
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको चर्चित जोडी पुनः ठुलो पर्दामा देखिने भएको छ । सुपरहिट चलचित्र ‘जारी’ बाट दर्शकको अत्यधिक माया पाएको यो जोडी अब नयाँ चलचित्र ‘रातो घेरा’मार्फत एकसाथ आउन लागेको हो । निर्माण संस्था विश्राम फिल्मस् प्रालिले चलचित्र ‘रातो घेरा’ निर्माण गर्ने औपचारिक घोषणा गरेको छ । चलचित्रको निर्देशन अनिल बुढा मगरले गर्ने भएका छन् । निर्माण पक्षका अनुसार चलचित्रको कथा सामाजिक तथा भावनात्मक विषयवस्तुमा केन्द्रित रहनेछ । चलचित्रले मनोरञ्जनसँगै समाजका विभिन्न पक्षलाई उजागर गर्दै दर्शकलाई सकारात्मक सन्देश दिने उद्देश्य राखेको बताइएको छ ।
दयाहाङ र मिरुनाको जोडी पछिल्लो समय नेपाली चलचित्र उद्योगमा निकै रुचाइएको जोडीका रूपमा स्थापित भएको छ । उनीहरूको अभिनय, पर्दामा देखिने सहज सम्बन्ध र दर्शकसँगको लोकप्रियताले नयाँ चलचित्रप्रति पनि अपेक्षा बढाएको छ । निर्माण पक्षले चलचित्रलाई कथात्मक रूपमा बलियो, प्राविधिक रूपमा उत्कृष्ट र भव्य शैलीमा तयार गर्ने तयारी गरेको जनाएको छ । अनुभवी कलाकार तथा प्राविधिक टोलीको सहभागिताले चलचित्रलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ । ‘रातो घेरा’मा रहने अन्य कलाकार तथा प्राविधिक टोलीको विवरण भने क्रमशः सार्वजनिक गरिने बताइएको छ । चलचित्रको वितरण जिम्मेवारी काफिया फिल्मस् प्रालिका गोविन्द शाहीले सम्हाल्ने भएका छन् ।
प्रतिक्रिया