स्पार्क हेल्थ रिसोर्टमा काउन्सिलको छापा : प्रेस्क्रिप्सन लेख्दै गरेकी नक्कली चिकित्सक पक्राउ

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको इजाजतपत्र (लाइसेन्स) विना नै गैरकानूनी रूपमा चिकित्सा अभ्यासमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं साविक मातातीर्थ गाविस वडा नं. ७ ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका– ८ मा बस्ने ४७ वर्षीया चेतन ए.एम. (पौडेल) रहेकी छन् ।

नेपाल मेडिकल काउन्सिल बाँसबारीले गरेको नियमित अनुगमनका क्रममा चन्द्रागिरी नगरपालिका– ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा अनधिकृत रूपमा उपचार भइरहेको फेला परेको नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

काउन्सिलको छानविनका क्रममा उनले चिकित्सकको उपाधि नपाएको र काउन्सिलमा दर्ता (NMC No.) समेत नभई बिरामीहरूको आधुनिक चिकित्सा पद्धतिबाट रोग निदान तथा उपचार गरिरहेको फेला परेको हो । अनुगमन टोलीले उनलाई बिरामीलाई औषधि सिफारिस गरेको प्रेस्क्रिप्सन (पुर्जी) सहित फेला पारेपछि आवश्यक कारबाहीका लागि काउन्सिलको छानविन प्रतिवेदनसहित केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिइएको थियो ।

प्रारम्भिक अनुसन्धान पश्चात काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई यही असार ९ गते चन्द्रागिरीबाट पक्राउ गरेको हो । पक्राउ परेकी उनीमाथि अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ को इलाज सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया