
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्यांक विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखापरीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताएका छन् ।
महालेखा परीक्षकको कार्यालयले आफ्नो ६८औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै उनले कम्प्युटर सहायता प्राप्त लेखापरीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा यस कार्यालयले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।
लेखापरीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखापरीक्षणको गुणस्तर कायम हुने उनले विश्वास व्यक्त गरे । वर्षेनि उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालको कथन थियो ।
‘औँल्याइएका बेरुजुको समयमै फस्र्योट, आवश्यक सम्परीक्षण तथा भविष्यमा बेरुजु नै नआउने गरी वित्तीय व्यवस्थापनमा सुधार गर्नु तीनै तहका सरकार, लेखा उत्तरदायी अधिकारी तथा सम्बन्धित पदाधिकारीको साझा जिम्मेवारी र दायित्व हो’, सभामुख अर्यालले भने ।
सार्वजनिक स्रोतको प्राप्ति, परिचालन र उपयोगको स्वतन्त्र मूल्यांकन गरी सुधारका विषय औँल्याउने भएकाले महालेखा परीक्षकको कार्यालयप्रति राज्यका सबै निकाय तथा नागरिकको उच्च अपेक्षा रहेको सभामुख अर्यालको कथन छ ।
बर्सेनि करिब ६ हजार निकाय तथा कार्यालयहरूको लेखापरीक्षण निर्धारित समयमा सम्पन्न हुँदै आएकोमा प्रसंशा गर्दै सभामुखले देशभरका हजारौँ सार्वजनिक निकायको सीमित स्रोतसाधनका बीच समयमै लेखापरीक्षण सम्पन्न गर्नु आफैँमा चुनौतीपूर्ण कार्य भएको बताए ।
नेपालको संविधानले महालेखा परीक्षकको कार्यालयलाई सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्ने महत्त्वपूर्ण संवैधानिक जिम्मेवारी प्रदान गरेको जानकारी दिँदै उनले प्रदेश र स्थानीय तहमा समेत सोही व्यवस्था अनुरूप प्रतिवेदन प्रस्तुत गर्ने प्रणालीले सार्वजनिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको धारणा व्यक्त गरे ।
उनले वार्षिकोत्सव केवल स्थापना दिवसको उत्सव मात्र नभई सार्वजनिक वित्तीय सुशासन, पारदर्शिता, जवाफदेहीता तथा वित्तीय अनुशासनप्रतिको साझा प्रतिबद्धतालाई पुनः स्मरण गर्ने एउटा महत्त्वपूर्ण अवसर भएको स्पष्ट पारे ।
लेखापरीक्षणलाई गुणस्तरीय बनाउन सुधारका प्रयास : महालेखापरीक्षक राया
महालेखापरीक्षक तोयम रायाले वित्तीय अनुशासन कायम गर्न र लेखापरीक्षण कार्यलाई थप गुणस्तरीय, पारदर्शी तथा जवाफदेही बनाउन विभिन्न सुधारका प्रयासहरू थालिएको जानकारी दिए । महालेखा परीक्षकको कार्यालयले आगामी दिनमा पनि सार्वजनिक क्षेत्रको लेखापरीक्षणलाई थप प्रभावकारी बनाउन अवलम्बन गर्नुपर्ने सबै उपाय लागू गरिने उनको कथन थियो ।
लेखापरीक्षण कार्यमा पारदर्शिता ल्याउन स्थलगत लेखापरीक्षण अवधिका क्रममा भर्चुअल माध्यमबाट सरोकारवालासँग चार पटक अन्तरक्रिया गरिएको र आगामी वर्षमा पनि त्यसलाई निरन्तरता दिइने उनको भनाइ छ । आन्तरिक रूपमा कर्मचारीको व्यावसायिक सक्षमता वृद्धिका लागि निरन्तर शिक्षा, विषयगत तालिम सञ्चालन गरिएको जानकारी दिँदै अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गरिएको महालेखापरीक्षक रायाको भनाइ छ । नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणालीमार्फत संघीय तथा प्रदेश मन्त्रालय, र स्थानीय तहमा राय सहितको प्रतिवेदन सार्वजनिक गरिएको उनले उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले बेरुजु फस्र्यौटका लागि संसदीय समितिकातर्फबाट भरपूर सहयोग रहने विश्वास व्यक्त गरे । उनले समितिले कार्यतालिका नै बनाएर छलफल गर्ने र फस्र्यौटका लागि आवश्यक सहजीकरण गर्ने उल्लेख गरे ।
महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक वप्रतिवेदन अनुसार, आर्थिक बर्ष २०८१÷८२ मा रु ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण गरिएको थियो । विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक व्यहोराका रु ८८ अर्ब नौ करोड बराबरको बेरुजु औँल्याइएको छ । बाँकी अद्यावधिक बेरुजु रु सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख बराबर रहेको छ ।
तीन स्थानीय सरकार सम्मानित
लेखापरीक्षणबाट लगती बेरुजु नभएका तीन स्थानीय तहलाई बार्षिकोत्सवका अवसरमा सम्मान गरिएको थियो । बागमती प्रदेश काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, गण्डकी प्रदेश पर्वतको महाशीला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाल र लुम्बिनी प्रदेश गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेललाई सम्मान गरिएको थियो ।
लेखापरीक्षण क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई लेखापरीक्षण पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पूर्वउपलेखापरीक्षक पद्यमदयाल वादे श्रेष्ठलाई दीर्घजीवी लेखापरीक्षण सम्मान प्रदान गरिएको थियो ।
प्रतिक्रिया