
लुम्बिनी । नेपालका सयौँ सम्पदासँगै जोडिएर आउने महत्वपूर्ण सम्पदा हो— भाषा । नेपाली भाषाको शुद्धतासँगै ठाउँविशेषका मौलिक र रैथाने भाषा आफैँमा अमूल्य सम्पदा हुन् । भाषाको संरक्षण, संवद्र्धन र प्रचारप्रसारले पनि देशको चिनारी अझ बढाउँछ । तर, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, जहाँ विश्वभरबाट शान्ति र सद्भावको खोजीमा लाखौँ पर्यटक आउँछन्, त्यहीँको मायादेवी मन्दिर परिसरमा राखिएका सूचनापाटीको भाषाले भने नेपाली भाषाको मानमर्दनमात्रै गरेको छैन, सम्पदा स्थलको व्यवस्थापकीय कमजोरी र चरम लापरबाही पनि छताछुल्ल पारेको छ ।
पुरातात्विक जीवन्त सम्पदा स्थलको संरक्षण र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी भएको लुम्बिनी विकास कोषले पवित्र उद्यानस्थित मायादेवी मन्दिर परिसरमा राखेका सूचनापाटीमा लेखिएको अशुद्ध भाषाले व्यवस्थापकीय प्रतिष्ठामाथि नै प्रश्न खडा गरेको छ । सूचना बोर्डमा नेपालीमा ‘कृपया भग्नावशेष माथी नचदनु होला’ र अंग्रेजीमा ‘एभिबकभ मयल,त कतभउ यल तजभ चगष्लक’ लेखिएको छ । ‘माथि’ हुनुपर्नेमा ‘माथी’, ‘नचढ्नु’ हुनुपर्नेमा ‘नचदनु’ र अंग्रेजीको ‘मयलुत’ मा ‘एपोस्ट्रफी’ नभई ‘कमा’को प्रयोग गरी ुमयल,तु लेखिनुले सम्बन्धित निकायको गम्भीरतामाथि प्रश्न उठाएको छ । त्यस्तै, नजिकैको अर्को बोर्डमा ‘धार्मिक सम्पति हामी सबैको साझा सम्पति हो सरक्षण गरौ’ लेखिएको छ, जसमा ‘सम्पत्ति’, ‘संरक्षण’ र ‘गरौँ’ जस्ता शब्दमा व्याकरणगत गल्ती छन् ।
यो त्रुटिपूर्ण सूचनापाटी देखेपछि भाषाविद् डा. त्रिभुवन बरईले आक्रोश व्यक्त गर्दै भने, ‘लुम्बिनीजस्तो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्थलमा राखिने सार्वजनिक सूचनामा यति धेरै अशुद्धता हुनु लज्जास्पद विषय हो । यसले नेपालको शैक्षिक स्तर र पर्यटन क्षेत्रको संवेदनशीलतामाथि नै प्रश्न उठाएको छ ।’ लुम्बिनीका स्थानीय पर्यटन व्यवसायीहरू पनि यसबाट उत्तिकै मर्माहत छन् । लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले भने, ‘विदेशी पर्यटकहरूले बोर्डमा भएको गल्ती औँल्याउँदा हामीलाई नै लाज लाग्छ । लुम्बिनी विकास कोषले यस्तो सामान्य विषयमा पनि किन ध्यान पु¥याउँदैन ?’
‘बुद्ध जयन्तीको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) र सभामुख डिपी अर्याललगायतको टोलीले उक्त क्षेत्रको अवलोकन भ्रमण गरेको थियो,’ सञ्चारकर्मी हृदयराम गुप्ताले भने, ‘विभिन्न विदेशी कूटनीतिक नियोगका अतिथि तथा पाहुनाहरूले पनि निरन्तर भ्रमण गरिरहने यस स्थलमा यस्ता गल्ती देखिनु दुःखद् छ । उच्च पदस्थ व्यक्तिहरूको बारम्बार आवतजावत हुने स्थलमा यस्तो त्रुटि कायम रहनुले कोषको निरीहता थप पुष्टि गर्छ ।’
‘विश्वकै आस्थाको केन्द्र र युनेस्कोको विश्व सम्पदा स्थलमा यस्तो त्रुटिपूर्ण बोर्ड राखिनुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा समेत आँच पु¥याएको छ,’ लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले चेतावनी दिँदै भने, ‘हामीले बारम्बार औँल्याइरहदा पनि सुधार भएन, अब कोषले तत्काल यो गैरजिम्मेवारीपन र गल्ती सच्याउनुपर्छ, अन्यथा हामी कडा कदम चाल्न बाध्य हुनेछौँ ।’
लुम्बिनी बचाउ महाअभियानले भने लुम्बिनी विकास कोषको कार्यशैलीमाथि अब कडा निगरानी बढाउने उनले स्पष्ट पारे । विश्व सम्पदाको मर्यादा जोगाउन र अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च राख्न अबका दिनमा यस्ता साना तर गम्भीर असर पार्ने त्रुटिहरू सच्याउनु मात्र पर्याप्त नहुने, बरु त्यसको निरन्तर अनुगमन र जिम्मेवार व्यवस्थापन आवश्यक देखिएको संयोजक खाँले बताए ।
‘सूचना बोर्डमा भएका त्रुटिहरू हाम्रो ध्यानाकर्षणमा आएका छन्,’ लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राईले भने, ‘प्राविधिक वा मुद्रणको क्रममा यस्तो त्रुटि हुन गएको हो । हामीले यसलाई गम्भीरताका साथ लिएका छौँ र तुरुन्तै यस्ता सबै बोर्ड फेर्ने प्रक्रिया अघि बढाइसकेका छौँ ।’ डा. राईले विकास कोषबाट भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धतासमेत जनाए ।
प्रतिक्रिया