मुगुमा दुई विद्यालय भवन उद्घाटन

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घाटन गरिएको छ । मंगलबार निर्माण सम्पन्न भएका छायाँनाथ रारा नगरपालिका– ४ स्थित मालिका आधारभूत विद्यालय, सेतिवाडा तथा वडा नं. ६ स्थित सरस्वती आधारभूत विद्यालय, बालैमा निर्माण गरिएका ४ कोठे दुईतले भवन उद्घाटन गरिएको हो ।

लामो समयदेखि यी विद्यालयका विद्यार्थीहरू जीर्ण तथा साँघुरा कक्षाकोठामा अध्ययन गर्न बाध्य थिए । पर्याप्त कक्षाकोठा नहुँदा एउटै कोठामा धेरै कक्षाका विद्यार्थीहरूलाई राखेर पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था थियो । वर्षायाममा पानी चुहिने, हिउँदमा अत्यधिक चिसो हुने तथा सुरक्षित शैक्षिक वातावरणको अभावले विद्यार्थीहरूको नियमित अध्ययन प्रभावित हुँदै आएको थियो ।
नयाँ भवन निर्माणपछि ती समस्या धेरै हदसम्म समाधान भएका छन् ।

फराकिला र व्यवस्थित कक्षाकोठा उपलब्ध भएसँगै पठनपाठन कार्य प्रभावकारी बनेको विद्यालयहरुले जनाएका छन । विद्यार्थीहरूलाई अब सुरक्षित, स्वच्छ र सुविधासम्पन्न वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त भएको छ । सरस्वति आवि बालैका प्रधानध्यापक डिलबहादुर नेपालीले पर्याप्त कक्षाकोठा उपलब्ध हुँदा कक्षा व्यवस्थापन सहज हुनुका साथै शिक्षण सिकाइ प्रक्रियामा समेत सकारात्मक सुधार देखिने अपेक्षा गरिएको बताएका छन् ।

उद्घघाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विष्णु कुमार भामले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको बताए । उनले नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विद्यालय भवन, खानेपानी, शौचालय तथा अन्य शैक्षिक पूर्वाधार निर्माणमा लगानी बढाउँदै आएको जानकारी दिए ।

बालबालिकाले सुरक्षित र व्यवस्थित वातावरणमा शिक्षा प्राप्त गर्नुपर्छ भन्ने ह मुख्य उद्देश्य साथ पक्की विद्यालय भवन निमार्णमा जोड्दिदै आएको नगर प्रमुख भामको भनाई छ । उपप्रमुख एवश्र्य मल्लले ग्रामीण तथा दुर्गम बस्तीका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।

उनले नयाँ भवनले विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि हुनुका साथै सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीय सरकारको लगानीबाट निर्माण भएका यस्ता संरचनाले समुदायमा शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले विद्यालयहरूको समग्र शैक्षिक सुधारका लागि नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका भित्रका तिन बिद्यालय मालिका आधारभूत बिद्यालय सेतिवाडा,सरस्वती आधारभुत बिद्यालय बालै र हिर्मोदय माध्यामिक बिद्यालय बामको बिद्यालय निर्माणका लागि १ करोड ६३ लाख २४ हजार ५ सय बजेट मध्ये भवन निर्माण कार्यको जिम्म पाएको के.टि.एस.जे.भि एन.विए कन्स्ट्रक्सनले तोकिएको मापदण्ड अनुसार बिद्यालय भवन निमार्ण सम्पन्न गरेको बताइएको छ ।

निर्माण सम्पन्न भएका विद्यालय भवनहरूमध्ये मालिका आधारभूत बिद्यालय सेतिवाडा,सरस्वती आधारभुत बिद्यालय बालैको भवन मंगबार उद्घघाटनपछि विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । भने हिर्मोदय माध्यामिक बिद्यालय बामको बिद्यालय भवन निमार्ण भएको र अबको केहि दिनमा हस्तान्तरण गरीने जनाइएको छ ।

नयाँ भवन सञ्चालनमा आएपछि विद्यार्थी, शिक्षक र अभिभावकहरूमा उत्साह छाएको छ। स्थानीय अभिभावकहरूले विगतमा आफ्ना बालबालिकाले भोग्नुपरेका असुविधा अब अन्त्य भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनीहरूले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक सामग्री, पुस्तकालय, सूचना प्रविधि तथा दक्ष शिक्षक व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गरेका छन् ।

स्थानीयवासीका अनुसार विद्यालय भवन निर्माणले केवल भौतिक संरचनाको विकास मात्र नभई समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याउने छ । नयाँ भवनले विद्यार्थीहरूलाई सुरक्षित र सम्मानजनक वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा गुणस्तरीय शिक्षाको आधार बलियो बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया