फेरिएको परिस्थितिले झस्किए नेताहरू, वाम एकताकाे ‘वार्मअप’

सम्बन्ध–सेतु बनिन् विद्या, सर्वमान्य वाम नेतृ बन्ने प्रयास

काठमाडौँ । गत २१ फागुनको प्रतिनिधिसभा चुनावमा सर्मनाक हार बेहोरेपछि नेपालका वामपन्थी तथा कम्युनिस्ट शक्तिहरू विगतमा झैँ पुनः एकजुट हुनुपर्ने आवाज आइरहेको छ । वामपन्थी शक्तिहरू एकताबद्ध नभएका कारण चुनावी पराजय भोगेको विश्लेषण सम्बन्धित दलहरूले गरिरहेका छन् । खासगरी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचमा एकता गर्ने विषयमा नेताहरू भित्रभित्रै संवादमा सक्रिय रहँदै आएका छन् । सैद्धान्तिक, वैचारिक, सांगठनिक र राजनीतिक विषयमा यी दलहरूबीच आपसमा धेरै असहमति भए पनि आफ्नो खस्किँदो साखका कारण एकता गर्ने मनस्थितिमा पुगिसकेका छन् ।

विभिन्न प्रकारका अड्कलबाजीबीच आइतबार वामपन्थी घटकहरूलाई एउटा राजनीतिक सन्देश दिनेखालको कार्यक्रम भएको छ र वामपन्थी एकताको धुन पुनः बजाइएको छ । पछिल्ला राजनीतिक घटना–परिघटनामा नदीका २ किनारजस्तै देखिएका एमाले–नेकपाका शीर्ष नेताहरू ४ पूर्वप्रधानमन्त्री एकै मञ्चमा प्रकट भएका छन् र यो अवसरको तारतम्य मिलाएकी छिन्— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ।

आइतबार एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना ग¥यो । एमालेको आन्तरिक राजनीतिभित्र निकै शक्तिशाली मानिने यस फाउन्डेसनले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थिइन् ।

४ पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा सहसंयोजक माधवकुमार नेपाल र नेकपाकै नेता झलनाथ खनाल कार्यक्रममा अतिथि तथा वक्ताका रूपमा निम्त्याइएका थिए । उनीहरूले वामपन्थी एकताको आवश्यकता टड्कारो रूपमा रहेको औँल्याए । आपसमा टुटफुट, विभाजन, घात–अन्तर्घात र आरोप–प्रत्यारोपको शृंखला नै चलाएका ती नेताहरू एउटै मञ्चमा देखिनु र पुनः एकताको राग अलाप्नुले वामपन्थी राजनीतिक वृत्तमा एकखालको तरंग सिर्जना गरेको छ ।

भण्डारीले आफ्नो नेतृत्वमा सबैलाई एक बनाउने कोसिस गरेका रूपमा कतिले अथ्र्याएका छन् भने भण्डारीको नेतृत्व सर्वस्वीकार्य बन्ने संकेतका रूपमा पनि कतिपयले लिएका छन् । शीर्ष नेताहरूका अलावा दर्शकदीर्घामा एमाले तथा नेकपाका पदाधिकारी तहका थुप्रै नेताहरूको समेत उपस्थिति थियो । यस कार्यक्रमले २ पार्टीबीच एकताको वार्मअप गरेका रूपमा अथ्र्याइएको छ ।

जेनजी आन्दोलनपछि पहिलो पटक ४ पूर्वप्रधानमन्त्री एकैठाउँ

गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनपछि उक्त आन्दोलनलाई हेर्ने दृष्टि एमाले र नेकपाबीच फरक प¥यो । नेकपाले जेनजी आन्दोलनलाई जनआक्रोश र पुराना दलहरूकै कार्यशैलीको उपज भन्दै स्वाभाविक रूपमा लियो र आन्दोलनपछिको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने अडान लियो । त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पनि नेकपाले सहर्ष स्वीकार ग¥यो । एमालेले भने जेनजी आन्दोलन र त्यसपछिको परिवर्तनलाई आजपर्यन्त अस्वीकार गरिरहेको छ र षड्यन्त्रका रूपमा परिभाषित गरिरहेको छ । आन्दोलनपश्चात् तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का बीचमा एकता भएर नेकपा बनिसकेको छ । यता, जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण एमालेभित्र भने फरक–फरक छ । संस्थापनइतर पक्षले जेनजी आन्दोलनलाई स्वीकार गरेर जानुपर्ने मत राखिरहेको छ । आज पनि सो विषय एमालेमा बहसकै विषय छ ।

२१ फागुनको चुनावअघि वाम सहकार्यको प्रयास भए पनि सफल हुन सकेन । तर, चुनाव सकिएको करिब ४ महिना पुग्न लाग्दै गर्दा भने शीर्ष नेताहरू एकै मञ्चमा देखिएर सहकार्य र एकताको विषयमा विमर्श गरेका हुन् । सरकारले पूर्वप्रधानमन्त्रीहरूमाथि विभिन्न विषयमा छानबिन गरिरहेको छ । ओली त हिरासत बसेर निस्किए । माधव नेपाल पतञ्जली जग्गा प्रकरणको मुद्दा खेपिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवामाथि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढेको छ ।

नेपाली राजनीति पुरानो भर्सेस नयाँ दल, वयोवृद्ध नेता भर्सेस युवा नेताको भाष्यमा अघि बढिरहेको छ । पूर्वप्रधानमन्त्रीलगायत पुराना पुस्ताका नेताहरूको कुरा सुन्ने जमात अहिले कम भइसकेको छ र राजनीतिक रूपमा उनीहरू रक्षात्मक बनेका छन् । एकले अर्कोलाई अस्वीकार गर्ने रोग त उनीहरूमा छँदै छ । भर्खरै मात्र नेकपा नेता खनालले संयोजक प्रचण्ड र सहसंयोजक नेपालमाथि आरोपको चाङ लगाएर ३६ बुँदे पत्र लेख्दै उनीहरूको राजीनामा नै मागेका छन् । यति हुँदाहुँदै पनि देशका ४ पूर्वप्रधानमन्त्री पहिलोपल्ट एउटै मञ्चमा बसेर एकताको विषयमा चर्चा गरेका हुन् ।

०००

एक–अर्काको नामै नलिने संकल्प गरेका ओली–नेपालको मिलन

९ भदौ, २०७८ मा तत्कालीन एमालेबाट विभाजन भई माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको थियो । त्यसअघि ३ जेठ, २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो र सर्वोच्च अदालतको आदेशले २३ फागुन २०७७ मा एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएको थियो । नेकपा हुँदाको अस्वस्थ प्रतिस्पर्धा त्यसपछिको एमालेमा पनि देखियो । ओली–नेपालले एकअर्काको अस्तित्व पूर्ण रूपमा अस्वीकार गरेका थिए । अन्ततः एमाले विभाजित भएपछि पनि उनीहरूबीचमा कुनै संवाद हुन सकेको थिएन । माधवकुमार नेपालको नाम लिनुपरे ‘मुख कुल्ला गर्ने’ सम्मको अभिव्यक्ति ओलीले दिएका थिए । नेपालले पनि आफ्नो डिक्सनरीमा भएसम्मका गाली ओलीमाथि बर्साएका थिए ।

तर, पूर्वसहयात्री रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको रोहबरमा उनीहरू एकै मञ्चमा देखिएनन् मात्रै, आपसमा हात मिलाएर हार्दिकता र अभिवादन साटासाट गरे । एमालेले हाल बेहोरेको क्षतिमा नेकपा विभाजन र स्वयं एमाले विभाजनको ठुलो हात रहेको दुवै पार्टीका नेताहरू बताउँछन् । आइतबार ओली–नेपालले हात मिलाउँदै गर्दा आगामी दिनमा एकताका लागि बाटो खुलेको रूपमा दुवै पक्षले अथ्र्याएका छन् ।

०००

१ वर्षमा विद्याले मारेको फन्को

२ कार्यकाल राष्ट्रपतिको भूमिका सम्हालेर खाली बसेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्षको १४ असारकै दिन एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । उनले सोही दिन एमालेको संगठित सदस्यता नवीकरणसमेत गराइसकेको जानकारी दिएकी थिइन् भने बाँकी जीवन एमालेको नेता तथा कार्यकर्ताका रूपमा व्यतीत गर्ने बताएकी थिइन् । उनी एमालेको सक्रिय राजनीतिमा फर्किएर पार्टीको ११औँ महाधिवेशनबाट अध्यक्षको उम्मेदवार बन्ने तयारीमा थिइन् । तर, तेस्रो पटक अध्यक्ष बन्ने लालसा बोकेका अध्यक्ष केपी शर्मा ओलीलाई उक्त कुरा पाच्य भएन र नवीकरण भइसकेको भण्डारीको सदस्यता ५ र ६ साउनमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमार्फत् खारेज गराए ।

यद्यपि, एमालेको सो निर्णय खारेज गर्दै भण्डारीले एमाले नेताकै हैसियतमा देश दौडाहा गरिरहिन् । मदन भण्डारी फाउन्डेसनमार्फत् छुट्टै कार्यालय खोलेर राजनीतिक गतिविधि गरिरहिन् । तर, गत ४ जेठमा बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टीको सदस्यता दिने निर्णय गरेसँगै उनी वैधानिक रूपमा एमाले राजनीतिमा सक्रिय छिन् । एमालेले सदस्यता दिएसँगै उनी वामपन्थी पार्टीहरूलाई मिलाएर सर्वमान्य नेता बन्ने महत्वाकांक्षासाथ अघि बढेकी छिन् । एमाले–नेकपाभित्र नेतृत्व परिवर्तन र पुनर्गठनको आवाज बलियो भइरहेका बेला सर्वमान्य नेताका रूपमा आफू रहेको सन्देश उनले प्रवाह गरिसकेकी छिन् ।

एकताबद्ध हुनुपर्नेमा सबैको जोड

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर लैजानुपर्ने बताइन् । नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई परिष्कृत गर्नुपर्ने उल्लेख गर्दै उनले कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको संघारमा उभिएकाले युवा पुस्ताको आकांक्षालाई कम्युनिस्ट आन्दोलनको मूल आदर्श बनाउनुपर्ने बताइन् । ‘रूपान्तरण हुँदै गरेको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवा पुस्तामा नयाँ आकांक्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिस्ट आन्दोलनले आफ्ना मूल आदर्श बनाउनुपर्छ,’ उनले भनिन्, ‘समयअनुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यकता छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिगमन लादिएको भन्दै प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर जानुपर्ने बताए । ‘यो प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । प्रतिगमनलाई पराजित गर्नुपर्छ । यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ,’ उनले भने । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकताका लागि हतारो नै गरे । उनले तत्काल एकता नगरे दुर्घटना हुन सक्ने भन्दै छिटोभन्दा छिटो एकता गर्नुपर्नेमा जोड दिए । ‘ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी एकता र सहकार्य गर्नुपर्छ,’ उनको भनाइ थियो ।

नेकपा सहसंयोजक माधवकुमार नेपालले लोकतन्त्र र गणतन्त्र जोगाउन वामपन्थी शक्तिहरूबीच एकता गर्नुपर्नेमा जोड दिए । उनले विदेशीको हालीमुहाली रोक्न र देशभक्त शक्तिहरूलाई एकताबद्ध पार्नुपर्नेमा जोड दिए । विधि, पद्धति र यथार्थको धरातलमा टेकेर एकता गर्नुपर्ने उनको भनाइ थियो । ‘यथार्थको धरातलमा टेकेर, सही ठाउँमा पुगेर, छलफल र बहस चलाएर मिल्न सक्ने कुरामा मिल्नुपर्छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने धारणा राखे । ‘वामपन्थी एकता अनेक कालखण्डदेखि आवश्यक थियो । तर, बीचमा हाम्रो कहिले सिङ पलायो, कहिले जुरो पलायो,’ उनले भने, ‘अब एकताका लागि बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ ।’

प्रतिक्रिया