रास्वपाको ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि

१९ पदाधिकारीसहित चुनिनेछ १५८ जनाको कार्यसमिति

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशन आज सुरु हुँदै छ । चितवनमा आज सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै ९ असारमा सकिनेछ । ७ असार, २०७९ मा घोषणा भएको रास्वपाले आफ्नो स्थापना दिवसको अवसर पारेर महाधिवेशन सुरु गरेको हो । महाधिवेशनको उद्घाटन सत्र चितवन भरतपुरस्थित गेस्ट हाउस चउरमा हुनेछ । देश तथा विदेशका गरी ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि र पार्टी कार्यकर्तासहित २५ हजारभन्दा बढीको उपस्थितिमा उद्घाटन हुने भएको छ । बन्दसत्र भने चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ । महाधिवेशनका लागि अन्य विभिन्न राजनीतिक दलका प्रमुखहरूलाई निमन्त्रणा गरिएको छ । कार्यक्रमको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त रूपमा गर्नेछन् ।

महाधिवेशनका लागि देशभरका नेता, कार्यकर्ता चितवन पुगिसकेका छन् । महाधिवेशनबाट रास्वपाले नयाँ नेतृत्व चयन गर्नेछ भने पार्टीको नीति पनि अनुमोदन गराउनेछ । पहिलो महाधिवेशन भएकाले रास्वपा संस्थापक नेताहरू अनुमोदित हुनेछन् भने विभिन्न समयमा एकता प्रक्रियाबाट आएकाहरूको समेत औपचारिक व्यवस्थापन भएर पार्टी एउटै भंगालो बन्नेछ । रास्वपाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ । सहमति हुन नसके चुनावी प्रक्रियाबाटै नेतृत्व चयन गर्ने रास्वपाको तयारी छ । निर्वाचन आयोगले चुनावी प्रक्रियाबाट नेतृत्व चयनका लागि आवश्यक सम्पूर्ण बन्दोबस्ती मिलाइसकिएको बताएको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक

केन्द्रीय निर्वाचन आयोगले आफ्नो काम द्रुत गतिमा अघि बढाएको छ । आयोगले शनिबार नै पहिलो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार शनिबार राति महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली पार्टीको वेबसाइटमार्फत् प्रकाशन गरिएको छ भने महाधिवेशन नामावलीको अन्तिम नामावली प्रकाशन आज आइतरबार राति ११ बजे गरिनेछ । सोमबार दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरु गर्ने, दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता सुरु गर्ने, राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंगलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि मतदान हुने जनाइएको छ । मतदात भएको २ घन्टापछि मतपरिणाम घोषणा गरिने र त्यसपछि पदाधिकारीका लागि दोस्रो चरणको चुनाव हुनेछ ।

केन्द्रीय सदस्यको उम्मेदवारी दिन २१ हजार शुल्क, २१ जना समर्थक जुटाउनुपर्ने

रास्वपा सभापतिको उम्मेदवारीका लागि ५१ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने भएको छ । सभापतिका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक चाहिने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै पदाधिकारीका लागि ४१ हजार दर्ता शुल्क, एक प्रस्तावक र २१ जना समर्थक जुटाउनुपर्ने व्यवस्था गरिएको छ भने केन्द्रीय सदस्यका लागि २१ हजार दर्ता शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक जुटाउनुपर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

१९ पदाधिकारीसहित १५८ जनाको हुनेछ चयन

शनिबारको केन्द्रीय समिति बैठकले रास्वपाको संशोधित विधान पारित गरेको छ । संशोधित विधानअनुसार अब १९ सदस्यीय पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति हुनेछ । सभापति, वरिष्ठ नेता, उपसभापति ३ (महिला १ जना), महामन्त्री २, सहमहामन्त्री ५ (महिला १), कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना गरी १९ सदस्यीय पदाधिकारी रहने भएको हो । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने ५१ जनालाई पार्टी सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ । ७ प्रदेशका सभापति स्वतः पदेन सदस्य रहने व्यवस्था विधानले गरेको छ ।

पुराना दलका शीर्ष नेता नजाने

रास्वपाले महाधिवेशनमा आतिथ्यका लागि कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसहित संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका शीर्ष नेतालाई निम्तो गरेको छ । तर, पुराना ३ दलबाट भने शीर्ष नेताहरू नजाने भएका छन् । कांग्रेसबाट सभापति थापा नजाने निश्चित भए पनि पार्टीको तर्फबाट कसलाई पठाउने भन्ने शनिबार साँझसम्म टुंग्याएको छैन । एमालेले प्रदीपकुमार ज्ञवाली र नेकपाले वर्षमान पुनलाई पठाउने भएका छन् । राजनीतिक दलहरूको मुख्य पर्वका रूपमा रहने महाधिवेशनमा अन्य दलका शीर्ष नेताहरूले गएर सम्बोधन गर्ने प्रचलन छ । कुनै ठोस कारणले दलको शीर्ष नेता उपस्थित हुन नसकेको अवस्थामा तोकिएका प्रतिनिधि गएर शुभकामना दिने चलन भए पनि यसरी सामूहिक रूपमै अघोषित बहिष्कार भने भएको थिएन । पुराना दलहरूले आफैँले स्थापित गरेको भ्रातृत्व र सहअस्तित्वको प्रचलन आफैँले भंग गर्ने देखिएको छ ।

०००

महाधिवेशन प्रतिनिधि ४ हजार नाघ्ने

शनिबार साँझसम्म ३ हजार ९९० जना महाधिवेशन प्रतिनिधिले प्रतिव्यक्ति ५ हजार रुपैयाँ तिरेर नाम दर्ता गराएका छन् । निर्वाचन कार्यविधिअनुसार महाधिवेशन प्रतिनिधिका लागि दर्ताबापत ५ हजार रुपैयाँ तोकिएको छ । यसबापत १ करोड ९९ लाख ५० हजार रुपैयाँ उठेको महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक लिमा अधिकारीले जानकारी दिइन् । दर्ता गर्ने क्रम जारी रहेकाले महाधिवेशन प्रतिनिधिको संख्या अझै बढ्नेछ ।

०००

४ वर्षमै रास्वपाको फट्को

चर्चित सञ्चारकर्मीको छवि बनाएका रवि लामिछानेको नेतृत्वमा ७ असार, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरी १७ असारमा निर्वाचन आयोगमा दर्ता भएको थियो । स्थापनाको करिब ६ महिनामै ४ मंसिर २०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाले २० सिट जित्दै चौथो ठुलो दलको हैसियत बनायो । तनहुँ–१ मा भएको उपनिर्वाचनमा रास्वपाले १ सिट थपी सिट संख्या २१ पु¥याएको थियो । १० पुस, २०७९ मा एमाले–माओवादी केन्द्रको गठबन्धन सरकार बनेपछि ११ पुसमा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेर सरकारमा सहभागी भए । तर, उनको नागरिकतामाथि प्रश्न उठेपछि दायर रिटको सुनुवाइ गर्दै १३ माघमा सर्वोच्च अदालतले उनलाई सांसद तथा मन्त्री पदका लागि अयोग्य ठहर ग¥यो । त्यसपछि २२ माघमा रास्वपा सरकारबाट बाहिरियो ।


यस अवधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर पुनः एमालेसँग सहकार्य ग¥यो । पछि २१ फागुन, २०८० मा रास्वपा पुनः सरकारमा सहभागी भयो । तर, १७ असार २०८१ मा कांग्रेस–एमाले गठबन्धन बनेपछि ३१ असार, २०८१ मा केपी शर्मा ओली प्रधानमन्त्री बने र रास्वपा सरकारबाट बाहिरियो । त्यसपछि कांग्रेस–एमाले गठबन्धन सरकारले रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन अघि बढाउँदै संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै २ कात्तिक, २०८१ मा पक्राउ ग¥यो । त्यसयता उनी पटक–पटक प्रहरी हिरासत तथा पुर्पक्षका लागि थुनामा परे । पछि ४ पुस, २०८२ मा धरौटीमा रिहा भएसँगै उनले पार्टी नेतृत्व पुनः सम्हाले ।

१४ मंसिर, २०८२ मा विवेकशील साझा पार्टी र रास्वपाबीच एकता भयो । १३ पुसमा काठमाडौँ महानगरका प्रमुख वालेन्द्र शाहसँग, १४ पुसमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालसँग एकता भयो । तर, केन्द्रीय समितिमा पद बाँडफाँट नमिलेपछि २६ पुसमा कुलमान अलग भए, यद्यपि उनीसँग गएका अधिकांश नेता रास्वपामै रहे । गत २१ फागुनको प्रतिनिधिसभा चुनावमा १८२ सिटसहित रास्वपा पहिलो दल बनेपछि १३ चैतमा वालेन्द्र शाहको नेतृत्वमा रास्वपाको एकल सरकार बनेको छ ।

०००

स्वस्थ प्रतिस्पर्धा गर्न लामिछानेको अपिल

शनिबार बसेको केन्द्रीय समितिको अन्तिम बैठकमा सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट मात्रै नयाँ उचाइमा पुग्ने बताएका छन् । उनले महाधिवेशनपछि कोही निर्वाचित भएर आउने र कोही निर्वाचित हुन नसक्ने अवस्था भए पनि जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्न आग्रह गरे । पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनुपर्नेमा जोड दिँदै उनले पार्टी सदस्यको अधिकार कुण्ठित गरे दुर्घटना निम्तिने भन्दै होसियारीसाथ कदम चाल्नुपर्ने बताए । लामिछानेले रास्वपा लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउँदै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा हामी उभिएका छौँ । हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ । लोकतन्त्रबाट विमुख हुनेछैनौँ ।’

०००

निर्वाचनमा प्यानल बनाउन नपाइने


केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशन निर्वाचन आचारसंहिता–२०८३ जारी गर्दै निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाएको छ । आचारसंहिताअनुसार कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचारप्रसार गर्न पाइनेछैन । उम्मेदवारी विधिवत् प्रमाणित भएपछि मात्र औपचारिक प्रचारप्रसार गर्न पाइनेछ । प्रचारका लागि अधिकतम २×२ फिट आकारको एउटा मात्र पोस्टर प्रयोग गर्न अनुमति दिइएको छ भने महाधिवेशन स्थल तथा आसपासमा ब्यानर, फ्लेक्स, पर्चा–पम्प्लेट वितरण गर्न रोक लगाइएको छ । सामाजिक सञ्जाल वा अन्य सञ्चारमाध्यमबाट भ्रामक सूचना फैलाउन, सशुल्क विज्ञापन गर्न तथा मत माग्न पनि निषेध गरिएको छ ।

आचारसंहिताले बहालवाला पदाधिकारी, मन्त्री तथा सांसदलाई आफ्नो पद, राजकीय वा दलीय प्रभाव प्रयोग गरी निर्वाचन प्रभावित पार्न रोक लगाएको छ । आर्थिक प्रलोभन, उपहार वितरण, भोजभतेर, पदको आश्वासन, डर–धम्की तथा पदीय दुरुपयोगमार्फत् मतदातालाई प्रभावित पार्न नपाइने व्यवस्था गरिएको छ । मतदान कक्षभित्र मोबाइल फोन, क्यामेरा वा अन्य इलेक्ट्रोनिक उपकरण लैजान तथा गोप्य मतदानको गोपनीयता भंग हुने कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ । आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी भने घटना भएको २४ घन्टाभित्र प्रमाणसहित दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

०००

१८ उपसमिति गठन

महाधिवेशन सफल बनाउन १८ वटा उपसमिति गठन गरिएको छ । कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा कवीन्द्र बुर्लाकोटी, प्रतिवेदन समन्वयमा भूपदेव शाह, गुनासो व्यवस्थापनमा विपिन आचार्य र आर्थिक व्यवस्थापनमा अभिषेक घिमिरे संयोजक छन् । यस्तै, महाधिवेशन प्रतिनिधि व्यवस्थापनमा लिमा अधिकारी, कानुनी समन्वयमा सुलभ खरेल, प्रचारप्रसार तथा सञ्चारमा मनिष झा, सुरक्षा तथा स्वयंसेवक परिचालनमा दीपक बोहोरा, सूचना प्रविधिमा सरिता ज्ञवाली, आवास तथा भोजन व्यवस्थापनमा राजन गौतम, अतिथि सत्कारमा ध्रुव गिरी तथा हल तथा मञ्च व्यवस्थापनमा खुश्बु सरकार श्रेष्ठ संयोजक छन् । त्यसैगरी, स्वास्थ्य सेवा उपसमितिको संयोजकमा डा. तोसिमा कार्की, सांस्कृतिक कार्यक्रमको मोहनबहादुर थापा, यातायात व्यवस्थापनको शिव नेपाली, स्थानीय समन्वयको हरि ढकाल र अभिलेखीकरण तथा दस्तावेजीकरणको संयोजकमा गणेश पराजुली छन् । केन्द्रीय अनुशासन आयोगका सदस्य र केही नेताहरू सम्मिलित गरी अनुशासन उपसमिति पनि गठन गरिएको छ । सबै उपसमितिले आ–आफ्नो कार्यक्षेत्रअनुसारको जिम्मेवारी सम्हालेर काम गरिरहेका छन् ।

प्रतिक्रिया