
मुगु । जिल्लाको छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका २ विद्यालय भवनको औपचारिक उद्घाटन गरिएको छ । छायाँनाथ रारा नगरपालिका–४ सेतीवाडास्थित मालिका आधारभूत विद्यालय र वडा नंम्बर ६ बालैस्थित सरस्वती आधारभूत विद्यालयमा निर्माण गरिएका चारकोठे दुईतले भवनको मंगलबार उद्घाटन गरिएको हो । लामो समयदेखि यी विद्यालयका विद्यार्थीहरू जीर्ण तथा साँघुरा कक्षाकोठामा अध्ययन गर्न बाध्य थिए । पर्याप्त कक्षाकोठा नहुँदा एउटै कोठामा धेरै कक्षाका विद्यार्थीहरूलाई राखेर पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था थियो । वर्षायाममा पानी चुहिने, हिउँदमा अत्यधिक चिसो हुने तथा सुरक्षित शैक्षिक वातावरणको अभावले विद्याथीको नियमित अध्ययन प्रभावित हुँदै आएको थियो ।
नयाँ भवन निर्माणपछि ती समस्या धेरै हदसम्म समाधान भएको सरोकारवालाहरूको भनाइ छ । फराकिला र व्यवस्थित कक्षाकोठा उपलब्ध भएसँगै पठनपाठन कार्य प्रभावकारी बनेको विद्यालयहरूले जनाएका छन् । ‘विद्यार्थीहरूलाई अब सुरक्षित, स्वच्छ र सुविधासम्पन्न वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त भएको छ,’ सरस्वती आविका प्रधानाध्यापक डिलबहादुर नेपालीले पर्याप्त कक्षाकोठा उपलब्ध हुँदा कक्षा व्यवस्थापन सहज हुनुका साथै शिक्षण सिकाइ प्रक्रियामा समेत सकारात्मक सुधार देखिने अपेक्षा गरिएको बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बिष्णुकुमार भामले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको बताए । उनले नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विद्यालय भवन, खानेपानी, शौचालय तथा अन्य शैक्षिक पूर्वाधार निर्माणमा लगानी बढाउँदै आएको जानकारी दिए । उपप्रमुख ऐश्वर्र्य मल्लले ग्रामीण तथा दुर्गम बस्तीका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताइन् । उनले नयाँ भवनले विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि हुनुका साथै सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले स्थानीय सरकारको लगानीबाट निर्माण भएका यस्ता संरचनाले समुदायमा शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले विद्यालयहरूको समग्र शैक्षिक सुधारका लागि नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका भित्रका ३ विद्यालय (मालिका आधारभूत बिद्यालय, सरस्वती आधारभूत विद्यालय र बामस्थित हिर्मोदय माध्यामिक विद्यालय) को निर्माणका लागि १ करोड ६३ लाख २४ हजार ५०० बजेट मध्ये भवन निर्माण कार्यको जिम्मा पाएको केटिएस जेभी एनबिए कन्स्ट्रक्सनले तोकिएको मापदण्डअनुसार विद्यालय भवन निमार्ण सम्पन्न गरेको बताइएको छ । निर्माण सम्पन्न भएका बिद्यालय भवनहरूमध्ये मालिका आवि, सरस्वती आविको भवन मंगबार उद्घाटनपछि विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । यस्तै, हिर्मोदय माविको विद्यालय भवन निमार्ण भएको र अबको केही दिनमा हस्तान्तरण गरिने जनाइएको छ ।

नयाँ भवन सञ्चालनमा आएपछि विद्यार्थी, शिक्षक र अभिभावकहरूमा उत्साह छाएको पाइएको छ । स्थानीय अभिभावकहरूले विगतमा आफ्ना बालबालिकाले भोग्नुपरेका असुविधा अब अन्त्य भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनीहरूले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक सामग्री, पुस्तकालय, सूचना प्रविधि तथा दक्ष शिक्षक व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गरेका छन् । स्थानीयवासीका अनुसार विद्यालय भवन निर्माणले केवल भौतिक संरचनाको विकास मात्र नभई समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पु¥याउनेछ । नयाँ भवनले विद्यार्थीहरूलाई सुरक्षित र सम्मानजनक वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा गुणस्तरीय शिक्षाको आधार बलियो बनाउन मद्दत पुग्ने विश्वास उनीहरूले लिएको पाइएको छ ।

मुगु
प्रतिक्रिया