छौँ । हाम्रो जीवनको हरेक सफलतामा किसानको ठुलो मिहिनेत हुन्छ, जो बाहिरबाट देख्नेहरूले सायद कहिल्यै बुझ्दैनन् ।’
‘पहिले सिंगो गाउँ मिलेर साउने गीत गाउँदै धानको रोपाइँ गथ्र्यौं, आज मजदुर पाउनै मुस्किल छ,’ खेतको आलीमा उभिएका ५८ वर्षीय किसान सुरेश मुरावले भने, ‘आजको कृषि संस्कृतिमा सामूहिकता हराउँदै गएको छ । यसलाई जोगाउन किसान सहकारीहरूले श्रम बैंकको अवधारणा अघि बढाउनुपर्छ ।’ उनका अनुसार, ‘रोपाइँ भनेको केवल काम होइन, यो किसानका लागि उत्सव हो, जहाँ स्थानीयले सहयोगी भावले श्रमको सम्मान एवं परिश्रम गर्न तथा खुसी साट्न सिक्छन् ।’

‘अहिले जलवायु परिवर्तनका कारण वर्षाको चक्र अनिश्चित भएको छ,’ सम्मरीमाई–४ का अगुवा किसान अशोक त्रिपाठीले भने, ‘असारमा पर्नुपर्ने पानी साउनमा पर्दा खेतहरू बाँझै रहन्छन् । त्यसैले प्रविधिको प्रयोग अब विलासिता होइन, आवश्यकता भइसकेको छ ।’ संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले पनि जमिनमुनिको पानीको तह मापन गर्ने सेन्सर, ड्रोनमार्फत् मल र विषादी छर्ने आधुनिक प्रविधि र स्मार्ट इरिगेसनको प्रयोगलाई बढावा दिने काम गरिरहेको त्रिपाठीले बताए ।
‘दुर्गम गाउँसम्म यी प्रविधि पु¥याउनु अबको कृषि नीतिको प्राथमिकता हुनुपर्छ,’ त्रिपाठीले भने, ‘ड्रोन प्रविधिले थोरै समयमा धेरै जमिनमा मल आदि छर्न मद्दत गर्छ, जसले मजदुर अभावको समस्यालाई पनि केही हदसम्म समाधान गर्छ ।’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका दिनेश लोधले भने, ‘तराई–मधेसका फाँटहरूमा अहिले नक्षत्रको गति र किसानको हलोको ताल एकैसाथ चलिरहेको छ । हाम्रा पुर्खाहरूको कृषि ज्ञानलाई आजका आधुनिक वैज्ञानिकहरूले ‘इको–एग्रोनोमी’ को संज्ञा दिन्छन् । यो केवल अन्धविश्वास होइन, बरु वर्षौंको अनुभवबाट निस्किएको प्रयोगात्मक विज्ञान हो ।’
रैथाने ज्ञान र वैज्ञानिक पद्धतिको तालमेल
ज्योतिषीय गणनाअनुसार आकाशमण्डललाई २७ नक्षत्रमा विभाजन गरिएको छ, जुन नेपाली कृषि प्रणालीको आधार स्तम्भ मानिन्छन् । अश्विनीदेखि रेवतीसम्मका यी नक्षत्रहरूलाई महिना र पक्षका आधारमा कृषि कार्यको समय तालिकाका रूपमा प्रयोग गरिन्छ । शुद्धोधन गाउँपालिका कपिलवस्तुका अनुभवी किसान किरचन्द कुर्मीले भने, ‘खेती गर्न हामीले पात्रो हेर्नुपर्दैन । आकाशको रङ र हावाको दिशाले नै नक्षत्रको आगमन बताउँछ । नक्षत्रले समय जुराउँछ, र पसिनाले बाली उब्जाउँछ ।’
पण्डित अजय मिश्रका अनुसार, ‘अश्विनी, भरणी, कृतिका, रोहिणी, मृगशिरा, आद्र्रा, पुनर्वसु, पुष्य, आश्लेषा, मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्त, चित्रा, स्वाती, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपदा, उत्तरभाद्रपदा, रेवती आदि नक्षत्र हुन् । चन्द्रमाले करिब साढे २ दिनमा १ नक्षत्र पार गर्छ । चन्द्रमा जुन नक्षत्रमा रहन्छ, त्यही नै त्यस दिनको नक्षत्र मानिन्छ । तिथि र नक्षत्रको संयोगले नै शुभकार्यका लागि साइत जुराइन्छ ।’

कृषिचक्रमा यी नक्षत्रहरूको भूमिका विशिष्ट छ । रोहिणी नक्षत्रमा सूर्य प्रवेश गर्दा माटो तातेर हानिकारक किटाणु मर्छन्, जुन बालीको तयारीका लागि पहिलो चरण हो । मृगशिरामा ब्याड राखेर फसलको जग बसालिन्छ र आद्र्रा नक्षत्रको प्रवेशसँगै मनसुनको ढोका खुल्छ । ‘आद्रामे धान, पुनर्वसु पैया, पुष्यमे खेती, बरु न होइया’ भन्ने अवधि उखानले यसको महत्व दर्साउँछ । आद्रा नक्षत्रको वर्षामा ‘पुनर्वसुमा बिरुवा (पैया) सप्रिन्छ भने पुष्य नक्षत्रसम्म काम ढिलो पुग्यो भने त्यो बाली फलदायी नहुन पनि सक्छ । जलवायु परिवर्तनका कारण चक्रमा केही विचलन देखिए पनि कृषि कार्यका लागि यी परम्परागत ज्ञान आजका पुस्ताका लागि पनि उत्तिकै सान्दर्भिक छन् । समयको हेक्का राख्ने यस्ता रैथाने ज्ञान र प्रविधिको सही संयोजनले नै दिगो कृषि विकासको लक्ष्य हासिल गर्न सकिन्छ ।
नक्षत्रहरूले वर्षाको चक्र र मौसमको परिवर्तनलाई संकेत गर्छन् । प्रायजसो पाका किसानहरूले आकाश हेरेर वा पञ्चांग हेरेर कुन बाली कहिले रोप्ने भनी निर्णय लिने गर्छन । धेरैजसो नक्षत्रहरूले वर्षाको सम्भावनालाई संकेत गर्छन् । जस्तै, रोहिणीमा परेको पानीले धानको ब्याडका लागि जमिन तयार पार्न सजिलो हुन्छ । प्रत्येक नक्षत्रमा सूर्यको स्थितिले पृथ्वीको तापक्रम र आद्र्रतामा प्रभाव पार्छ । त्यसैले, बालीको वृद्धि (बढ्ने र पाक्ने) चरणअनुसार कुन नक्षत्र चलिरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यी भनाइहरू केवल अन्धविश्वास नभएर हाम्रा पुर्खाहरूले पुस्तौँसम्म गरेको अनुभवको सार हो ।
लुम्बिनी प्रदेशका मधेसी फाँटहरू (रूपन्देही, परासी र कपिलवस्तु) मा कुनै समय कालानमक, बासमती, गौरिया, डिडयी र मन्सराजस्ता सयौँ रैथाने धान फल्थे । यी बिउले स्थानीय हावापानी र रोग प्रतिरोधात्मक क्षमतालाई आफैँ समायोजन गर्न सक्थे । तर, आज हाइब्रिड बिउको वर्चस्व छ । ‘लुम्बिनी एग्रो टुरिज्म एन्ड रिसर्च सेन्टर’ लुम्बिनीको एक सर्वेक्षणअनुसार युवा पुस्ता ‘उत्पादन’को लोभमा हाइब्रिड बिउमा निर्भर छन्, जसले खाद्य सुरक्षालाई विदेशी बजारको हातमा सुम्पिएको छ ।
पछिल्लो अध्ययनले रैथाने धानमा प्रोटिन र भिटामिनको मात्रा हाइब्रिडभन्दा ४० प्रतिशतसम्म बढी हुने देखाएको लुम्बिनी एग्रोकी प्रोप्राइटर पूर्णिमादेवी पाठकले बताइन् । ‘रैथाने बिउको संरक्षण र आधुनिक हाइब्रिडको सन्तुलित प्रयोग नै अबको आवश्यकता हो,’ उनले भनिन्, ‘यसका लागि नेपाल सरकारले ‘रैथाने बाली संरक्षण कार्यक्रम’लाई विशेष प्राथमिकता दिँदै यसका विशिष्ट गुणहरूलाई ब्रान्डिङ गरी उच्च मूल्यमा बेच्ने व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।’
‘पौराणिक धानका जातहरू केवल अनाज होइनन्, सांस्कृतिक सम्पदा हुन्, जसलाई जोगाउनु हाम्रोे नैतिक जिम्मेवारी हो । यी रैथाने बिउहरूमा लुकेको रोग प्रतिरोधात्मक क्षमता र पोषणको भण्डारले मात्र नभई, तिनले हाम्रो माटो र पर्यावरणसँग जोडेको गहिरो सम्बन्धले पनि यिनको महत्व अतुलनीय छ,’ कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष चन्दभूषण यादवले भने, ‘आधुनिक हाइब्रिडको चकाचौंधमा हराउँदै गएका मौलिक धानका जातहरूलाई जोगाउनु भनेको केवल खेतीपातीको निरन्तरता मात्र होइन, हाम्रो पुर्खाहरूको ज्ञान, स्वाद र पहिचानलाई भावी पुस्तामा हस्तान्तरण गर्नु पनि हो । त्यसैले, जैविक विविधताको रक्षा गर्दै यी अमूल्य बिउहरूलाई लोप हुनबाट जोगाउनु आजको कृषि क्रान्तिको अपरिहार्य पाटो हुनुपर्छ, ताकि हाम्रो माटोको मौलिक सुगन्ध एवं स्वास्थ्य सधैँ सुरक्षित रहिरहोस् ।
पूर्वअध्यक्ष यादवले भने, ‘यहाँका खेतहरूमा वर्षौँदेखि युरिया र डिएपीको अनियन्त्रित प्रयोगले माटो बन्जर बन्दै गएको छ ।’ कोटहीमाई गाउँपालिका कृषि शाखाका अनुसार यहाँको करिब ६० प्रतिशत खेतको माटोमा जिंक र बोरोनको चरम अभाव छ । हालैको परीक्षण रिपोर्टले माटोको अम्लीयपन ५.५ भन्दा कम पाइएको देखाएको छ, जुन धानका लागि अनुकूल होइन । रिपोर्टअनुसार रासायनिक मलको अत्यधिक प्रयोगले ६० प्रतिशत जमिनमा प्रांगारिक पदार्थको मात्रा २ प्रतिशतभन्दा कम छ ।
उन्नत बिउ, मल र सिँचाइ समस्या तथा यसको समाधानका लागि विज्ञहरू ‘एकीकृत बाली व्यवस्थापन’ मा जोड दिन्छन् । गोबर मलमा ‘ट्राइकोडर्मा’ (एक प्रकारको मित्र जीव) मिसाएर प्रयोग गर्दा रासायनिक मलको निर्भरता ३० प्रतिशतसम्म घटाउन सकिन्छ । किसानले तत्कालको फाइदा मात्र नहेरी दीर्घकालीन उत्पादनका लागि ‘माटो स्वास्थ्य कार्ड’ को प्रयोग र सन्तुलित मल व्यवस्थापनलाई अनिवार्य बनाउनुपर्छ । माटो उपचार गर्नु भनेको रोगीको उपचार गर्नुजस्तै हो; जबसम्म हामीले माटोको प्राण बचाउँदैनौँ, तबसम्म हाम्रो थालमा विषरहित भोजन पुग्दैन ।
पर्यावरणविद् डा. सतीश उपाध्यायका अनुसार असार १५ को दहीचिउरा भोज मात्र नभई हिलोमा काम गर्ने किसानको स्वास्थ्य रक्षा गर्ने वैज्ञानिक जुक्ति हो । दहीको प्रोबायोटिक्सले पाचन शक्ति बढाउँछ भने चिउराको कार्बोहाइड्रेटले ऊर्जा दिन्छ । शुद्धोधन गाउँपालिका कपिलवस्तुका अध्यक्ष कमलेशशरण चौधरी र सम्मरीमाई रूपन्देहीका अध्यक्ष विनोदकुमार श्रीवास्तवको बुझाइमा असार १५ (धान दिवस) लाई अब केवल ‘फोटो सेसन’ का रूपमा सीमित नराखेर ‘कृषि जागरण’ को दिन बनाउनुपर्छ ।
कृषि ज्ञान केन्द्र रूपन्देहीका वरिष्ठ बागवानी विकास अधिकृत मानदेवप्रसाद चौधरीका अनुसार जिल्लाको ८९ हजार ३८४ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ६३ हजार ५५० हेक्टरमा धान खेती हुने गरेकामा हालसम्म ४३ प्रतिशत (२७ हजार ३२६ हेक्टर) क्षेत्रफलमा रोपाइँ भइसकेको छ । प्रतिकूल मौसमका बाबजुद किसानमा देखिएको उत्साहपूर्ण सहभागितालाई उल्लेख गर्दै उनले भने, ‘असार १५ केवल एक प्रतीकात्मक तिथि हो, किसानको हातमा हलो र मनमा आत्मनिर्भरताको सपना हुँदा प्रकृति वा तिथिको पर्खाइभन्दा कर्मको चटारोले समृद्धिको वास्तविक आधार खडा गर्छ ।’
‘हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड कृषि हो, तर दुर्भाग्यवश यस क्षेत्रमा युवाको पलायन दर बढ्दो छ । जबसम्म हामीले कृषिलाई सम्मानजनक र नाफामूलक बनाउँदैनौँ, तबसम्म हाम्रो समृद्धिको सपना अधुरो रहनेछ,’ लुम्बिनी प्रदेशसभा सदस्यतथा पूर्वसामाजिक विकासमन्त्री वसीउद्दीन खाँले भने, ‘प्रविधिको प्रयोग र वैज्ञानिक मलको व्यवस्थापन मात्र पर्याप्त छैन, यसका लागि किसानलाई ऋणको सहज पहुँच, उत्पादित वस्तुको उचित मूल्य र बजारको सुनिश्चितता पनि आवश्यक छ ।’
संघीय सांसद कन्हैया बनियाँका अनुसार सूर्य अस्ताउँदै गर्दा हरियाली भएका खेतका गराहरूले समृद्धिको नयाँ सपना बुनिरहेका छन् । अबको दिशा भनेको परम्परागत ज्ञान र आधुनिक प्रविधिको सुखद् संगम हो । ‘रैथाने बाली जोगाउनु, माटोको स्वास्थ्य सुधार गर्नु र जलवायु अनुकूल प्रविधि अपनाउनु नै आजको आवश्यकता हो,’ सांसद बनियाँले थपे, ‘किसानको हिलोमा टेकेको पाइला नै राष्ट्रको समृद्धिको वास्तविक आधारशिला हो ।’ यो माटोको माया जीवितै रहोस्, र किसानको पसिनाले सधैँ सुन फलाओस् भन्ने उद्देश्यअनुसार कार्य गर्नुपर्ने उनले बताए । बनियाँले भने, ‘नेपालको समृद्धि तब मात्र सम्भव छ, जब यहाँको माटोमा पसिना बगाउने किसानको अनुहारमा मुस्कान छाउँछ ।’
प्रतिक्रिया