अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पर्यटकीय राजधानी

पोखरा । फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सीधा उडान सेवा सुरु गर्दै छ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ । सञ्चालनमा आएको ३ वर्ष बित्दासमेत पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । सन् २०२५ को मार्चमा हिमालय एअरलाइन्सले पहिलो पटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि यात्रु संख्या न्यून हुँदा उडान स्थगन ग¥यो । पोखरा–दुबई उडान पोखराबाट हुने दोस्रो व्यावसायिक उडान हुनेछ । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान हुँदै आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई–पोखरा–दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताए । ‘पोखराको अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारमा यो महत्वपूर्ण उपलब्धि हो, यसले सिंगो गण्डकी प्रदेश र मुलुकलाई नै प्रत्यक्ष लाभ पुग्छ,’ उनले भने, ‘पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुक जाने यात्रुलाई धेरै सहज हुन्छ । यात्रा अवधि छोटिँदा खर्च पनि घट्छ ।’ पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सीधै पोखरा आउन सक्ने महाप्रबन्धक निरौलाले बताए । वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देश जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ ।

विश्वकै व्यस्त र महत्वपूर्ण मानिने हवाई ट्रान्जिट हब दुबईमा हुने उडानले अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको सीधा हवाई पहुँच पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् । उनका अनुसार फ्लाइ दुबई र इमिरेट्स एअरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अस्ट्रेलिया, युरोप वा अमेरिकी सहर पुग्ने यात्रुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने प्रमुख आचार्य बताउँछन् ।

इमिरेट्स एअरलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ लाई आफ्नो प्रमुख हब बनाएर विश्वका ६ वटा महादेशका ७६ देशमा रहेका १४३ भन्दा बढी देशहरूमा जोड्दै आएको उनको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निरौलाले एअरलाइन्सहरूबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने बताए । ‘पोखरादेखि दुबई हुँदै अन्य देश जाने यात्रु एउटै टिकटबाट यात्रा गर्न सक्छन् । लगेज आफैँ सार्नुपर्ने झन्झट पनि हुँदैन,’ उनले भने, ‘दुबईसम्म एउटा विमानले यात्रु बोक्छ, त्यहाँ ट्रान्जिटपछि अर्को विमानले गन्तव्यमा पु¥याउँछ ।’

पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । त्यसअघि फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आव २०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो ।

विमानस्थलका महाप्रबन्धक निरौलाले पोखराबाट उडान सेवा सुरु गर्न एयर अरेबियाले पनि चासो देखाएको बताए । ‘पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनको दिगोपनाका लागि निजी क्षेत्रलगायत सबै पक्षको सकारात्मक सहयोगको खाँचो छ,’ उनले भने, ‘पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुँदा मुलुकको पर्यटन र अर्थतन्त्रमा ठुलो टेवा पुग्छ, सर्वसाधारण यात्रुले सहज सुविधा पाउँछन् ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा छ । काठमाडौँकेन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ । दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुँदा मध्यपूर्व, युरोप, अफ्रिकालगायतका ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच पुग्नेछ । २२ अर्ब रुपैयाँभन्दा बढी ऋणमा बनेको यो विमानस्थल हाल आन्तरिक उडानमै सीमित छ । सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको यस विमानस्थलबाट स्वदेशी वायुसेवा कम्पनील काठमाडौँ, भरतपुर, भैरहवालगायत गन्तव्यमा उडान गर्दै आएका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठुलो संख्यामा विदेशी पर्यटक भित्रिने आसमा रहेका पर्यटन व्यवसायी विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा छन् । पोखरा–दुबई सीधा उडानले पोखरा र सिंगो गण्डकी प्रदेशको आर्थिक समृद्धिको ढोका खुल्ने उद्योग वाणिज्य महासंघ, गण्डकीका अध्यक्ष नरेश कँडेलले बताए । ‘गण्डकी प्रदेशबाट मध्यपूर्वका देशदेखि युरोप, अमेरिकासम्म रोजगार र अध्ययनका लागि जानेको संख्या ठुलो छ,’ उनले भने, ‘पोखरा–दुबई उडानले ती यात्रुलाई घर आउन सहज र कम खर्चिलो बन्नेछ । पोखरालगायत आसपासका गन्तव्यमा आउने पर्यटक अब सीधै पोखरा आउन पाउँछन् ।’

प्रतिक्रिया