कम्युनिष्ट आन्दोलनले आफ्ना मूल आदर्श बनाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले समयानुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यास परिष्कृत गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाएर लैजानुपर्ने बताएकी छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ मा उनले कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको संघारमा उभिएको बताइन् ।

कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित नभएको उनको भनाइ छ । उनले जनसम्बन्धलाई सुदृढ गर्दै समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताइन् ।

‘रूपान्तरण हुँदै गरेको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवापुस्तामा नयाँ आकांक्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिष्ट आन्दोलनले आफ्ना मूल आदर्श बनाउनुपर्छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘समय अनुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यक छ ।’

जनविश्वास पुनः आर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्ति मात्र नभई समयानुकूल उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा नीहित हुनुपर्ने उनको कथन छ ।

जनताको हित विपरित कमजोरी गरेका छैनौँ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितविपरीत गएर आफूहरूले गल्ती कमजोरी नगरेको बताएका छन् । उनले जनतामा अनावश्यक भ्रम छरिएको टिप्पणी गरे ।

अध्यक्ष ओली भने, ‘हामीले गलत काम गरेर, देशकाविरुद्ध काम गरेर विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, बढेको होइन ।’ आफ्नो पार्टीको नीति तथा कार्यक्रम र सही र समसामयिक भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यगत एकताका माध्यमबाट अगाडि बढ्नुपर्ने धारणा राख्दै उहाँले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक क्षेत्रमा एमालेले सही नीति निर्धारण गरेका दाबी गरे । अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई समयानुकूल बनाइँदै लैजाने धारणा राखे । अध्यक्ष ओलीले भने, ‘समृद्धिसम्म हाम्रो यात्रा हो । हाम्रो यात्रा समृद्ध नेपाल सुखी नेपालीसम्मको हो, हाम्रो गन्तव्य ठीक छन् ।’

रचनात्मक र शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्ने र धुलो टकटक्याउँदै उठ्ने उनको भनाइ थियो । फाउण्डेशनले वर्ष २०८२ को ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’ लाई प्रदान गरियो । पुरस्कारको राशि रु दुई लाख रहेको छ ।

प्रतिक्रिया