विद्यार्थीको इनोभेसन र सीप प्रदर्शन गर्न प्रेसिडेन्सियल इन्नोभिस्टा

काठमाडौं । आज बिहीबारदेखि काठमाडौंमा टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ सुरु भएको छ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौंमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको हो ।

शुक्रबारसम्म चल्ने यो कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ । विद्यार्थीलाई लगानीकर्तासँग जोड्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको कलेजका संस्थापक एवम् अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनीमा पुष्पवृष्टि गराउने एफपीभी ड्रोन, फुटबल खेल्ने रोबोट, संगीतमा नाच्ने डान्सिङ रोबोट, अनुहारको भाव विश्लेषण गरेर संगीत सिफारिस गर्ने एआई प्रणाली, स्मार्ट सिँचाइ, स्मार्ट होम सिस्टम, साइबर सुरक्षा समाधान, पर्यटन प्रवर्द्धन गर्ने सफ्टवेयर तथा ३६० डिग्री क्यामेराद्वारा रिमोटबाट सञ्चालन गर्न सकिने अटोनोमस गाडीलगायत परियोजनाले दर्शकको ध्यान आकर्षित गरेका छन् ।

कलेजको बिजनेस इन्क्युबेसन सेन्टरले उत्कृष्ट परियोजनालाई व्यावसायिक उत्पादन र स्टार्टअपका रूपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने छ । आईटी र व्यवस्थापनका विद्यार्थीबीचको सहकार्यले परियोजनालाई बजार र लगानीका लागि तयार बनाउने लक्ष्य रहेको उनले बताए ।

‘नेपालमै विश्वस्तरीय प्रविधि र नवप्रवर्तन सम्भव छ भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो, विद्यार्थीहरूले स्क्र्याचबाट तयार गरेका यी परियोजनालाई हरेक वर्ष अझ परिष्कृत रूपमा निरन्तरता दिने छौँ,’ केसीले भने ।

यस वर्ष कार्यक्रमलाई कम्प्युटर भिजन र कृत्रिम बुद्धिमत्ता (एआई), आइओटी र रोबटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी पाँच वटा क्षेत्रमा विभाजन गरिएको छ। कार्यक्रममा भर्खर प्लस टु सकेका विभिन्न कलेजका ३४ भन्दा बढी विद्यार्थीले एक साता प्रेसिडेन्सियल ग्य्राजुएट स्कुलका विद्यार्थीहरूको मेन्टरसीपमा तयार गरेका विभिन्न इनोभेसनहरू प्रदर्शन गरिएको छ ।

विजेतालाई एक लाख रुपैयाँसम्मको पुरस्कार प्रदान गर्ने कलेजले जनाएको छ । यो इभेन्टमा बीएससी आईटीका विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५५ भन्दा बढी परियोजना प्रदर्शन गरेका छन् ।

करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजको भनाइ छ। कार्यक्रम प्लस टु उत्तीर्ण, स्नातक तहका विद्यार्थी तथा सूचना प्रविधि र उद्यमशीलतामा रुचि राख्ने युवालाई लक्षित गरिएको हो । प्रदर्शनीमा प्रवेश निःशुल्क राखिएको छ ।– नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया