
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सम्पूर्ण आंगिक क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै क्याम्पस प्रमुखहरूलाई पत्र काट्दै राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउन परिपत्र गरेको हो ।
विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयको निर्णय र निर्देशनानुसार त्रि।वि।ले यो कदम चालेको हो । मन्त्रालयको पत्रमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप बढेको, विद्यार्थीको वास्तविक आवाज समेटिन नसकेको र शैक्षिक गुणस्तरमा निरन्तर गिरावट आएको उल्लेख गर्दै समस्या समाधानका लागि यस्तो निर्णय लिइएको जनाइएको छ ।
निर्देशनालयका अनुसार अबको ६० दिनभित्र क्याम्पस हाताबाट दलीय विद्यार्थी संगठनका संरचनाहरू पूर्ण रूपमा हटाइसक्नुपर्नेछ। त्यसको स्थानमा आगामी ९० दिनभित्र विद्यार्थीहरूको साझा प्रतिनिधित्व रहने गरी ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता गैरदलीय संयन्त्र विकास गरिने पत्रमा उल्लेख छ । निर्देशनालयले यस निर्णयलाई तत्काल कार्यान्वयन गरी सोको जानकारी यथासिघ्र गराउन समेत क्याम्पसहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया